६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सडक निर्माणमा लापरबाही

सदरमुकाम गुलरियामा भित्र पर्ने अधिकांश सडक धरापमा परिणत भएका छन्। लापरबाही तरिकाले विकास निर्माण अघि बढाउँदा मुख्य सडक लामो समयदेखि आवागमन ठप्प भएको छ। दुई वर्ष अघि देखि निर्माण भईरहेको सडक र नाला निर्माण काम अलपत्र अवस्था छ। विकास गर्ने नाममा जताततै खनिएका खाल्डा र नाला निर्माण गर्नका लागि बिछ्याएका सरियाका कारण स्थानीय ज्यानको जोखिम मोलेर आवागमन गर्न बाध्य छन्।  

दुई महिना अघि देखि भन्सार सडक खन्डमा आवागमन ठप्प भएको हो। मूख्य बजारमा सडकमा आवागमन ठप्प हुदाँ व्यबसाायी पलायन भईरहेको स्थानीय समिम अन्सारीले बताए। ‘विकासको नाममा ज्यादती छ,’उनले भने,‘मूख्य बजार क्षेत्रका व्यबसाायी पलायन हुने स्थितिमा पुगेका छन्।’  

भित्री सडकमा विच विच धराप बनाएर छोडिएकाले ज्यानको जोखिम मोलेर स्थानीय आवागमन गर्न बाध्य छन्। तीखा सरिया,कतै खाल्डो,कतै छरफस्ट छाडिएका निर्माण सामाग्री बिकास निर्माण कम्पनीकोे लापरबाही छरपस्ट देखिन्छ। दर्जन भन्दा बढि मानिस आवागमनको क्रममा घाईते भएको लेखा जोखा कोहिसँग छैन। सम्बन्धित निकाय मौन बसेको भन्दै स्थानीय आक्रोषित भएका छन्। पटक पटक सडक प्रर्दशनमा उत्रिदा समेत सुनुवाई नभएको नगरबासी गुनासो गर्छन।  शहरी विकास कार्यक्रम अन्र्तगत गुलरिया नगरपालिका भित्र १ अर्ब ४६ करोडको पक्की सडक र नाली निर्माण हुदैछ।त्यस्तै,हुलाकी सडक र सडक डिभिजनले निर्माण गरिरहेका नाली अलपत्र अबस्थामा छ।  

तर,सदरमुकाम गुलरियामा अर्बो लगानी निर्माण भईरहेको अनुगमन गर्ने विकासे कार्यालय नेपालगंजमा छ। त्यसकारण निर्माण कम्पनीको चरम लापरबाही विकासमा अघि बढि रहेको छ।दुई वर्ष अघि तीन वटा प्याकेजको टेन्डर आव्हवन गरेर सुरु भएको सघन शहरीको नाली र सडक निर्माण कार्य अलपत्र छ।जसले गर्दा गुलरिया नगरको विकास गर्ने नाममा खनिएका खाल्डाका कारण गुलरिया नगर कुरुप बन्दैछ। 

जथाभावी खनिएका खाल्डामा बिछ्याएको सरियाको विचवाट  जोखिम मोलेर हिँडडुल गर्न सर्वसाधरणलाई विवश छन्। टोल–टोलमा घर अघि खनिएका खाल्डामा राखिएका सरियामा पर्दा दिनँहु सर्वसाधरण घाईत हुने गरेका छन्। जोखिमयूक्त सडक प्रयोग गर्ने स्कूले विद्यार्थी,बृद्ध,अंपाग बढी जोखिममा छन्।  

सघन सहरी अन्र्तगतका टुडि, एमके लुम्बिनी निर्माण कम्पनीले  नाली सहित पक्की सडक निर्माण गर्ने जिम्मा पाएको छ। टुडि कम्पनी लामो समय देखि सम्र्पकमा छैन। पुरानो गाबिस जाने सडक नाला बनाउँने नाममा अलपत्र अबस्थामा छाडिएको सरिया दिनहु मानिस सरिर छेडिरहेको अर्का स्थानीय समिर अहमदले बताए। ‘मूख्य बजारका मानिस घर बाहिर निस्कन नसक्ने गरी जताततै खाल्डो खनेका छन्’उनले भने,‘बजारमा खनिएको खाल्डोमा डुंगा चल्छ।’

