२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

दाङमा सवारी दुर्घटना : घट्यो मृत्यु दर

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रेम रेग्मी, वर्षभरी भएका गतिविधिबारे जानकारी दिँदै ।

दाङमा पछिल्लो वर्ष सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या घटेको छ । आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा भएका सवारी दुर्घटनामा ७१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ०७५/०७६ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या १ सय ४ थियो । ‘अघिल्लो वर्ष भन्दा गत आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्यामा कमी आएको छ,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक प्रेम रेग्मीले भने, ‘यसको कारण दुर्घटना प्रति बढाईएको सचेतना नै हो ।’

यसैगरि घाईते हुनेहरूको संखयामा पनि कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा सवारी दुर्घटनामा पनि ४ सय २३ जना घाईते भएका थिए भने गत आर्थिक वर्षमा ३ सय ४५ जना घाईते भएका छन् । ‘हामीहरूले विद्यालय तह देखि गाउँ समाजमै पुगेर पनि ट्राफिक नियमबारे सचेतना कार्यक्रहरूलाई ब्यापक बनायौँ,’ रेग्मीले भने ‘यसको सकारात्मक प्रभावको प्रतिफल दुर्घटनामा परि ज्यान गुमाउने र घाईते हुनेहरूको संख्यामा कमी आउन सक्यो ।’ आँफूहरूको सचेतनाका कारण सवारी चालक तथा सर्वसाधारणहरूमा चेतना बृद्धि भएको उनको दाबी छ । ट्राफिक प्रहरी कार्यालयले चालकहरूका लागि पनि पटक पटक सचेतनामुलक कार्यक्रम गर्दै आएको थियो ।  

यसैगरि जिल्ला ट्राफिक प्रहरी कार्यालयले राजश्व पनि अघिल्लो वर्षको भन्दा बृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड १३ लाख ५ हजार रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०७६/०७७ मा  २ करोड ३० लाख ७३ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । यो राजश्व रकम सवारी साधन कारवाही मार्फत संकलन भएको रकम हो । 

ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा ट्राफिक नियम उलंघन गरेर चलाईएका ३७ हजार ४ सय ६३ वटा सवारी साधनलाई कारवाही गरेको थियो भने अघिल्लो आर्थिक वर्षमा ३४ हजार ५ सय १० सवारी साधन कारवाहीमा परेका थिए । यसैगरि ट्राफिक प्रहरीले लकडाउनको अवधिमा २ हजार १ सय २८ सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ । कुल कारवाही गरिएका सवारी साधन संख्या २ हजार ५ सय ६३ छ भने १६ लाख ३० हजार ५ सय रुपैयाँ लकडाउन अवधिमा मात्रै राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख रेग्मीले जानकारी दिए ।

प्रकाशित: ५ श्रावण २०७७ ०५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App