८ वैशाख २०८१ शनिबार
समाज

कोरोना नियन्त्रण जिल्ला समिति भन्छ : मन्त्रालयले ढाँट्यो, मन्त्रालय भन्छ : ७७ जिल्लै संक्रमित

कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले आईतवार बिहानै एक बिज्ञप्तीमार्फत ‘ताप्लेजुङमा अहिले सम्म कोरोना संक्रमित फेला नपरेको भन्दै कोरोना संक्रमण नभएको जिल्लाको रुपमा रहन पाएकोमा खुसी छौं’ भनेको छ । उसले बिज्ञप्तीमार्फत नै कोरोना संक्रमण फैलन नदिन र कोरोना संक्रमण रहित जिल्लाको रुपमा ताप्लेजुङलाई कायम राख्न आग्रह समेत गर्‍यो । 

कोरोना संक्रमित जिल्लाको रुपमा ताप्लेजुङलाई पनि दर्ज गरेकोमा स्वास्थ्य मन्त्रालय प्रति आपत्ति उठाउँदै कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समिति मन्त्रालयले पटक–पटक तथ्याङ्कीय कमजोरी गरेको भन्दै यसलाई तत्काल सच्याउन समेत माग गरेको छ । 

उता स्वास्थ्य मन्त्रालयले भने रसुवा सहित देशभरका सबै जिल्लालाई कोरोना संक्रमित जिल्लाको सूचीमा राखेको छ । यति मात्र होईन मन्त्रालयको वेभसाईटमा ताप्लेजुङका ४ जना कोरोना संक्रमित फेला परेको भनेर गलत तथ्याङ्क दिएको प्रति समेत बिज्ञप्तीमा आपत्ति प्रकट गरिएको छ । 

कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले मन्त्रालयले पटक–पटक गर्दै आएको तथ्याङ्कीय त्रुटी यसपटक नकारात्मक तवरले छताछुल्ल भएको बताए । अहिले सम्म ताप्लेजुङमा कोरोना संक्रमित फेला नपरेको भन्दै उनले मन्त्रालयले जे भने पनि ताप्लेजुङ आईतवार बिहान सम्म कोरोना संक्रमणरहित जिल्लाको रुपमा रहेको बताए । तथ्याङ्कीय त्रुटीमा पटक–पटक चुक्दै आएको मन्त्रालयले बास्तविकता छलेर ताप्लेजुङलाई पनि कोरोना संक्रमित जिल्लाको सूचीमा राखेको देख्दा अचम्म मान्नु शिवाय अरु केहि नरहेको उनको तर्क थियो । 

उनका अनुसार ताप्लेजुङका नागरिक झापा र सुनसरीमा रहेका क्वारेन्टिनमा रहेका बखत भएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमित फेला परेका हुन्,तर ताप्लेजुङमा संक्रमण फेला परेको छैन ।‘ताप्लेजुङका भन्नु र ताप्लेजुङमा भन्नुमा आकाश–पातलको फरक छ’मादेनले भने । नागरिक जुनसुकै जिल्लाको भएपनि जुन जिल्लामा संक्रमण फेला परेको हो,त्यो जिल्ला मात्र संक्रमित जिल्लाको सूचीमा रहनुपर्नेमा स्वास्थ्य मन्त्रालयले गरेको तथ्याङ्कीय त्रुटीले आम मानिसमा त्रास र चिन्ता बढाएको भन्दै कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले बिज्ञप्तीमार्फत तथ्याङ्कीय त्रुटी तत्काल सच्याउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गरेको छ । 

यसअघि देखि नै मन्त्रालयको यो कार्यको निन्दा गर्दै आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले अहिले भने बिज्ञप्तीमार्फत नै मन्त्रालयलाई तथ्याङ्कीय त्रुटी सच्याउन चुनौती दिएको छ । मन्त्रालयले कुल संक्रमितको संख्या र जिल्लागत विवरणको कुल संख्या नै फरक ढंगले प्रस्तुत गर्नुले उससँग एकिन तथ्यांक नभएको स्पष्ट हुने बिज्ञप्तीमा भनिएको छ । मन्त्रालयले उपलब्ध गराएको विवरण नै फरक पर्दा जनमानसमा संक्रमितको एकीन तथ्यांक कति हो भन्ने दुविधा खडा भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोेखरेलका अनुसार आईतवार सम्ममा यहाँ १ सय ५२ जनाको पीसीआर र ६ सय ८४ जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको छ । आरडीटी गरिएका ६ सय ८४ मध्ये २ जनाको रिर्पोट पोजेटिभ आएपनि पछि पीसीआर परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएकोले ताप्लेजुङमा अहिले सम्म कोरोना संक्रमण फेला नपरेको ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिए । 

प्रकाशित: १४ असार २०७७ १५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App