११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

एउटै कारखानाका ९ जना बिरामी

लक्षणसहित भेटिए संक्रमित

वीरगन्जको अस्थायी नारायणी कोभिड अस्पतालमा भर्ना भएका २९ जना कोरोनासंक्रमितमध्ये २३ जनामा कुनै नकुनै किसिमको लक्षणदेखिएको छ। ‘अहिले लक्षणसहित संक्रमण भएका बिरामीको संख्या हामीकहाँ बढी छ । २९ मध्ये ६ जनामा मात्र लक्षण छैन, बाँकीमा कुनै न कुनै किसिमको लक्षण देखिएकै छ,’ अस्पतालका संयोजक डा. उदयनारायण सिंहले भने, ‘ज्वरो, स्वासप्रस्वासमा समस्या, टाउको दुख्ने र रुघाखोकी लाग्ने जस्ता कोरोनाका लक्षण उनीहरूमा पनि देखिएको हो।’

यो अवस्थालाई उनले पहिलाको भन्दा खतरापूर्ण रहेको बताए। पहिले एक÷दुईजनाबाहेक लक्षण नदेखिने बिरामी मात्रै थिए। आइतबार राति आएको नारायणी अस्पतालको परीक्षणको रिपोर्टअनुसार बारा र पर्सामा एकैदिन ५० जना संक्रमित थपिएका थिए। तीमध्ये ४६ जना बारा र ४ जना पर्सा जिल्लाका रहेका थिए। तीमध्ये वीरगन्जस्थित होटेल कुमु प्यालेसको क्वारेन्टिनमा बसेका ४ जनामा संक्रमण थियो भने बारा जिल्लाको देवताल गाउँपालिकाका ३४, सुवर्ण गाउँपालिकाका ३, कलैया उपमहानगरपालिकाका ३ र धनकौलमा ६ जना कोरोना संक्रमित भेटिए। यसमा गाउँपालिकाका अध्यक्ष, अन्य जनप्रतिनिधि र स्वास्थ्यकर्मी पनि थिए। बारामा भेटिएका संक्रमितहरू कलैयास्थित जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको जिल्ला प्रसाशन कार्यालय बाराले जनाएको छ।  

केही समययता मानिसहरूले आफैं परीक्षण गराउँदा संक्रमण पुष्टिको क्रम देखिएको हो। ‘समुदायबाट संक्रमण फेला पर्नुको अर्थ कुनै क्वारेन्टिन सेन्टरबाट वा कुनै संक्रमितको ट्र्याक रेकर्ड केलाउँदा भेटिएको नभई समुदायबाट मानिसले आफ्नो जाँच गराउँदा संक्रमण भेटिएका घटना हुन्,’ मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले भने, ‘कोरोना संक्रमण यहाँ नै बढेको होइन, यो आयातित हो भन्ने प्रष्टै छ। तर हामीले अब यो कुरा स्वीकार गर्नैपर्छ। समुदायमा संक्रमण पुगिसकेको छ।’

एउटै उद्योगका ९ जना

नयाँ संक्रमित २९ जनामध्ये ८ जना वीरगन्ज पथलैया करिडोरमा रहेको एउटा औषधि उद्योगमा कार्यरत कामदार कर्मचारी रहेका छन्। उनीहरूले लक्षण देखिएपछि स्वतःस्फूर्त आफ्नो स्वाब परीक्षण गराएका थिए। नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भयो।  

बुधबार अस्थायी नारायणी कोभिड अस्पतालमा ९ जना कोरोना संक्रमित थपिएपछि यहाँ संक्रमितको संख्या २९ पुगेको हो। बुधवार ल्याइएकोमा ४ जना संक्रमित सोही उद्योग हुन्। ती ५ दिनभित्र संक्रमित भएका हुन्। आफंै स्वाब दिएर सःशुल्क पिसिआर जाँच गराउँदा यी सबै संक्रमित निस्किए। नयाँ थपिएका अन्य संक्रमितमा वीरगन्जका स्थानीय र स्थायी ठेगाना अन्य जिल्ला भई यहाँ बस्दै आएका व्यक्ति भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।  

‘केही समययता समुदायबाट संक्रमणका घटना आउन थालेका छन्,’ जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले भने, ‘यो निकै चिन्ताजनक विषय हो, यस अवस्थाले थप ट्रेसिङ र परीक्षण आवश्यक रहेको निर्दिष्ट गरिरहेको छ।’ पछिल्लो समयमा स्वेच्छाले परीक्षण गराएका यात्रा विवरण नभएका व्यक्तिसमेत भेटिएकाले निकै सचेत बन्नुपर्ने विज्ञको भनाइ छ। ‘एउटा जनस्वास्थ्यका जानकार भएको नाताले लकडाउन खुले पनि संक्रमण र यसको जोखिम अन्त्य भइसकेको होइन भनी सबैले बुझ्नु पर्छ,’ नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले भने, ‘लकडाउन नखुल्दै मानिसले मास्क लगाउन छोडिरहेको, समाजिक दूरी कायम नगरेको जस्तो देखिएको थियो, अहिले पनि यि सबै सवधानी अपनाउन भनिएको छ, मानिसले कतिको पालना गर्छन् भन्ने कुरा महŒवपूर्ण छ।’

संक्रमितको संख्या सरकारी तथ्यांकमा घट्दो देखिए पनि समुदायमा छरिएका कोरोना संक्रमण प्रकाशमा आउन बाँकी रहेको देखिन्छ। भारतमा कोरोना संक्रमण अत्याधिक बढिरहेका बेला खुला सिमानाका कारणसंक्रमण लिएर मानिसहरू पसेको हुनसक्ने उनले अनुमान गरे। ‘अहिले लकडाउन खोल्दा संक्रमणको अवस्था र ठाउँ हेरेर खोल्नुपथ्र्यो,’ डा. उपाध्यायले बताए।  

संक्रमण भयावह स्वरूपमा

संक्रमितमध्ये धेरैजसो अब लक्षणसहितको देखिएका कारण संक्रमण भयावह हुन लागेको भन्दै विज्ञहरू डराएका छन्।नारायणी अस्पतालका चिकित्सकका अनुसार अहिलेसम्म यस अस्पतालमा ल्याइकामध्ये ९५ प्रतिशत बढी लक्षण नदेखिएकासंक्रमित थिए। चिकित्सकीय भाषामा ‘ए सिम्टोमेटिक केस’ भनिएको यसरी लक्षणबिनाका संक्रमित थिए। अब लक्षणसहितकासंक्रमित बढी देखिन थालेका छन्।  

‘संक्रमण अब भिन्न स्वरूपमा देखा प¥यो, लाक्षणिक संक्रमण बढ्नु खतरापूर्ण हो, यसमा जोखिम बढी हुन्छ,’ डा. उपाध्यायले भने, ‘त्यससँगै समुदायबाट संक्रमणको घटना आउनु आफैंमा चिन्ताजनक विषय हो। पर्साको अहिलेको अवस्था हेरेर यही नै हो नेपालको अवस्था भन्न मिल्दैन तर यही अवस्थाले निरन्तरता पायो भने हामी खतरापूर्ण स्थितिमा हुनेछौं।’

प्रकाशित: ८ श्रावण २०७७ ०४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App