यसैगरि, यादव ईन्जिनियरिङले बसपार्क र हुलाकी क्षेत्रमा नाली निर्माण  जिम्मा पाएको छ।लुम्बिनि एम के ठेक्का पाएको यादव कन्स्ट्रक्सन संचालक अशोक यादब स्थानीय कार्य सम्पन्न गर्ने जिम्मा लिएका छन्। उनी फिल्डमा देखिने गरेका छन् भने अन्य निर्माण कम्पनी सम्र्पकमा छैनन।  

सडक र नाली निर्माण कार्यमा लापरबाही र ढीलासुस्तीले अर्ब लगानीको विकास धराप बनेको स्थानीय गुनासो गर्छन।  नाली बनाउँनका लागि खनिएका खाल्डा तिखा सरियामा सर्वसाधरणलाई ज्यान बचाउँन मुश्किल छ। मापदण्ड विपरित निर्माण गरिएका संरचनाका कारण दुःख पाएका सर्वसाधरण हैरानी व्यक्त गर्छन।  कतिपय ठाउँमा निर्माण भएको नाली देखिने भाग पुनः ममर्त गरिएपनि विपरीत साईड तीर परेका प्वाल अझै टालिएको छैन। विकास काममा ठेकेदारले अनिमियता गरेको एक स्थानीयले टिप्पणी गरे।  

विकासप्रेमी स्थानीयले आफैले घर भत्काएर नाली खन्ने काम सुरुवात गरेका थिए। स्थानीयको सोच विपरीत ठेकेदारले ढिलासुस्ती गरेपछि सर्वसाधरण विकासको नाममा भएको वेथितिले अहिले आंतकित छन्।  ठेकेदारले ठेक्का ओगटेर काम नगरिदिएका कारण घना बसोबास भएको गुलरिया मूख्य वस्तीमा पक्कीसडक र खानेपानीको सुविधाबाट वञ्चित भएका छन।वर्षा लाग्नुअघि द्रुत गतिमा हुनु पर्ने काम रोकिएकोमा स्थानीय चिन्तित देखिन्छन्।  

सडक किनारका बासिन्दा ठेकेदारले जस्तोसुकै काम गरे पनि खाल्डो र अलपत्र अबस्थामा परेको सरिया व्यबस्थापन गरिदिए पुग्थ्यो भन्नेमा पुगेका छन। यादव ईन्जिनियरिङका सञ्चालक अशोक यादवले निर्माणाधिन नाली अलपत्र अबस्थामा नछाडेको दाबी गरे।‘नालीका लागि खनेको खाल्डो ढलान भईसकेको छ,’ उनले भने, ‘खाल्डो खनेर सरिया मात्र बिछ्याएर मेरो जिम्माको काममा छोडेको छैन।’

सडक र नाली निर्माण असार मसान्त सम्पन्न गर्न म्याद थियो। लकडाउँनले गर्दा समय लम्बाएर पुनःमुल्याकंन गराउँने लबिङमा निर्माण कम्पनी काम छाडेर लागेको स्रोत बताउँछ। ‘निर्माण कम्पनी लकडाउँन अवसरको रुपमा लिएका छन’स्रोतले भन्यो,‘म्याद थपेर पुनः मूल्याकंन गराउँने दाउँमा निर्माण कम्पनी दौडधुप चलिरहेको छ।’

काममा लापरबाही गर्न नदिन अनुगमन कार्यलाई तिब्रता दिएको शहरी कार्यक्रमका गणेश कर्मचार्यले बताए। ‘लकडाउँनको कारणले कार्यालयले सोचे अनुसार काम अघि बढेको छैन’उनले भने,‘गुणस्तर र ढीलासुस्ती गरे कार्यालयले कारबाहीको प्रक्रिया अघि बढाउँछ।’७० प्रतिशत काम सम्पन्न भईसकेको उनले दाबी गरे।हुलाकी सडक आयोजनाका प्रमुख युवराज पोख्रेल पाँच महिना बिदामा बसेका थिए। अन्य कार्यालयका कार्यालय प्रमुख कोभिड -१९ को संक्रमण जोखिम देखिएपछि  फिल्ड अनुमनमा अहिले सम्म नगएकोे स्वयम कार्यालय कर्मचारी बताउँछन्।  

प्रकाशित: २९ असार २०७७ ११:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App