६ वैशाख २०८१ बिहीबार
समाज

बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६० पुग्यो

पहाडी जिल्लामा बाढीपहिरो र तराईमा डुबानले कम्तीमा एक सय परिवार विस्थापित भएका छन्।

नवलपरासी (सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा वर्षाको पानीले जलमग्न घरहरु। तस्बिरः सूर्यप्रकाश कँडेल/नागरिक

देशका विभिन्न ठाउँमा बाढीपहिरोमा परी थप पाँचजनाको मृत्यु भएको छ। योसँगै चार  दिनयता बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ। यो संख्या शनिबार ५५ थियो। यसैगरी बाढीपहिरोमा ४१ जना बेपत्ता छन्।  

पछिल्लो २४ घण्टामा संखुवासभा, झापा, सुनसरी, उदयपुर र जाजरकोटमा मानवीय क्षति भएको छ। पहाडी जिल्लामा बाढीपहिरो र तराईमा डुबानले कम्तीमा एक सय परिवार विस्थापित भएका छन्।  

संखुवासभामा ११ जना बेपत्ता

जिल्लाको सिलोङचोङ गाउँपालिकामा पहिरोले आठ घर बगाउँदा ११ जना बेपत्ता भएका छन्। सिसुवाखोला बेसिन्दामा शनिबार राति पहिरो गएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताए। निरन्तर वर्षा भइरहेकाले पीडितको उद्धारमा समस्या भएको बताइएको छ।  

त्यस्तै भोजपुरमा पहिरोबाट पाँच परिवार विस्थापित भएका छन्। षडानन्द नगरपालिका– ४ दिङलाबजारका ५ परिवार विस्थापित भएको इलाका प्रहरी कार्यालय दिङलाका प्रहरी निरीक्षक भास्कर खतिवडाले बताए। कोसी राजमार्गको धरान–धनकुटा खण्डको गर्जुवामा बाढीपहिरोले सडक पुरिँदा यातायात सेवा अवरुद्ध भएको छ।  

झापामा एक मृत्यु, एक बेपत्ता  

झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बाढीले बगाउँदा मृत्यु भएको छ। मलामी गएका बेला बाढीले बगाएका उनको शव बाह्रदशी गाउँपालिकास्थित बिरिड नदी किनारमा भेटिएको थियो। यस्तै भद्रपुर नगरपालिका–३ स्थित मेची खोलाको बाढीले बगाउँदा स्थानीय ३३ वर्षीय हिरण राई बेपत्ता भएका छन्। कनकाई नदीको बाढी बस्तीमा पसेपछि शिवसताक्षी नगरपालिका–६ का १५ परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय शिवगन्जमा राखिएको छ। कनकाई नदीको बाँध फुटेर बाढी बस्तीमा पसेको हो। अविरल वर्षाका कारण कनकाईमा पानीको बहाव बढेको छ। मैनाचुलीस्थित मापन केन्द्रका अनुसार कनकाई, रतुवा, बिरिड नदी छेउछाउ बस्ने मानिसलाई सुरक्षित रहन आग्रह गरिएको जिल्ला रेडक्रस सभापति लोकराज ढकालले बताए।  

उदयपुरमा खोलाले बगाएर मृत्यु

उदयपुरमा त्रियुगा नदीको बाढीले बगाउँदा त्रियुगा नगरपालिका–९ का ६० वर्षीय मानन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरीको शव शनिबार साँझ फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।  

वर्षाको पानीले सदरमुकाम गाईघाट बजार डुबानमा परेको छ। निर्माणाधीन मदन भण्डारी लोकमार्गको नाला उचाइमा बनेकाले बजारक्षेत्र होचो हुन गई डुबान भएको हो।    

 सुनसरीमा एकको मृत्यु, एक बेपत्ता  

शनिबार धरान १३ स्थित राई टोल नजिकबाट सर्दु खोलाले बगाएका ६० वर्षीय रामबहादुर बस्नेतको शव धरान ११ मा भेटिएकोे इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए। यसैगरी दाउरा निकाल्न गएका बेला सप्तकोसी नदीमा आइतबार बिहान डुबेर बराहक्षेत्रका अन्दाजी १४ वर्षर्का अनिल बस्नेत बेपत्ता भएका छन्। नदीको भंगालोमा परेपछि उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले बताए।  

सर्दु खोलाको बाढीले निर्माणाधीन धरान १६, नौलो बस्तीस्थित तारा सुब्बा स्मृति पार्कमा पनि कटान गरेको छ। धरानको निराजन बस्ती नजिकै पहिरो खस्दा एउटा टहरा पुरिएको छ। सेउती खोलाको बाढीले सुन्दरबस्ती जोखिममा परेको छ।  

जाजरकोटमा दुई शव फेला  

जाजरकोटको बारेकोट–४ सार्की टोलमा गएको पहिरोमा बेपत्ता भएका दुईजनाको शव भेटिएको छ। पहिरोमा पुरिएको अवस्थामा आइतबार कमला सार्की र लक्ष्मी सार्कीको शव भेटिएको हो। योसँगै उक्त पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ। खहरे खोलाले बगाएर बेपत्ता भएका दुईजना र पहिरोमा परेका गरी अझै चारजनाको अवस्था खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले बताए।  

