२१ फाल्गुन २०७७ शुक्रबार
समाज

श्रावण महिनाको धार्मिक सांस्कृतिक पक्ष

श्रावण महिना धार्मिक सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको छ । सूर्यको दक्षिणायन आरम्भ हुने, वर्षा ऋतु सुरु हुने र सूर्य कर्कट राशिमा विचरण गर्ने यस महिनाका प्राकृतिक विशेषता हुन् । मानवजीवन र प्रकृतिबीच घनिष्ट सम्बन्ध भएकाले सबै मानवका लागि यस महिनाको महत्व छ । त्यसमा पनि कृषिनिर्भर जीवन भएका र सनातन धर्मावलम्बी हामी नेपालीलाई श्रावण महिनाको महत्व बढी नै रहेको छ ।

नक्षत्र र पूर्णिमाको योगका आधारमा हाम्रा महिनाका नाम रहेका छन् । श्रवण नक्षत्रयुक्त पूर्णिमा हुने भएकाले यस महिनाको नाम श्रावण रहेको हो । दिन, वार, तिथि, पक्ष, महिना, ऋतु आदि समयचक्रको निर्धारण सूर्य र चन्द्रमाले गर्ने भएकाले महिना पनि सूर्य र चन्द्रअनुसार दुई किसिमका हुन्छन् । सूर्यका आधारमा हुने महिना सौर महिना हो भने चन्द्रमाका आधारमा हुने महिना चान्द्र महिना हो । सूर्यले एउटा राशिमा विचरण गर्ने अवधि एक सौर महिना हो । यसैलाई हामी वैशाख, जेठ आदि महिना भन्दछौँ । श्रावणमा सूर्य कर्कट राशिमा विचरण गर्दछन् । त्यसैले सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिनलाई श्रावण संक्रान्ति वा कर्कट संक्रान्ति भनिन्छ । नेपाली समाजमा यही सौरमासअनुसारको श्रावण महिनालाई महत्व दिइन्छ ।  

हामीकहाँ विशेष गरी महिलाहरूले व्रत उपासना गर्ने तर पुरुषहरू खासै सहभागी नहुने गरेको पाइन्छ । व्यावहारिक सजिलो–अप्ठेरो एउटा कुरा होला तर शास्त्रीय मर्यादा के हो भने विवाहित व्यक्ति धार्मिक क्रियाकलापमा सहभागी हुँदा दम्पतीसँगै सहभागी हुनुपर्छ, अन्यथा पूरा फल पाइँदैन ।

श्रावण कृष्णप्रतिपदादेखि श्रावण शुक्लपूर्णिमासम्म चन्द्रमाका आधारमा हुने श्रावण महिना हो । धार्मिक सांस्कृतिक प्रयोजनका लागि यही चान्द्र महिनालाई मान्यता दिइन्छ । स्कन्दपुराण अन्तर्गतको श्रावण माहात्म्यमा श्रावण महिनामा पर्ने प्रत्येक वार र तिथिको महत्व बताइएको छ र अन्य महिनामा गरेको भन्दा श्रावण महिनामा गरेका शुभकर्मको बढी फल प्राप्त हुने कुरा बताइएको छ । श्रावण महिनामा एक दिन भए पनि व्रत गर्नाले ठुलो पुण्य प्राप्त हुने कुरा स्कन्द पुराणमा उल्लेख छ ।  

सनातन धर्मावलम्बी समाजमा श्रावण महिना धार्मिक कार्यहरू गर्नका लागि उत्तम महिना मानिन्छ । हरिशयनी एकादशीदेखि सुरु भई हरिबोधिनी एकादशीमा समाप्त हुने चतुर्मासको पहिलो महिना र शिवोपासनाको महिना भएकाले यसको महत्व बढेको हो । पुराण र धर्मशास्त्रमा बताएजस्तै सबै नियम पालन गर्न नसकिए पनि कम्तीमा श्रावण महिनाभरि शुद्ध आहार गर्ने र सोमबार शिवजीको उपासना एवं व्रत गर्ने परम्परा आम सनातनीहरूमा रहेकै छ । गङ्गास्नान गरी शिवजीलाई गङ्गाजल चढाउने बोलबमको परम्परा पनि धेरैजसो श्रद्धालुहरूले गर्दै आएका छन् ।  

