coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मेलम्ची सुरुङको ढोका खुल्दा बेपत्ता भएकामध्ये एकको शव फेला

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गको ढोका खुल्दा बेपत्ता भएका दुईमध्ये बुधबार एक मृत फेला परेका छन् । आयोजनामा कार्यरत जनकपुर घर भएका २६ वर्षीय इन्जिनियर शतिष गोइत मृत फेला परेका हुन् । घटनास्थलदेखि झण्डै सात–आठ किलोमिटर तल इन्द्रावती खोलाको बाहुनेपाटीमा अपराह्न साढे चार बजेतिर गोइतको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्जवल महर्जनले जनाए ।

उनीसँगै बेपत्ता आयोजनाका चालक राधाकृष्ण थापा भने अझै बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मंगलबारको घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बेपत्ताको खोजीमा जुटेको थियो । आयोजनाको मुहानस्थल हेलम्बुमा रहेको अम्बाथान अडिट टनेल भित्रको मुख्य सुरुङको ढोका खुल्दा चार जना बगेका थिए ।

बग्दै गरेका इन्जिनियर शेखर खनाल र अर्का प्राविधिक पेम्बादोर्जे तामाङलाई भने सुरक्षाकर्मी तत्काल उद्वार गरेका थिए । घाइते उनीहरुको ललितपुरको ग्राण्डी अस्पतालमा उपचार भइरहेको आयोजनाले जनाएको छ । दुई सय ९८ मिटर लामो अडिट टनेलबाट अघि बढ्दा मुख्य सुरुङको ढोका एक्कासी खुलेको थियो । त्यतिबेला प्राविधिकसहितका चार कर्मचारी सुरुङको अवस्था निरीक्षण गरिरहेका थिए । गत असार २१ गते सुरुङमार्गको परीक्षण गर्न पानी प्रवेश गराइएको थियो ।  

मेलम्ची बाँध खोलियो
सुरुङको १७ नम्बर गेट खुलेर दुर्घटना निम्तिएपछि आयोजनाले मुहान क्षेत्र (हेडवक्र्स) स्थित बाँध खोलिदिएको छ । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले सुरुङको मुख बन्द गरेर बाँध खोलिएको बताए । गेट खुुलेपछि सुरुङमा जमेको पानी बाहिरिएको थियो । बाँध नै खोलिदिएपछि सुरुङ रित्तिएको पन्तले जानकारी दिए । ‘बेपत्ताको खोजीमा जुट्नु परेकाले त्यसै खेर जान दिन सुरुङमा पानी छिराइरहनुको औचित्य छैन,’ उनले नागरिकसँग भने । खोजीमा जुट्नु परेकाले खुलेको ढोका बन्द गर्ने काम तत्काल नगरेको उनले बताए । उनका अनुसार पहिलो बेपत्ताको खोजी सकेपछि मात्र खुलेको गेट बन्द गर्दै फेरि मेलम्ची पानी सुरुङमा छिराउने काम सुरु गरिने छ । नलबोल्ट खुकुलो रहेकाले पानीको दबाबले खुस्किएर गेट खुलेको पनि उनले दोहोर्‍याए ।

गेट खुलेर सुरुङ रित्तिएपछि आयोजनाको १० दिनको काम व्यर्थै भएको छ । अब आयोजनाले सुरुङमा पानी छिराउने काम सुरुदेखि नै गर्नुपर्ने भएको छ । योसँगै सुरुङ परीक्षण गर्ने अवधि र मेलम्ची पानी वितरण गर्ने लक्ष्य त्यति दिन नै लम्बिने आयोजनाले प्रष्ट पारेको छ । दुई महिनामा सुरुङ परीक्षण सक्ने गरी आयोजनाले पथान्तरण (पानी प्रवेश गराउने) थालेको थियो । ढिलोमा असोजभित्र उपत्यकावासीलाई मेलम्ची पानी वितरण गर्ने आयोजनाको लक्ष्य छ ।

प्रकाशित: ३ श्रावण २०७७ १३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App