मोरङमा खेत कटान र बस्ती डुबानमा

लगातारको वर्षाले मोरङका बक्राहा, चिसाङ, केसलियालगायत खोलामा आएको बाढीले धान खेत र बस्ती कटान गरेको छ। कयौं घर डुबानमा परेपछि मानिस र चौपायलाई सुरक्षित स्थानमा सार्न थालिएको प्रहरीले जनाएको छ। विराटनगर महानगरपालिका पश्चिमतर्फ रहेको केसलिया खोलामा आएको बाढी विराटनगर–६ र १२ केही घर डुबानमा परेका छन्। ६ नम्बर वडाको ब्रम्हपुराका केही घर र १२ नम्बर वडाको सिमराइ बस्तीमा बाढी पसेपछि ३० परिवार विस्थापित भएका छन्। विस्थापित ३० परिवारका करिब १ सय ५० जनालाई बखरी स्कुलमा राखिएको प्रहरीले जनाएको छ।  

कानेपोखरी गाउँपालिका–५ स्थित दुखी टोलबाट चिसाङ खोलाले कटान सुरु गरेपछि जोखिममा परेका ७ घरका ३२ जनालाई रमाइलो प्रहरी चौकीको टोलीले भन्साबारी विद्यालयमा सारेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। कानेपोखरी–२ चिसाङ बस्तीका पाण्डव ऋषिदेव र सलाङ ऋषिदेवका दुईवटा घर बगाउँदा दुई लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी राईले दिए। बक्राहा खोलाको बाढीले ११ बिघा जग्गा कटान गरिसकेको छ। कटानबाट ६४ परिवार प्रभावित भएका छन्। विपद् व्यवस्थापन समितिले जिल्लाका १५ स्थानलाई बाढीको उच्च जोखिमा राखेको छ।  

गैँडाकोटका पाँच सय घर डुबानमा  

नवलपरासी (सुस्तापूर्व) पर्ने गैंडाकोट नगरपालिकाका तीनवटा वडाका करिब पाँच सय घरमा पानी पसेको छ। वडा नम्बर १, २ र ४ का अधिकांश घर डुबानमा परेका छन्। सबैभन्दा बढी २ मिटरसम्म डुबान भएको छ।

वर्षापछि जम्मा भएको पानीले निकास नपाउँदा ४ सय ९३ घर डुबानमा परेको वडा ४ का अध्यक्ष कृष्ण न्यौपानेले जानकारी दिए। पानीको निकासका लागि आइतबार डोजर लगाएर काम सुरु गरिएको  न्यौपानेले बताए।  

मल्लेसीमा थामिएन पहिरो  

जाजरकोट जिल्लाको केदारस्यु गाउँपालिका–८ मल्लेसीमा असार १९ गते गएको पहिरो अझै रोकिएको छैन। पहिरोमा परी सातजनाको मृत्यु भएको छ भने २५ घर पुरिएका छन्। निरन्तरको पहिरोबाट गाउँले त्रसित छन्। ‘बाँकी घर पनि पहिरोको उच्च जोखिमा छन्’ स्थानीय ६७ वर्षका धनमल जेठाराले बताए।

भारतले बाँध बनाएपछि निकास बन्द

रौतहटमा दुईवटा बाँध भत्किएर दर्जन बढी गाउँ डुबानमा परेका छन्। बाँध÷बाढीको पानीले निकास नपाएपछि डुबान भएको हो। भारतीय पक्षले सिमानामा बाँध बनाएपछि नेपालतर्फबाट जाने पानीको निकास बन्द भएको छ। सदरमुकाम गौर, बन्जरहा, औरैया, लक्ष्मीपुर, वेलविछवा, ब्रहम्पुरीलगायतका बस्ती डुबानमा परेका छन्। खेतीयोग्य जमिन पनि डुबेको छ।

वाग्मती र लाल बकैया नदीको बाढीले कटान तीव्र पारेको छ। वाग्मतीको बाढीले लक्ष्मीपुर, गढो, बडहर्वा, पिपरा रजवाडा, समनपुर, धर्मपुर, ब्रह्मपुरीमा कटान गरेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए।  

उद्धार, राहत र क्षतिपूर्तिको माग

प्रदेश १ का सांसदले बाढीपहिरोपीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्। आइतबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा सांसदहरूले बाढीका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति, विस्थापितलाई राहत, बेपत्ता भएकाको खोजी प्रदेश सरकारसँग माग गरेका हुन्।  

सांसद कुलप्रसाद साम्बा, केदार कार्की, सूयार्माराज राईलगायतले बाढीपहिरो पीडितलाई राहत र क्षतिपूर्ति दिन माग गरेका हुन्। आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले अविरल बर्षाका कारण प्रदेशमा भएको क्षतिबारे प्रदेशसभामा जानकारी गराएका छन्।  

(विनोद सुवेदी, चुमन बस्नेत, रोहित राई, अमर खड्का, मालाती मोक्तान, सूर्यप्रकाश कँडेल, महेश्वर चम्लिङ राई, मदन ठाकुर, जगत खड्का, युवराज विवश, गणेश विशुको सहयोगमा)  

प्रकाशित: २९ असार २०७७ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App