coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दिनहुँ सयौं मास्क निःशुल्क बाँड्दै वीरु

घोराहीको तुलसीपुर चोकमा मास्क वितरण गर्दै वीरबहादुर खत्री (वीरु)। तस्बिर: नागरिक

हातमा प्लाष्टिकको ठूलो झोला, झोलामा मास्क। घोराहीका व्यस्त चोकमा दिनहुँजसो भेटिने वीरबहादुर खत्रीले (वीरु) मास्क नलगाई हिँडेका व्यक्तिलाई माक्स निःशुल्क दिँदै आएका छन्। उनले  सडकमै उभिएर सवारीसाधन रोकेर मास्क नलगाएका यात्रु तथा चालक भेटेमा मास्क प्रयोग गर्न सुझाउनुका साथै मास्क पनि दिने गरेका छन्।  

गृह मन्त्रालयले मास्क नलगाई हिँड्नेलाई कारबाही गर्ने घोषणा गरे पनि लकडाउन हटाएपछि बजारमा मास्क प्रयोगकर्ताको संंख्या कम हुँदै गइरहेको छ। तर, सरकारले निर्धारण गरेको नियम मानेर मास्क अभियानसहित सडकमा निस्किएका छन्, घोराही–१४ का वीरु। अभियानमा उनी एक्लै छन्, तर  उनको आत्मबलले हार मानेको छैन।  

‘जब लकडाउन खुल्यो, त्यस बेलादेखि बजारमा मास्क प्रयोगकर्ता कम हुँदै गइरहेका छन्,’ वीरु भन्छन्, ‘सरकारले मास्क प्रयोग अनिवार्य गरेको हाम्रै लागि हो भन्ने मानसिकता हराउँदै गएको जस्तो देखिन थालेको छ। कोरोना जोखिम अझै कायमै रहेकाले मास्क प्रयोग अनिवार्य छ है भन्ने सन्देश प्रवाह गर्नु मेरो अभियानको मुख्य लक्ष हो।’

त्यसो त, उनले लकडाउन खुलेपछि मात्रै मास्क अभियानको थालनी गरेका हैनन्। उनको यो अभियान सुरु भएको दुई महिना पुगिसकेको छ। कोरोना संक्रमणका त्रासका बेला मास्क अभियान लिएर घरदैलोमा निस्कएका उनलाई परिवारले पनि उत्तिकै हिम्मत र साथ दिएको छ। ‘मलाई मेरो परिवारले कोरोना जोखिमका बेला घरबाट निस्कनबाट रोक्न खोजेको भए म मास्क वितरणको अभियानमा पक्कै सफल हुने थिइन,’ उनले भने, ‘तर, कोरोना संक्रमणबाट आम नागरिकलाई जोगाउने मेरो सानो अभियानलाई परिवारले राम्रो साथ दियो।’

त्यो बेला उनको अभियान कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका पात्र केन्द्रित थिए। ‘सुरुमा म मास्क अभियानमा लाग्दा कोरोनाको त्रास धेरै थियो, तैपनि म केएन ९५ मास्क लिएर कोरोनाविरुद्ध उनीहरूसम्म पुगें,’ उनले भने, ‘कोरोनाविरुद्ध अग्रपंक्तीमा रहेकाहरूलाई सहानुभूति र प्रोत्साहन गर्नु मेरो अभियानको पहिलो लक्ष्य बन्यो।’ पहिलो चरणको अभियानबाट उनी दोस्रो चरणमा आफ्ना निकटस्थसम्म अभियान लिएर घरघरमै पुगे। ‘म दाङको पूर्वभालुबाङदेखि पश्चिम हापुरेसम्म पुगेर मास्क वितरण गरेँ,’ उनले भने, ‘यसबीचमा धेरै स्याबासी पाएँ भने थोरै आलोचना पनि।’ आलोचनाको कारण गरिब झुपडीसम्म किन नपुगेको भन्ने थियो। तर एकल प्रयासमा सबैतिर जान सम्भव थिएन।’

घोराही उपमहानगरपालिकाका स्वास्थ्य, सरसफाइ क्षेत्रमा काम गर्ने कर्मचारी, दाङ उद्योग वाणिज्य संघका कर्मचारी, घोराहीका दुई र नारायणपुरको एउटा खानेपानी संस्थाका कर्मचारी, रेडक्रस, परिवार नियोजनका कर्मचारीलाई उनले केएन ९५ मास्क वितरण गरेका थिए।  

दुई महिना सम्म मास्क वितरण अभियान थालेका उनले ६ हजारभन्दा बढी केएन–९५ मास्क निःशुल्क वितरण गरिसकेका छन् भने ३ हजारभन्दा बढी सर्जिकल मास्क वितरण गरेका छन्।

प्रकाशित: १४ श्रावण २०७७ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App