coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाँचेर घरबाट भागेका पहिरो पीडितको क्रन्दन : ‘रातभरिमा नमरे भोलि प्रशासनलाई फोन गरौँला’

जाङ्मु शेर्पा (३५), भोटेकोसी गाउँपालिका–४
बर्खामा भोटेकोसी नदी बर्सेनी बहुलाउँछ । यो साल पनि बहुलाउँन थालिसक्यो । भोटेकोसी बढेपछि तीन दिनदेखि सुतेका छैनौँ । भोटेकोसी गाउँपालिका–४ बोलेपा हाम्रो गाउँ हो । खासा (तिब्बत/चीन) नजिकैको हाम्रो गाउँमा त्यस्तै १५–१६ घरपरिवारको बसोबास छ । हाम्रो गाउँको मुखैमा भोटेकासी (जलविद्युत आयोजना) को बाँध छ । आयोजनाले शुक्रबार बिहान चार बजे बाँध खोलिदियो । ह्वात्तै आएको नदी हाम्रो बस्तीतिर सोझियो, कटान गर्न थाल्यो । तीन घर तत्कालै लच्किए ।  

चिया पनि खाएका थिएनौँ । गाउँमा भागदौड सुरु भयो । बिरामी आमा बोकर परिवारका पाँच सदस्यसहित हामी पनि भाग्यौँ । भोटेकोसी किनारमै गाउँ नजिकै केही ठूलो चौर छ । सबै भागेर आउँदा ७०–८० जना जम्मा भयौँ । यहाँ आएपछि झन् ठूलो आपत् आइ लाग्यो । सुरक्षित स्थलमा जाने बाटाघाटा नै बन्द रहेछन् । एउटा झोलुङ्गे पुल क्षतिग्रस्त छ । अर्को पक्की पुल छ तर बीचमा पहिरो खसेको रहेछ । अन्त जाने बाटो नभएपछि सबै यहीँ बसेका छौँ । बस्ति तानिरहेकाले गाउँ जाने अवस्था छैन । बिहान तानिएका तीन घर बगिसके । केही घर नदीतिर ढल्किएका छन् ।  

चौरमा पनि शान्तिले बस्न पाएका छैनौँ । माथि पहरोबाट दुई पटक चट्टाने ढुंगा खसिसक्यो । धन्न लागेन । बिहानदेखि केही खान पाएका छैनौँ । भिजेर बसिरहेका छौँ । भाग्दा ल्याएका छाता, प्लाष्टिक ओडे पनि त्यसले थेगेन । बुढाबुढी र केटाकेटीलाई जोगाउन मुश्किल परिरहेको छ । हुन त हामी पनि यसरी कति समय जोगिन सक्छौँ थाहा छैन ! भोटेकोसी कटान र बाढी पहिरोको घेराबन्दीमा छौँ । प्रहरी प्रशासन, गाउँपालिकाका मान्छे कोही आएका छैनन् । उनीहरु पारि सडक (अरनिको राजमार्ग)मा देखा पर्छन् कि भनेर बाटो हेर्‍यौँ । अहिलेसम्म आएका छैनन् । घर पनि छैन । रात पर्न लाग्यो, अब कहाँ जाने ? के खाने ? यसरी कतिञ्जेल बाँचिएला र ? आज राति मरिएन भने भोली प्रशासनलाई फोन गरौँला !  

(बस्ती भोटेकोसीले तानेपछि बाँच्ने धुनमा गाउँलेसँगै बिस्थापित भएर खुलाचौरमा बसिरहेकी भोटेकोसी–५ की ३७ वर्षीया जाङ्मु शेर्पासँग टेलिफोनमा गरिएको कुराकानीमा आधारित ।)

प्रकाशित: २६ असार २०७७ १०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App