सेनाको जागिरे श्रीमान्ले अर्कैको श्रीमती लिएर एक वर्ष अघिदेखि भारतमै बस्न थाले । दुईवटा छोरीको पालनपालनको जिम्मेवारी इटहरीकी राधा(परिवर्तित नाम)को काँधमा आयो । आफू र छोरी लालनपालनका लागि थुपै्रतिर काम खोजिन् । कतै केही भेटिनन, अन्ततः बेला बेलामा ‘सेक्स वर्कर’ को रुपमा उनले काम गर्न थालिन्।
उनले सानोतिनो अरु काम पनि गर्छिन । गुपचुपमा ‘सेक्स वर्कर’ को रुपमा पनि काम गर्छिन् । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९ ) को महामारीले विश्वलाई नै आक्रन्त बनाएको बेला ‘सेक्स वर्कर’ महिलासमक्ष कोही ग्राहक आउने कुरै भएन । जसले गर्दा उनको आम्दानी शुन्य नै हुन पुग्यो ।
घरबेटीले चार महिनासम्मको भाडा तिर्न नसक्दा निस्किएर जान अल्टिमेटम दिए। अनि उनलाई आपत्त प¥यो । बल्ल बल्ल एक जना चिनेकै पहाडका माइती गाउँका एक जनाले महिना दिनभित्र पैसा फिर्ता गर्ने कबोल गरेपछि दिए र कोठाभाडा तिरिन् । अब उनलाई साउन महिनाको कोठाभाडा तिर्नु र माइती गाउँका दाजुसँग सापटी लिएको पैसा तिर्न निकै सकस छ।
उनीजस्तै, अर्की ‘सेक्स वर्कर’ महिलालाई इटहरी वडा नम्बर १७ मा घरबेटीले घरबाट निस्किर जान अल्टिमेटम दिइ सकेका छन् । तर, ती महिलाले घरबेटीसँग एक साताको समय माग गरेकी छन् । ‘एक सातामा पैसा तिर्न नसक्दा घरबेटीले कोठा छाड्न भनि सकेका छन,’ उनले भनिन् ।
देशका विभिन्न भागमा ‘सेक्स वर्कर’ महिलाको संख्या बढिरहेका बेला पूर्वको इटहरीमा पनि बढेको पाइएको छ। यी महिलालाईं कोरोना संक्रमणको महामारीले पनि पुरै थला पारेको छ । बिहान बेलुकाको गर्जो टार्नै समस्या परेको छ । यसरी समस्यामा रहेका महिलालाई महिला सहयोगी समूह इटहरीले इटहरी र आसपासका ‘सेक्स वर्कर’ महिलालाईं सहयोग गर्दै आएको छ ।
महिला सहयोगी समूहका अनुसार, इटहरीमा तीन सय र सुनसरी जिल्लाभर एक हजारको हाराहारीमा ‘सेक्स वर्कर’ छन्। यीमध्ये इटहरीका ३० जनालाई दुई दिनअघि राहत सामग्री वितरण गरिएको छ। राहत सामग्रीमा जनही २५ किलो चामल, दुई किलो दालसँगै तेल, नुन, प्याज, चिउरालगायत प्रदान गरिएको महिला सहयोगी समूहकी बिमला ठकुरीले बताइन् ।
‘सेक्स वर्कर’ महिलालाई राहत प्रदान गर्ने क्रममै लकडाउनका बेला रामधुनी नगरपालिकाको सहकार्यमा २५ जनालाई पनि राहत प्रदान गरिएको जानकारी दिइयो । यस्तै, ५० जना ‘सेक्स वर्कर’ महिलालाई जनही दुई हजार पाँच सय रुपैयाँ लकडाउनकै बेला महिला सहयोगी समूहले प्रदान गरेको छ ।
यहाँ पहाडी जिल्लाका महिला मोवाईल सम्पर्कका आधारमा ‘सेक्स वर्कर’ को काम गर्न शहरमा आउने गरेको पाइएको छ। ‘सेक्स वर्कर’ को रुपमा काम गर्ने महिलाले पहिला पहिला इटहरी र धरान क्षेत्रका होटललाई सुरक्षित स्थानको रुपमा प्रयोग गर्थे । अचेल पनि होटल प्रयोग गर्न छाडेका छन् ।
‘सेक्स वर्कर’ महिलाले पछिल्लो समय होटलभन्दा पनि विशेषगरी घर कोठा भाडामा लिएर सुरक्षित स्थान रोज्ने गरेको पाइएको छ,’ ठकुरीले भनिन, ‘बढी मात्रमा भेडेटार त्यसमा पनि घरका कोठा लिएर मोवाइल सम्पर्कका आधारमा सेक्स वर्करको काम गर्ने गरेको खुलेको छ।’ उनका अनुसार, भारतीय नागरिकसँगै नेपालका विभिन्न क्षेत्रका नागरिक पनि ग्राहक हुने गरेका छन् । तर, पछिल्लो समय कोरोनाका कारण ‘सेक्स वर्कर’ महिलासँग नियमित ग्राहक नै टाढिने गरेका छन् ।
तथ्याङ्क अनुसार ‘सेक्स वर्कर’ को रुपमा अविवाहित किशोरी आधाजसो भएपनि अरु भने विवाहित महिला नै भएको रहेको पत्ता लागेको छ। विवाहित महिलाका कतिपय श्रीमान विदेश गएका र कतिपय श्रीमान्सँग सम्बन्ध नराम्रो भएका महिलाले ‘सेक्स वर्कर’ को रुपमा काम गर्ने गरेका छन् ।
किशोरीलाई कुनै पनि पुरुषसँग सामाजिक सञ्जाल, मोवाइल, फोनलगायतको प्रविधीले हरेकलाई भेटघाट र संवादका लागि सहज बनाएको छ। प्रविधीको गर्दा उनीहरुलाई रोमन्समा समेत पहुँच पुगेको छ।
प्रकाशित: ९ श्रावण २०७७ ०५:२२ शुक्रबार