७ वैशाख २०८१ शुक्रबार
समाज

शुद्ध खानेपानी पिउने पोखरेलीको पर्खाइ बढ्ने

पोखरा खानेपानी सुधार आयोजना अन्तर्गत मर्दीखोला मुहान क्षेत्रमा निर्माणाधीन फिल्ट्रेसन प्लान्ट र सेडिमेन्टेसन ट्याङ्की । तस्बिर : उमेश/नागरिक

शुद्ध खानेपानीको पर्खाइमा रहेका पोखरेलीको पर्खाइ बढ्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण जापानी संस्था जाइकाको अनुदानमा निर्माण भइरहेको ‘पोखरा खानेपानी सुधार आयोजना’को काम समयमै नसकिने भएपछि शुद्ध खानेपानीको पर्खाइमा रहेका पोखरेली जनताको पर्खाइ बढ्ने पक्का भएको हो ।  

आयोजनाको काम समयमै सकिने हो भने पोखरेलीले २०७९ मंसीरसम्ममा शुद्ध पिउने पानी प्राप्त गर्ने थिए । तर लकडाउनका कारण आयोजनाको काम रोकिदा थप १ वर्ष आयोजना निर्माणको काम लम्बिने सम्भावना रहेको खानेपानी संस्थान पोखरा कार्यालयका प्रमुख आशिष कार्कीले बताए । आयोजना निर्माणमा ढिलाई भएसँगै पोखरेलीको शुद्ध खानेपानी पिउने पर्खाइ पनि १ वर्ष लम्बिने उनको भनाई छ । आयोजनाको काम लगभग ४ महिना रोकिने भयो,‘उनले भने,‘यो ४ महिनाले निर्माण सम्पन्न गर्ने समय १ वर्ष पर धकेलिने पक्का छ ।’

२०७६ साल जेठ ३० गते शिलान्यास भएको ‘पोखरा खानेपानी सुधार आयोजना’ समयमै सकिने हो भने पोखरेलीले २०७९ साल पुसदेखि शुद्ध खानेपानी पिउन पाउने थिए । तर १ वर्ष धकेलिदा २०८० साल पुस महिनासम्म पर्खनु पर्नेछ । आयोजनाको काम हाल २२ प्रतिशत मात्र सम्पन्न भएको छ । लकडाउन सुरु हुनुअघिसम्म लक्ष्य भन्दा डेढ प्रतिशत बढी काम हुँदै आएको थियो । तर करिब महिनादेखि काम ठप्प हुँदा त्यसको असर निर्माणमा देखिने भएको हो । ‘जुन स्पिड र स्प्रिटमा काम भइरहेको थियो नि, त्यो स्पिड र स्प्रिट समात्न अब धेरै समय लाग्छ, त्यसको प्रत्यक्ष असर काममा देखिन्छ’, उनले भने ।

कोरोनाका कारण लगाइएको लकडाउनका कारण साढे ३ महिनादेखि आयोजनाको काम ठप्प छ । लकडाउन सुरु हुनु १÷२ दिनअघि गाउँ फर्केका मजदुरहरु काममा नफर्केपछि आयोजनाको काम रोकिएको प्रमुख कार्कीले बताए । आयोजनामा करिब ६ सय जना कामदार रहेका छन् । जसमध्ये मजदुर ५ सय जना छन् भने परामर्शदाता ५० जना, कन्ट्रयाक्टर प्रोजेक्ट म्यानेजर, ईञ्जिनियर, सुपरभाइजर लगायत २२÷२५ जना र जापनिज कन्सल्टेन्ट रहेका छन् । जापनिजहरु नफर्किदा पनि कामअघि बढाउन समस्या परेको उनले बताए ।  

सुुरुमा आयोजनाको काम बन्द गरिहालियो,‘उनले भने,‘३५/३६ जिल्लाका कामदार भएकाले अहिले कामदार फर्काउन गाह्रो भो, यसको प्रभाव निर्माणमा पर्‍यो ।’ कामदार पहिल्यै फर्काएर काम सुरु गर्ने प्रयास गरेपनि प्रमुख जिल्ला अधिकारीले कोरोनाको जोखिम हुने भन्दै यसको जिम्मेवारी कसले लिन्छ ? भन्ने प्रश्न गरेपछि चुप लागेर बसेको उनले बताए । यद्वपी अहिले आएर कामदार फर्काउने प्रयास भइरहेको कार्कीले बताए । कामदार फर्काउने निर्णय अबको १/२ दिनमै हुँदैछ,‘उनले भने,‘वडाको सिफारिस ल्याइसकेका छौं, स्थानीयको पनि साथ र समर्थन छ, त्यसैले हामी चाँडै कामदार फर्काउँछौं ।’ आयोजना स्थलमा काम गर्ने मजदुर ल्याउन समस्या नभएपनि पोखराका विभिन्न वडामा पाइप बिछ्याउनका लागि चाहिने कामदार फर्काउनलाई समस्या देखिएको उनको भनाई छ । पोखराका मुख्य सहरी क्षेत्रका सडकमा पाइप बिछ्याउन आएका मजदुरबाट कोरोना सर्ने सम्भावना भएकाले पनि मजदुर फर्काउन समस्या परेको उनले बताए ।

