९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश १ मा ‘मुख्यमन्त्री ड्यासबोर्ड’ सञ्चालन

मुख्यमन्त्री ड्यासबोर्डको शुभारम्भ गर्दै मुख्यमन्त्री राई । तस्बिरः महेश्वर

प्रदेश नं. १ सरकारले सबै गतिबिधिको प्रत्यक्ष निगरानी गर्दै समस्या आईपरे तत्काल संबोधन गर्न मिल्ने गरी ‘मुख्यमन्त्री सूचना केन्द्र (सिएम ड्यासबोर्ड)’ सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले औपचारिक उद्घाटन गर्दै सिएम ड्यासबोर्डको विधिवत शुभारम्भ गरे ।

मुख्यमन्त्रीको टेबलमा राखिने ड्यासबोर्डबाट प्रदेश सरकारद्वारा सञ्चालित सबै खाले विकास निर्माणका योजना, गतिविधिलगायत सरकारी क्रियाकलापको प्रत्यक्ष निगरानी गर्न मिल्ने र समस्या परे तत्काल संबोधन गरी समाधानको उपाय खोज्न मिल्ने व्यवस्था छ । ड्यासबोर्ड शुभारम्भ गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारलाई डिजिटल प्रदेशको अवधारणाका साथ अगाडि बढाउन ‘हाईटेक’ प्रविधिको सेवा प्रवाह गर्ने उद्देश्यले ड्यासबोर्ड सञ्चालनमा ल्याइएको बताए ।

प्रविधि उपयोगमा १ नं. प्रदेश अन्य प्रदेशको दाँजोमा अगाडि रहेको प्रमाणित गर्न पनि हाईटेक डिजिटल प्रविधिमा प्रवेश गरेको बताउँदै उनले डिजिटल प्रविधिमा आधारित चुस्त सेवा दिन यसले मद्धत पुग्ने बताए । प्रदेश सरकारका मन्त्रालय र ती मातहतका सम्पूर्ण कार्यालयहरुबाट प्रवाह हुने सेवा चुस्तदुरुस्त बनाउन ड्यासबोर्ड प्रभावकारी हुने अपेक्षा लिइएको उनको भनाई थियो । प्रदेश सरकारसँगै १४ वटै जिल्लाका स्थानीय तहमा सञ्चालित योजनाहरुको निगरानी, अनुगमन र नियमन गर्न ड्यासबोर्ड प्रभावकारी हुने अपेक्षा लिइएको विश्वास पनि मुख्यमन्त्री राईले व्यक्त गरे ।

‘सिएम ड्यासबोर्डको मद्धतले प्रदेशभर सञ्चालित विकास निर्माणका योजनासँगै  बिभिन्न खाले कार्यक्रमको नियमित अनुगमन, मूल्याङ्कन र सहजीकरण गर्न सहज हुने आसा लिएका छौं’ मुख्यमन्त्री राईले भने ‘यसले योजनाहरुको प्रत्यक्ष अनुगमन जत्तिकै प्रभावकारी भूमिका खेल्ने र कतै कमीकमजोरी भएको पाइए तत्काल नियमनकारी र नियन्त्रणमुखी कदम चाल्ने प्रतिबद्धता जनाउँदछाै‌ ।’

विकास निर्माणलगायत दैनन्दिन सेवा प्रवाहमा कमी कमजोरी भए प्रदेशबासीले सोझै टिप्पणी, जिज्ञासा, गुनासा र सुझाव राख्न पाउने व्यवस्था ड्यासबोर्डले गरेको छ । उनीहरुबाट ड्यासबोर्डमा प्राप्त गुनासा र सुझावहरु ग्रहण गर्दै त्यस अनुरुप अघि बढ्ने योजना सरकारले बनाएको उनले बताए । प्रदेशभित्र भईरहेका विकास निर्माणलगायत सम्पूर्ण जनताकेन्द्रित कार्यक्रममा कमीकमजोरी भएको पाइए ड्यासबोर्डमार्फत जनताले सोझै जिज्ञाशा र गुनासा राख्न मिल्ने व्यवस्था मिलाइएको छ । प्राप्त जिज्ञाशा र गुनासा तथा सुझावलाई सरकारले संबोधन गर्दै जनमैत्री काममा केन्द्रित हुने राईले बताए ।

ड्यासबोर्डमार्फत प्राप्त हुने सूचना र सूझावका आधारमा मुख्यमन्त्री कार्यालयले अन्य मन्त्रालय, निर्देशनालय, आयोजना कार्यालयबाट सञ्चालित कार्यक्रमको भौतिक तथा वित्तीय प्रगति थाहा पाउन सजिलो हुने पनि उनले बताए । ‘जनताबाट प्राप्त जिज्ञाशा, गुनासा र सुझावको प्रदेश सरकारले समीक्षा गरी तत्काल आवश्यक निर्देशन, सुझाव र समन्वय गर्नेछ’ मुखयमन्त्री राईले भने ‘यसले दैनिक कामको प्रगति र अनुगमनसँगै कामको मूल्यांकन गरेर त्यसकै आधारमा सहयोग र निर्देशन गरिने छ ।’ जनतासँग प्रत्यक्ष सरकोकार राख्ने ड्यासबोर्ड स्थापनाले प्रदेशमा सञ्चालित योजना र कार्यक्रमको प्रगति उपलब्धीमूलक र जनमैत्री हुनेमा आफु विश्वस्त रहेको राईले बताए ।

प्रदेश सरकारले ड्यासबोर्डमार्फत स्थानीयतह र संघीय सरकारबीचको समन्वयमा पनि सुधार आउने अपेक्षा लिएको छ । बोर्डको सहयोगले प्रदेशभरी सञ्चालित योजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन र मूल्याङ्कन मात्र गर्ने नभई आईपरेका समस्या समाधान गर्ने र योजना र कार्यक्रममा हुँदै आएको दोहोरापन (डुप्लिकेसन) को पनि अन्त्य हुने अपेक्षा प्रमुख सचिव दिनेश भट्टराईले बताए । उनका अनुसार प्रदेश सरकार अन्तर्गत सञ्चालित कार्यक्रमको प्रगति समीक्षा गर्दै आवश्यक समन्वय गर्न पनि ड्यासबोर्ड महत्वपूर्ण सावित हुने आसा गरिएको छ ।

प्रकाशित: ९ श्रावण २०७७ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App