श्रावण महिनामा शिवआराधनाको महत्व  

श्रावण महिना शिवजीको प्रिय महिना हो । हरिशयनी एकादशीदेखि भगवान् विष्णु योगनिद्रामा शयन गर्ने भएकाले यसबेला भगवान् शङ्करले नै सृष्टिको पालन गर्ने भूमिका निर्वाह गर्नुहुन्छ भन्ने मान्यता रहेको छ । स्कन्दपुराणअन्तर्गत शिव र सनत्कुमारको संवादको प्रसङ्गमा श्रावण महिनाको महिमा बताउँदै यो महिना शिवजीको सबैभन्दा प्रिय महिना भएको कुरा बताइएको छ । त्यहाँ आएको कथनअनुसार दक्षप्रजापतिका घरमा आयोजना भएको यज्ञमा तिरस्कृत सतीदेवीले यज्ञकुण्डमा प्रवेश गरेर आफ्नो देह त्याग गरिन् । प्राण त्याग्नुअघि उनले अर्को जन्ममा पनि शिवजीलाई नै पति पाऊँ भन्ने कामना गरेकी थिइन् । अर्को जन्ममा हिमालय र मेनकाबाट पार्वतीका रूपमा जन्मेकी उनले शिवजीलाई पति पाउने कामना गरेर श्रावण महिनाभरि निराहार रही कठोर तपस्या गरिन् । फलतः उनले शिवजीलाई पतिका रूपमा प्राप्त गरिन् र आफ्नो कामना पूरा गरेरै छोडिन् । त्यसैले श्रावण महिना शिवजीका लागि प्रिय भएको हो ।  

स्कन्दपुराणअन्तर्गत शिव र सनत्कुमारको संवादको प्रसङ्गमा श्रावण महिनाको महिमा बताउँदै यो महिना शिवजीको सबैभन्दा प्रिय महिना भएको कुरा बताइएको छ ।

अर्को प्रसङ्गअनुसार मृकण्डु र मरुद्वतीका पुत्र मार्कण्डेय १६ वर्षको आयु पाएर जन्मेका थिए । पितामाताबाट आफू अल्पायु भएको कुरा थाहा पाएपछि उनले सप्तऋषिको सहयोगले ब्रह्माजीबाट महामृत्युञ्जय मन्त्र प्राप्त गरे र यही मन्त्र जप गर्दै श्रावण महिनाभरि कठोर व्रत गरी शिवजीको आराधना गरे । फलस्वरूप उनले शिवजीको प्रसन्नताबाट मृत्युलाई जिते र चिरञ्जीवी हुने वर प्राप्त गरे । त्यसैले यो महिना साधना पूर्ण हुने र मृत्युलाई समेत जित्न सकिने शुभ महिनाका रूपमा मानिन गयो ।  

अर्को पौराणिक प्रसङ्गअनुसार देवता र दानव मिलेर समुद्र मन्थन गर्दा हलाहल विष निस्क्यो । विषको प्रभावले संसार भस्म हुन लागेको देखेर देवताहरूले शिवजीको प्रार्थना गरे र शिवजीले त्यो हलाहल विषलाई आफ्नो कण्ठमा धारण गर्नुभयो । विषले भगवान् शङ्करको कण्ठ जलेर निलो भएको देखेर सबै देवताहरूले शङ्करजीलाई जल अर्पण गरे । विषको प्रभाव शान्त हुँदै गयो । भगवान् शङ्कर नीलकण्ठ बन्नुभयो । यो घटना श्रावण महिनामा भएको थियो । त्यसैले श्रावण महिनामा शिवजीलाई गङ्गाजलले अभिषेक गर्दा उहाँ प्रसन्न हुनुहुन्छ ।  

