६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

वीरगन्जमा निषेधाज्ञा सुरु

निषेधाज्ञाको दौरान वीरगन्जको दृष्य । तस्विरः रितेश त्रिपाठी

पर्सा जिल्लामा र खासगरी वीरगन्ज महानगरपालिकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा लागु गरिएको छ । शुक्रबार जिल्लाका राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय, पर्साले निषेधाज्ञा लगाउने निर्णय गरिएको थियो । 

निषेधाज्ञा अवधिमा बीरगन्ज महानगरपालिका स्वास्थ्यलगायत तोकिएका अत्यावश्यक क्षेत्र सम्बन्धी कार्यबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लागेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् । वीरगन्जमा कर्फ्यूको पुर्ण रुपमा पालना गराइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका परिचालन सहरभरी गरिएको छ । मुख्य सडक र गल्लीहरु सुनसान छन् । वीरगञ्ज क्षेत्रमा कोरोनाका लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएको थियो । क्वारेन्टिन सेन्टर वा कुनै संक्रमितको सम्पर्कबाट संक्रमण पुष्टि भएको यसअघिको अवस्था भन्दा फरक यसपटक संक्रमण फैलिएको छ ।्

संक्रमणको स्रोत नखुलेको र समुदायका मानिसहरु आफै सरकारी दस्तुर तिरेर आफ्नो स्वाब जाँच गराए संक्रमित फेला पर्ने र संक्रमितहरुमा निमोनियका गम्भीर लक्षणहरु देखा पर्ने बढेपछि चिकित्सक र अन्य सरोकारवाला डराएका थिए । यसैविचमा शुक्रवारभित्र चार दिनको अन्तरालमा यहाँ चार जना संक्रमितहरुको मृत्यु समेत भएको घटनाले उनीहरुलाई थप चनाखो बनायो । संक्रमण फैलिएपछि स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्न दबाव बढेको थियो । निषेधाज्ञा लगाइएको समयमा समुदायमा जाँचको दायरा बढाउन लागिएको छ ।

संकट व्यवस्थापन केन्द्रको सक्रियता

सहरमा निषेधाज्ञा जारी रहेको बेला प्रम्ख जिल्ला अधिकारीको संयोजकत्वमा हरेको जिल्ला संकट व्यवस्थापन केन्द्र भने सक्रिय भएको छ । कोरोनाको बढ्दो संक्रमणको रोकथाम गर्न समुदाय स्तरमा लक्षित ठाउँ र ब्यक्तिहरुको पहिचान गरी उनीहरुको थ्रोट स्वाब संकलन गरी जाँच गर्ने, यसअघि संक्रमित भेंटिएकाहको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने र ति ब्यक्तिहरुको जाँच गर्ने, संक्रमित भेंटिएका एरियाहरुमा मास टेस्टिङ्ग गर्ने जस्ता कामहरु शुक्रवारकै निर्णय अनुसार केन्द्रले कार्यान्वयन गर्न लागेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की, जिल्लाका सूरक्षा अधिकारीहरु, स्वास्थ्य क्षेत्रका अधिकारी तथा बिज्ञहरु र अन्य सरोकारवालाहरु छलफल र कार्यसूची निर्माणमा दिनभरी ब्यस्त भए । महानगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत समेत रहेका स्वास्थ्य माहाशाखाका प्रमुख अरुणकुमार महतोलाई सोही ठाउँमा उपस्थित गराई महानगरपालिकाबाट थप जनशक्तिको ब्यवस्थापन गरिएको थियो । जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले युद्धस्तरमा काम गरेको जनस्वास्थ्य निरिक्षक जयमोद ठाकुरले बताए । ‘सबै सरोकारवाला अहिले गम्भीर छन्, यतिखेर कोरोनाको परीक्षण कार्य ठिक ढँगले गर्नुपर्ने देखिएकोले जिल्ला स्वास्थ्य कार्यालय, नारायणी अस्पताल र महानगरपालिकाका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई त्यसमा आवश्यक कार्य गर्न जिम्मा दिएको छ,’ पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले भनिन, ‘त्यसको लागि चाहिने आवश्यक समन्य केन्द्रले गरेको छ ।’

वीरगन्ज नगर क्षेत्रमा एक घर एक पिसिआर जाँचको नारा दिएर दाताहरुसंग चन्दा उठाउर पिसिआर मेशिन र जाँचमा काम लाग्ने अन्यआवश्यक सामग्री खरिद गरेको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले यसअघि संघीय सरकारले अनुमति नदिदा वीरगन्जमा समुदायमा परीक्षण हुन नसकेको बताउदै आएका थिए । शनिवार साँझदेखि नगरप्रमुख सरावगी पनि समुदायमा परीक्षणको लागि तयार भएका छन् ।  

‘जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको शुक्रबार सम्पन्न बैठकको निर्णय अनुसार वीरगञ्ज महानगरपालिकाको संयोजकत्वमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा महानगरपालिकाभित्र समुदाय स्तरमा कोरोना परीक्षणको लागि स्वाव लिने काम साउन ११ गते दिउँसो १ बजे वीरगञ्ज महानगरपालिका वडा नं ९ को रेल्वे माविबाट शुभारम्भ गरिने छ,’ नगरप्रमुख सरावगीले अपिल गरेका छन्, ‘यस कार्यमा सहयोग गर्न, सम्पुर्ण महानगरवासी आदरणीय दाजु, भाई दिदीबहिनीहरुमा अनुरोध छ ।’

प्रकाशित: १० श्रावण २०७७ १४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App