समस्याका बावजुद ६०÷६२ जना मजदुर फर्काएर काम थाल्ने योजना रहेको कार्कीले बताए । सुरुमा आयोजना स्थलमा निर्माण भइरहेको ग्रिड च्याम्बर र सेडिमेन्टेसनमा काम गर्ने मजदुर ल्याउने तयारी गरिएको उनले जानकारी दिए । अहिले कामको शुरुवात गर्ने प्रयासमा छौं,उनले भने,‘फूल फ्लेजमा काम हुनलाई १ महिना लाग्छ ।’

आयोजनाको हालसम्म २२ प्रतिशत काम सम्पन्न भएको आयोजनाका साइड ईञ्जिनियर सन्तोषकुमार दासले जानकारी दिए । उनका अनुसार माछा, ढुंगा, गिटी तथा खस्रा बालुवा छान्नका लागि मर्दी मुहानमा बनाइने ४.१ करोड लिटरका ४ वटा ग्रिड च्याम्बर, बालुवा हटाउने ट्याङ्की ४.१ करोड लिटरका २ वटा सेडिमेन्टेसन ट्याङ्की निर्माणको काम करीब १० प्रतिशत सकिएको छ । पानी प्रशोधनका लागि हेमजा उत्तरतर्फ रहेको याम्दी खोलापारि पोखरा महानगरपालिका वडा नम्बर २५ मा निर्माण गरिदै गरेको सफा पानी ट्याङ्की (३) घन मिटरका २ वटा, पानी छान्ने फिल्टर ४.१ करोड लिटरका ६ वटा र फिल्ट्रेसन प्लान्टको काम करीब ७० प्रतिशत सम्पन्न भएको छ । पानी वितरणका लागि २०/२० लाख लिटरको ३ ठाउँमा निर्माणाधीन पानी ट्याङ्की मध्ये पोखरा फूलबारीको ८० प्रतिशत, प्रस्याङको ५ प्रतिशत र कोलपाटनको ओभरहेड पानी ट्याङ्की निर्माणको १५ प्रतिशत सकिएको उनले जानकारी दिए ।

त्यस्तै पानी वितरणका लागि सडकमा पाइप बिस्तारको काम करीब १५ प्रतिशत सकिएको छ । १ सय किलोमिटर खानेपानी पाइप बिस्तार गर्नुपर्नेमा हालसम्म १५ किलोमिटरमा पाइप बिस्तार गरिसकिएको उनले जानकारी दिए ।

पोखरा खानेपानी सुधार आयोजना अर्को मेलम्ची हुने हो कि भन्ने पोखरेलीले चिन्ता व्यक्त गर्दै आएका छन् । तर आयोजना उपप्रमुख तथा खानेपानी कार्यालय पोखराका प्रमुख आशिष कार्की पोखरा खानेपानी सुधार आयोजना अर्को मेलम्ची नहुने दाबी गरे । आयोजनाप्रति जनताको साथ र अहिलेसम्मको कामको रफ्तार अर्को मेलम्ची नबन्ने प्रमाण भएको उनको जिकिर छ । साथै जाइकाले अहिलेसम्म बनाएको रेपुटेसन बिग्रन नदिनपनि आयोजना सकभर समयमै नभए १ वर्ष ढिलाई गरेर भएपनि सम्पन्न गर्ने उनले बताए ।

आयोजना निर्माण भएमा पोखरेलीले सिधै धाराबाट पिउन मिल्ने पानी प्राप्त गर्नेछन् । धमिलो पानीलाई संग्ल्याउने र कोलिफार्मदेखि अन्य सबै जिवाणु निर्मलीकरण गरेर धारामा पठाइने भएकाले सिधै धाराबाट पिउन मिल्ने पोखरा खानेपानी कार्यालयको दाबी छ । जापान इन्टरनेसनल को–अपरेसन एजेन्सी (जाइका)को ४ अर्ब ८१ करोड ३० लाख जापानी यानको लागतमा पोखरा खानेपानी सुधार आयोजना निर्माण भइरहेको हो । यो मेलम्ची खानेपानी आयोजना पछिको नेपालकै दोश्रो ठूलो खानेपानी आयोजना मानिन्छ । पोखरा खानेपानी आयोजना निर्माणको जिम्मा जापानको हाज्मा एन्दो कर्पोरेसनले लिएको छ ।

आयोजना सम्पन्न भएमा पोखराका वडा नम्बर १ देखि १९ वडासम्मका पोखराबासी लाभान्वित हुनेछन् भने त्यसपछि नियमित रुपमा सातै दिन चौविसै घण्टा पानी आउने दाबी गरिएको छ । पोखरामा हाल बर्खामा दैनिक ४ करोड ८० लिटर र हिउँदमा ४ करोड ५० लाख लिटर पानी खपत हुने गरेको छ ।

 

 

 

 

प्रकाशित: २४ असार २०७७ १०:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App