यी सबै पौराणिक प्रसङ्गहरूको निष्कर्ष श्रावण महिना भगवान् शङ्करको आराधना गर्ने उपयुक्त महिना हो भन्ने हो । समाजशास्त्री, मानवशास्त्री, धर्मशास्त्री, ज्योतिष, वैज्ञानिक सबैले आआफ्ना युक्ति र प्रमाणले श्रावण महिना शुद्ध आहारविहार गर्ने, मन शुद्ध गर्ने र भगवान्को आराधना गर्ने समय हो भनेर पुष्टि गर्दछन् ।  

शिवोपासनाको दिन सोमवार  

महिनाका दृष्टिले श्रावण, तिथिका दृष्टिले प्रदोष र वारका दृष्टिले सोमवार शिवजीको उपासना गर्ने विशेष अवसर हुन् । सोमवार चन्द्रमासँग सम्बन्धित वार हो । चन्द्रमाको अर्को नाम सोम पनि हो । पौराणिक आख्यानअनुसार दक्षप्रजापतिका श्रापले क्षयग्रस्त चन्द्रमाले श्रापबाट मुक्ति पाउनका लागि मृत्युञ्जय मन्त्र जप गर्दै भगवान् शिवजीको आराधना गरे । शिवजी प्रसन्न भएर दक्षप्रजापतिको वचन पनि रहने चन्द्रमाको इच्छा पनि पूरा हुने गरी वरदान दिनुभयो । चन्द्रमाले कृष्णपक्षमा प्रत्येक दिन एकएक कला घट्दै गएर औँशीमा क्षीण हुने र शुक्लपक्षमा प्रत्येक दिन कला बढ्दै गएर पूर्णिमामा पूर्णचन्द्र हुने वरदान पाए । शिवभक्त चन्द्रमाले आराध्य देव शिवजीको ज्योतिर्लिङ्ग स्थापना गरे । द्वादश ज्योतिर्लिङ्गमध्ये सोमनाथ चन्द्रमाले नै स्थापना गरेका हुन् । त्यसैले सोमवार शिवजीको प्रिय वार हो ।  

स्कन्दपुराणको ब्रह्मोत्तरखण्डमा आएको प्रसङ्गअनुसार चित्रवर्माकी छोरी सीमन्तिनी चौध वर्षमा विधवा हुनुपर्ने भाग्य लिएर जन्मेकी थिइन् । यो कुरा थाहा पाएपछि उनले याज्ञवल्क्यकी पत्नी मैत्रेयीका उपदेशले सोमवार व्रत गरी शिवपार्वतीको आराधना गरिन् र शिवपार्वतीका प्रसादले अटल सौभाग्य प्राप्त गरिन् । त्यसैले सौभाग्य प्राप्तिका लागि सोमवार व्रत गर्ने र शिवपार्वतीको आराधना गर्ने गरिएको हो । सोमवारको व्रत विद्याप्राप्तिका लागि पनि गरिन्छ । ‘विद्या महेश्वरादिच्छेत्’, ‘विद्याकामस्तु गिरिशम्’ (विद्याको कामना गर्नेले शिवजीको आराधना गर्नू) भन्ने पौराणिक वचनहरूले पनि विद्याका लागि शिवजीको आराधना वाञ्छनीय हुन्छ भन्ने कुरा पुष्टि गर्दछन् । सोमवारको व्रत ब्रह्मचारी, गृहस्थ, कन्या, विवाहिता, विधवा, नारी, पुरुष सबैले गर्नुपर्ने व्रत हो भन्ने कुरा ब्रह्मोत्तरखण्डमा आएको छ ।  

ज्योतिष शास्त्रअनुसार सोमवारका देवता चन्द्रमा हुन् । चन्द्रमा मनका कारक ग्रह हुन् । शिवजीले चन्द्रमालाई शिरमा मुकुटका रूपमा धारण गर्नुभएको छ । त्यसैले शिवजीको नाम चन्द्रशेखर पनि हो । भगवान् चन्द्रशेखरको आराधना गर्नाले मनलाई आफ्नो नियन्त्रणमा राख्न सकिन्छ । कामदेवलाई भस्म गर्ने भगवान् चन्द्रशेखरको उपासना, सौभाग्यको कामना, मनको नियन्त्रण र मर्यादित कामोपभोग परस्पर सम्बन्धित विषय नै हुन् ।

