१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बारेकोट पहिरो : आठ सय घर विस्थापित

पहिरोबाट विस्थापित परिवार आश्रयस्थलमा । घाइतेलाई उपचारका लागि लिँदै नेपाली सेना । पहिरोको कारण क्षति पुगेको घर । असार २५ गते बारेकोट–४ सार्की गाउँमा आएको पहिरो । तस्बिरः सरेन्द्र सुमनको फेसबुकबाट ।

जाजरकोटस्थित बारेकोट–४, सार्की गाउँका करिब आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । असार २५ गते ११ जनाको मृत्यु र एकजना बेपत्ता हुने गरी गएको पहिरोका कारण उनीहरू विस्थापित भएका हुन् ।

विस्थापितहरूलाई नजिकैको विद्यालय, सामुदायिक भवनमा राखिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार बारेकोट–४ का दुई सय ९०, ५ नम्बर वडामा दुई सय ५०, ७ नम्बर वडामा एक सय ५०, ६ नम्बर वडामा ५० र १ नम्बर वडामा एक सय परिवार विस्थापित भएका छन् । तर यो तथ्यांक प्रहरी र गाउँपालिकाबीच फरक छ । गाउँपालिकाले आठ सय र प्रहरीले तीन सय ८० परिवार विस्थापित भएको तथ्यांक आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई उपलब्ध गराएका छन् । प्रहरीका अनुसार विस्थापितको संख्या बढ्दै गएको छ ।

विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय, भगवती र कालीका प्राथमिक विद्यालयमा राखिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जनाए । उनका अनुसार विस्थापित परिवारलाई त्रिपालले बनाइएको टेन्ट पनि राखिएको छ । बारेकोटका पहिरो पीडितका लागि आवश्यक खाद्य तथा गैरखाद्य वस्तु घटनास्थलसम्म ढुवानी गर्न नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने र सोमा लाग्ने ढुवानी खर्चसँगै तत्काल राहतस्वरूप खरिद गरिएका खाद्य सामग्रीको खर्च आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बेहोर्ने छ । साथै मन्त्रालयले पहिरो पीडितका लागि दुई महिना पुग्ने खाद्य सामग्री सहयोग गर्ने बताइएको छ ।

पहिरो पीडितलाई विद्यालय, सामुदायिक भवनहरूमा राखिएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी विष्णु साहनीले जानकारी दिए । उनका अनुसार तीन सय घरका एक हजार बढी मान्छेलाई आश्रयस्थलमा राखिएको छ । असार २५ गते सार्की गाउँमा आएको पहिरोले दुई घर पुर्दा ११ जनाको मृत्यु र एकजना बेपत्ता भएका थिए । गाउँको जमिन उक्त पहिरोले चिराचिरा परेकाले अन्य घरपरिवारलाई पनि सुरक्षित स्थानमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी साहनीले जनाए । लगातार वर्षा हुँदा आश्रयस्थलमा खाद्य तथा गैरखाद्य सामग्री बारेकोट पुर्‍याउन समस्या भएको छ । ‘ठाउँठाउँमा पहिरो खसेका कारण स्थलमार्गबाट सामान  सामग्री ढुवानी गर्न समस्या छ,’ सहायक प्रमुख जिल्ला अधिकारी साहनीले भने, ‘वर्षा भइरहँदा हवाइ मार्गबाट पनि सामान ढुवानी गर्न सकिएको छैन ।’ केही दिनलाई पुग्ने खाद्य सामग्री भए पनि लगातार वर्षा भइरह्यो भने पहिरो पीडितलाई समस्या हुने उनको भनाइ छ ।  

पीडितको स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मीको टोली पहिरो प्रभावित क्षेत्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोर श्रेष्ठले जनाए । डिएसपी क्षेष्ठका अनुसार आठ घर पहिरोले पूर्णपरूमा क्षति पुर्‍याएको थियो भने १५ घरमा आंशिक क्षति पुगेको थियो । अन्य घरहरूमा क्षति नभए पनि पहिरोको जोखिममा छन् । पहिरोबाट थप धनजन र मानवीय क्षति नहोस् भनि हजारभन्दा बढीलाई सुरक्षित स्थापनमा सारिएको उनको भनाइ छ । कमजोर धरातल र भिरालो जमिन हुँदा उक्त क्षेत्रमा पहिरो गएको थियो ।

प्रकाशित: ३ श्रावण २०७७ ०७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App