५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कर्मनासा बाढीले डुबायो हात्तीवन

कर्मनासा खोलाको बाढी पसेपछि जगमग्न बनेको ललितपुरको हात्तीवन क्षेत्रमा पर्ने बस्ती। तस्बिर:नागरिक

लगातारको वर्षापछि ललितपुरको हात्तीवन क्षेत्र भएर बग्ने कर्मनासा खोलामा आएको बाढी बस्तीमा पसेको छ। स्थानीयवासी र जग्गा ठेकेदारहरूले खोला क्षेत्र अतिक्रमण गरी साघुँरो पारेपछि सोमबार हात्तीवन क्षेत्र डुबानमा परेको हो।  

खोलाको क्षेत्रफल मिचेर प्लटिङ गर्ने र पर्खाल उठाउने कार्य भएपछि खोला साघुँरिएको छ। कुनै बेला फराकिलो उक्त खोलाको बहाव क्षेत्र अहिले झन्डै २० फिटमा झरेको छ। दुई सय फिटमा बगेको खोलाको ठूलो क्षेत्रफल खोेसिएपछि बाढी बस्तीमा पसेको स्थानीय विकास महर्जनले जानकारी दिए। उनका अनुसार सिलौटेदेखि हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलसम्म खोलाको बहाव क्षेत्र साघुँ¥याइएको छ। ‘खोला क्षेत्रमा संरचना बनाएपछि खोला बस्तीमा पस्न थालेको छ,’ उनले भने। उनका अनुसार १० वर्ष अघिसम्म खोलाको बहाव क्षेत्र दुई सय फिट थियो। बहाव क्षेत्र मिचेर बनेका युरो र सिलौटे हाउजिङले अन्य ठाउँमा संरचना निर्माण र प्लटिङ गरेको थियो।  

प्लटिङ गरेर साँघुरो बनाइएको खोलाको बहाव क्षेत्र फर्काउने कार्यमा सरकारी नियकाले चासो नदिएको स्थानीय रमेश बस्नेतले जानकारी दिए। उनले खोला क्षेत्रमा संरचना बनेका कारण खोला बस्तीमा पसेको बताए। ‘खोला क्षेत्रमा जग्गा व्यापार भएको छ,’ उनले भने, ‘खोलाकै जग्गा पनि व्यक्तिको भनेर बिक्री गरेपछि खोलालाई डाइभर्सन समेत गरिएको छ।’ स्थानीयवासीका अनुसार हरिसिद्धि सिलौटेस्थित खानेपानीको ट्यांकीले पनि खोलाको जग्गा मिचेको छ। ट्यांकी बनाउँदा खोलाको धार नै बदल्ने काम भएको छ। लिटिल एन्जल्स स्कुलले पनि खोलाको जग्गा मिचेर कम्पाउन्ड बनाएको छ। कर्मनासाको पुरानो नक्साअनुसार यसको क्षेत्रफल दुई सय फिट फराकिलो छ। हाल खोलाको जग्गा मिचेर निकै मिचिएको छ। कतिपय ठाउँमा संरचना खडा भएका छन्। यो खोला सानागाउँ, टीकाथली, इमाडोल हुँदै गोदावरी खोलामा मिसिन्छ। महानगरपालिकाले हात्तीवनदेखि बालकुमारीसम्म करिडोर खोल्न केही ठाउँमा संरचना भत्काएको छ। तर, हात्तीवनदेखि सिलौटेसम्म खोलाको जग्गा अत्यधिक मिचिएका कारण करिडोर खोल्न सकेको छैन।  

कृषि उत्पादनका लागि पनि यो क्षेत्र उर्वर मानिन्छ। तर, जनघनत्व बढेपछि खोलाको जग्गा र कृषियोग्य जग्गाको कारोबार धमाधम बढेको हो। ललितपुर महानगरपालिका– १५ का वडाध्यक्ष सुदर्शन मिश्रले धेरैजसो स्थानमा खोलाको क्षेत्र फर्काइसकिएको र केही ठाउँमा बाँकी रहेको बताए। ‘अहिले करिडोर सडक निर्माण भइरहेको छ, सोही क्रममा खोलाको क्षेत्रफल मिचेर बनाइएका संरचना भत्कन्छन्,’ उनले भने। खोला क्षेत्रमा पुल र ह्युमपाइप व्यवस्थापन पनि भइरहेको उनले बताए। उनका अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणको २०६४ सालको मापदण्डअनुसार खोलादेखि १० मिटर दूरीमा जग्गा प्लटिङ र घर निर्माण गर्न पाइँदैन।

खोला अतिक्रमण रोक्न पहल भइरहेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए। उनले केही ठाउँमा खोलाको क्षेत्र मिचिएकाले त्यो जग्गा पुनः फर्काइने बताए। ‘खोलाको जग्गा कसैले पनि छुन पाउँदैन,’ उनले भने, ‘यदि कतै त्यस्तो भएको छ भने हामीले फर्काउँछौं।’  

प्रकाशित: ६ श्रावण २०७७ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App