७ वैशाख २०८१ शुक्रबार
समाज

पछिल्लो १० दिनमा ३७८६ जना कोरोना संक्रमित डिस्चार्ज

कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप तीनजनाको मृत्यु भएपछि यो संख्या ३८ पुगेको जानकारी शनिबार दिएका हुन् ।

प्रवक्ता गौतमका  अनुसार मृत्यु हुने तीनजनामा काठमाडौंका दुई र सिन्धुपाल्चोकका एकजना छन् । काठमाडौं महानगरपालिका–१० शंखमूलका ६० वर्षीय पुरुषको असार २६ गते शुक्रबार मृत्यु भएको थियो । फोक्सोमा पानी जमेका र मिर्गौलापीडित ती व्यक्ति असार १६ गते पाटन अस्पताल भर्ना भएका थिए । ती पुरुषको १७ गते स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको गौतमले बताए ।  

त्यस्तै कोरोना संक्रमित काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको गौतमले जानकारी दिए । मिर्गाैलाका समेत बिरामी ती पुरुषको २५ बिहीबार निधन भएको थियो । ती पुरुष असार १९ गते अस्पताल भर्ना भएका थिए । २१ गते स्वाब  संकलन गरी परीक्षण गर्दा ती व्यक्रिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।  

प्रवक्ता गौतमका अनुसार अर्का कोरोना संक्रमित सिन्धुपाल्चोक पाँचपोखरी–६ का ४५ वर्षीय पुरुषको पनि २५ गते निधन भएको हो । असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका ती व्यक्तिमा २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।  

मन्त्रालयका प्रवक्ता डा. गौतमले शनिबार ७० जना कोरोना संक्रमित थपिएका छन् भने ४ सय ३१ जना डिस्चार्ज भएका छन् । नयाँसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । त्यस्तै निको हुनेको संख्या आठ हजार चार सय ४२ पुगेको छ ।  

सिन्धुपाल्चोक र दाङमा ५/५ जना, सुनसरी, उदयपुर, स्याङजा, तनहुँ र कञ्चनपुरमा ४/४ जना, काठमाडौं, मोरङ, धादिङ, सर्लाही, बागलुङ र सुर्खेतमा ३/३ जना, झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २/२ जना, सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछामका एक/एक जना संक्रमित थपिएका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो १० दिनमा तीन हजार सात सय ८६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । सोही अवधिमा दुई हजार ६ सय ७३ जना संक्रमित थपिएका छन् भने आठजनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । मन्त्रालयकाअनुसार असार १७ गतेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ थियो भने चार हजार ६ सय ५६ जना निको भएर घर फर्केका थिए । सोही दिनसम्म कोरोनाबाट ३० जनाको मृत्यु भएको थियो ।  

असार १८ गते ४३९ जना संक्रमित थपिँदा ६६४ जना निको भएका थिए भने एकजनाको मृत्यु भएको थियो । १९ गते ७७४ जना संक्रमित थपिएका थिए भने ८२३ जना डिस्चार्ज भएका थिए । सो दिन एकजनाको मृत्यु भएको थियो । २० गते २३२ संक्रमित थपिँदा २७२ जना निको भएका थिए भने दुईजनाको मृत्यु भएको थियो । २१ गते २९३ संक्रमित थपिँदा १३२ जना निको भएका थिए । २२ गते १८० संक्रमित थपिँदा २६४ जना निको भएका थिए भने एकजनाको मृत्यु भएको थियो । २३ गते २०४ संक्रमित थपिँदा ६८८ जना निको भएका थिए । २४ गते २५५ संक्रमित थपिँदा २५३ जना निको भएका थिए । २५ गते १०८ संक्रमित थपिँदा १३९ जना निको भए भने दुईको मृत्यु भएयो । असार २६ गते ११८ संक्रमित थपिए । सोही दिन १२० जना निको भए भने एकको मृत्यु भयो ।  

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेको छ । असार लागेसँगै उपत्यकामा लकडाउन खुकुलो पारिएको छ । त्यस्तै सरकारले विदेशमा अलपत्र परेका नागरिकको उद्धार गरेर ल्याउँदा पनि उपत्यकामा संक्रमितको संख्या बढेको स्वास्थ्य सेवा विभागका इपिडियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

प्रादेशिक तथ्यांक अनुसार प्रदेश १ मा सात सय ५६ जना संक्रमित भएकोमा ५५८ जना उपचारपछि निको भएर घर फर्केका छन् । त्यस्तै प्रदेश २ मा चार हजार दुई सय ८७ जनामा संक्रमित भएकोमा दुई हजार दुई सय ९० जना उपचारपछि निको भएर घर फर्केका छन् । प्रदेश २ मा चारजनाको मृत्यु भएको छ । वाग्मती प्रदेशका सात सय ८७ जनामा संक्रमण देखिएकोमा तीन सय ३१ जना निको भएका छन् भने नौ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा एक हजार दुई सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये तीन सय ६० जना निको भएका छन् भने पाँचजनाको मृत्यु भएको छ । 

प्रदेश ५ मा संक्रमितको संख्या चार हजार ५५ जना पुगेको छ । संक्रमितमध्ये दुई हजार तीन सय ६३ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशमा एक हजार ६ सय ६९ जना संक्रमित भएका छन् । जसमध्ये एक हजार दुई सय ८० जना निको भएका छन् भने चार जनाको मृत्यु भएको छ । सुदुरपश्चिम प्रदेशमा तीन हजार नौ सय १४ जना संक्रमित भएकोमा एक हजार दुई सय ६७ जना उपचारपछि निको भएका छन् । यस प्रदेशमा ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित: २८ असार २०७७ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App