साउनसम्बन्धी नेपाली मान्यता र परम्परा  

सनातनीबहुल नेपाली समाजमा साउन महिना विशेष महत्वको मानिन्छ । साउन महिनाभरि माछामासु, लसुन–प्याजजस्ता अशुद्ध खाना नखाने, शुद्ध आचरणमा रहने, सोमवार शिवजीको पूजा आराधना र व्रत गर्ने, सम्भव भए घरमा रुद्राभिषेक गर्ने गरेर नेपालीहरू यो महिना बिताउँछन् । यो महिना वर्षका महत्वपूर्ण चाडपर्व सुरु हुने महिना पनि हो । साउने संक्रान्ति, नागपञ्चमी, जनैपूर्णिमाजस्ता बहुप्रचलित र नेवार समुदायमा प्रचलित गाईजात्रा तथा मिथिलाञ्चलमा प्रचलित मधुश्रावणी यसै महिनामा पर्दछन् । साउने संक्रान्तिका दिन लुतो फालेर वर्षभरिका लागि आरोग्यको कामना गर्दै नयाँ वर्षका पर्व–उत्सवहरूको सुरुआत गर्ने परम्परा हामीकहाँ छ ।  

साउन महिनामा हरियो मिश्रित रातो सारी, हरियो चुरा, पहेँलो पोते र मेहेन्दी लगाएर अटल सौभाग्यका लागि भगवान् शङ्करको आराधना गर्ने परम्परा नेपाली महिलामाझ दिनानुदिन प्रिय बन्दै गएको छ । सौभाग्य र दीर्घजीवनका लागि शिवजीको आराधना गर्नुपर्ने कुरा माथि उल्लेख गरेका पौराणिक प्रसङ्गहरूले पनि प्रस्ट पारेकै छन् ।  

हरियो मिश्रित रातो सारी, हरियो चुरा, पहेँलो पोते र मेहेन्दी महिलाहरूका सौभाग्य र सौन्दर्यका प्रतीक हुन् । यी कुरालाई प्रकृति, कामभावना, पतिपत्नीबीचको आकर्षण, पार्वतीले रुखका हरिया पात र बोक्रा धारण गरेर शिवजीको आराधना गरेको प्रसङ्गसँग पनि जोडेको पाइन्छ । ज्योतिष शास्त्रले आत्मबल, पिता, प्रभाव, आरोग्य, शक्ति, सम्पत्ति आदिको कारक सूर्य ग्रहको अनुकूलताका लागि रातो रङ, विद्या, बन्धु, विवेक, वाणी, व्यापार आदि कुराको कारक ग्रह बुधको अनुकूलताका लागि हरियो रङ र प्रज्ञा, धन, आरोग्य, सन्तान, सुख आदिको कारक ग्रह वृहस्पतिको अनुकूलताका लागि पहेँलो रङ उपयुक्त हुने कुरा बताउँछ । यिनै कुराको प्राप्तिका लागि नेपाली नारीहरूले लगाउने रातो, हरियो र पहेँलो मिश्रित साउने पोसाकलाई शास्त्रहरूले समेत समर्थन गरेको देखिन्छ ।  

हामीकहाँ विशेष गरी महिलाहरूले व्रत उपासना गर्ने तर पुरुषहरू खासै सहभागी नहुने गरेको पाइन्छ । व्यावहारिक सजिलो–अप्ठेरो एउटा कुरा होला तर शास्त्रीय मर्यादा के हो भने विवाहित व्यक्ति धार्मिक क्रियाकलापमा सहभागी हुँदा दम्पतीसँगै सहभागी हुनुपर्छ, अन्यथा पूरा फल पाइँदैन । परिस्थितिले गर्दा भौतिक असमर्थता हो भने पनि मानसिक रूपमा पति–पत्नीको बराबर सहभागिता हुनुपर्छ, दुवै श्रद्धावान् हुनुपर्छ । उर्वर श्रावण महिना, अर्धनारीश्वर महादेवको आराधना र सौभाग्यको कामनाले परस्परका भावनाको सम्मान गर्ने यही सन्देश दिन्छ ।

प्रकाशित: १० श्रावण २०७७ १३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App