१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखरा बहुमुखि क्याम्पसको भवन बनाउन अध्यक्षको ५० लाख सहयोग

पोखरा बहुमुखि क्याम्पसको बुधबार भवन शिलान्यास कार्यक्रम । तस्बिरः सन्तोष/नागरिक

पोखरा बहुमुखि क्याम्पसको नयाँ भवन बनाउन क्याम्पस संचालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले ५० लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । बुधबार क्याम्पसको नयाँ भवन शिलान्यास कार्यक्रममा अध्यक्ष लालचनले सहयोग घोषणा गरेका हुन् ।  

पोखराको सबैभन्दा पुरानो सामुदायिक क्याम्पस पोखरा बहुमुखिले पोखरा महानगरपालिका–९ नयाँबजारमा नयाँ भवन बनाउन थालेको छ । पोखरा उपत्यका नगर विकास मातहतको चाररोपनी जग्गा क्याम्पसलाई उपलब्ध गराइएको छ । त्यही जग्गामा नयाँ भवन बनाउने तयारी अनुसार बुधबार महानगरका मेयर मानबहादुर जिसीले शिलान्यास गरेका हुन् । भवन शिलान्यास कार्यक्रममा अध्यक्ष लालचनले क्याम्पसलाई दिगो बनाएरै छाड्ने आफ्नो सपना रहेको बताए । ‘मेरो सपना नै क्याम्पसलाई बलियो आड दिने रहेको छ । त्यसका लागि ५० लाख रुपैयाँ दिँदैछु,’ उनले भने ।  

६ करोड ५० लाख रुपैयाँको लागतमा क्याम्पसले ३६ कोठाको भवन बनाउँदैछ । क्याम्पस भवन बनाउनका लागि अरु आर्थिक सहयोग महानगरपालिका, महानगरका विभिन्न वडा, त्यस क्षेत्रका व्यावसायी, राजनीतिज्ञ लगायतसँग सहयोग मागिने अध्यक्ष लालचनले बताए । ‘म यो क्याम्पसको गोठालो बन्छु भनेर नै व्यवस्थापन समितिमा आएको हुँ । त्यसैले भवन बनाउन पैसा पुगेन भने मागेर भएपनि काम फत्ते गर्नेछु,’ लालचनले भने, ‘शिक्षाका लागि लगानी गर्न पाउँदा म पनि खुसी छु ।’

महानगरका मेयर जिसीका अनुसार क्याम्पसलाई जग्गा उपलब्ध गराउन सहरी विकास मन्त्रालयबाट समेत स्वीकृति आएको छ । जग्गा अभावमा लखेटिएको क्यापसलाई भौतिक पूर्वाधारले बलियो बनाउनका लागि जग्गा उपलब्ध गराएको मेयर जिसीले बताए । ‘सहरको केन्द्रमा क्याम्पस बनाउन थालिएकोले पनि सबैको सहयोग हुनेछ,’ उनले भने, ‘एउटा सामुदायिक क्याम्पसलाई बलियो पुर्वाधार बनाइदिनु सबैका लागि खुसीको कुरा हो ।’ अहिले क्याम्पसलाई दिइएको जग्गा प्रयाप्त नभएपनि यही जग्गाबाट कामचलाउ गर्नुपर्ने उनले बताए । पोखराको बगरमा २०४४ सालमा स्थापित यो क्याम्पस हाल नयाँबजारको महेन्द्र माविको भवनमा संचालित छ । ‘सबैभन्दा पुरानो क्याम्पस भएर पनि ठाउँठाउँबाट लखेटियो, अब स्थायि हुनेछ,’ उनले भने, ‘शैक्षिक हव बनाउन यसले सघाउनेछ ।’

क्याम्पस प्रमुख शिशुकला पराजुलीका अनुसार एकवर्षभित्र भवन तयार हुनेछ । पोखराकै पुरानो सामुदायिक क्याम्पसले बल्ल स्थायित्व पाउन थालेको उनले बताईन । नयाँ भवन बनेपछि नयाँनयाँ विषयमा अध्यापन गराउन सकिने उनले बताईन । पराजुलीका अनुसार क्याम्पसमा हाल मानविकी र व्यवस्थापन संकायमा चारवर्षे बिए र बिबिएस अध्यापन हुन्छ । क्याम्पसमा चारसय बढी विद्यार्थी छन् । सबैतिरबाट सहयोग जुटाएर क्याम्पस भवन तयार पार्ने उनले बताए । भवन बनाउन अरु दाताहरुले पनि सहयोग घोषणा गरिसकेका छन् । 

प्रकाशित: १० असार २०७७ ०७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App