७ वैशाख २०८१ शुक्रबार
समाज

धरानमा वीपी कोइरालाको पुर्णकदको सालिक

धरान २० मा पर्ने निर्माणाधिन वीपी स्मृति पार्कमा राखिएको वीपी कोइरालाको सालिक । तस्बिर : रोहित राई

आन्तरिक पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको धरान २० स्थित वीपी स्मृति पार्कमा नेता वीपी कोइरालाको सालिक राखिएको छ ।

वडा नं १३ र २० को सिमाना पर्ने सर्दु खोला किनारमा निर्माणाधिन पार्कमा नेता कोइरालाको पुर्णकदको सालिक राखिएको हो । यो सालिक परिवर्तनशिल समाज नेपालले एक समिति बनाएर निर्माण गराएको हो । धरानका कलाकार महेन्द्र राई र धिरज राईले निर्माण गरेको सालिक पार्क क्षेत्रमा राखिए पनि अनावरण गर्न भने बाँकी नै छ । कलाकार राईका अनुसार सालिक ६ फिट ६ इन्च उचाईको रहेको छ । ‘फाइवरको प्रतिमा बनेको हो, करिब तीन साता समय लगाएर निर्माण सम्पन्न भएको हो,’कलाकार महेन्द्र राईले भने,‘औपचारिकरुपमा अनावरण गर्न बाँकी छ ।’

परिवर्तनशिल समाजका अध्यक्ष विश्वराज भण्डारीका अनुसार आगामी भदौ २४ गते वीपी जयन्तीको अवसरमा सालिक अनावरण गरिनेछ । नेता कोइरालाको पुर्णकदको सालिक पुर्वमा कही नभएको उनले बताए । ‘वीपी कोइरालाको पुर्णकदको सालिक राखिएको छ, अनावरण भने भदौ २४ गते जन्मजयन्तीको दिन गछौं,’उनले भने ।

वीपी कोइरालाको जन्म वि.स.१९७१ भदौ २४ गते भएको थियो । उनको निधन भने २०४९ साउन ६ गते भएको हो । भदौ २४ गते नेता कोइरालाको जन्मजयन्ती र साउन ६ गते स्मृति दिवस मनाइन्छ । पार्क निर्माण भइरहेको क्षेत्र वीपी स्मृति पार्क मात्र होइन, ओशो आश्रम, जैविक विधिता पार्क, रक गार्डेन, फ्लावर ब्रिजलगायत संरचनाहरूले पनि चर्चित छ ।  

सर्दु किनारमा किन बन्यो वीपी स्मृति पार्क ?

निर्माणाधिन वीपी स्मृति पार्क क्षेत्रलाई फुस्रे पनि भनिन्छ । यो ठाउँ धरानको ऐतिहासिक थलो हो । कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड सञ्चालनमा आउनुअघि फुस्रे हुँदै कोशी तथा मेची पहाडी जिल्लामा मानिसहरू ओहोर दोहोर गर्थे ।

वीपी कोइराला र फुस्रेको पनि सम्बन्ध छ । परिवर्तनशिल समाजका अध्यक्ष भण्डारीका अनुसार तत्कालिन जहानियाँ राणाकालमा २००६ सालमा विराटनगरको रघुपति जुटमिलमा मजदुर आन्दोलन हुँदा कोइराला पक्राउ परेका थिए । उनलाई काठमाडौं उपत्यकामा जेल हाल्न लैजादा धरानको फुस्रे हुँदै पैदल हिडाएर लगिएको थियो । ‘यो बाटोबाट नै वीपी कोइरालालाई पैदल हिडाएर धनकुटा, भोजपुर, दिक्तेल हुदै काठमाण्डौं लगेर जेलमा राखिएको थियो । यो बाटो ऐतिहासिक पनि हो,’भण्डारीले भने,‘उहाँलाई एक रात फुस्रेको गोदाम घरमा पनि राखिएको थियो । त्यो ठाउँमा अहिले त आधुनिक घर बनिसकेको छ ।’ भण्डारीका अनुसार ऐतिहासिक ठाउँलाई पर्यटन क्षेत्रको हब बनाउने उद्देश्यले पनि वीपी स्मृति पार्क निर्माण भइरहेको हो ।

प्रकाशित: २४ असार २०७७ १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App