२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सेल्फ क्वारेन्टिनमा बसी सेवा गरे युवा समूहले

धनगढीका युवाहरूको एक समूहले कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार सीमानाका हुँदै भित्रिएका नेपालीलाई एक महिनासम्म निःशुल्क खाना तथा पानी वितरण गरी सहयोग गरेको छ।  

रोयल कोलाबोरेटिभ्स प्रालिका पाँच जनाको युवा समूहले गत जेठ ९ देखि यही असार ६ गतेसम्म लगातार भारतबाट आएका नेपाली नागरिकलाई सीमानाका नजिकै डोकेबजार क्षेत्रमा निःशुल्क खाना तथा पानीको स्टल निर्माण गरी सहयोग गरेको कोलाबोरेटिभ्स प्रालिका अध्यक्ष गजेन्द्र शाहीले जानकारी दिए।

अध्यक्ष शाहीले कोरोनाका कारण रोजगार गुमाई भारतबाट आएका नेपालीलाई ६५ हजार ६०३ प्लेट खाना खुवाइएको बताए। उनले भने, घर नगएको महिना दिन बढी भइसक्यो, परिवारका सदस्यलाई जोखिममा पर्न नदिन धनगढी–४ उत्तरबेहडीस्थित एक छुट्टै कोठा भाडामा लिई सेल्फ क्वारेन्टिनमा बसेर सहयोग गरेका हौँ।

विभिन्न गैरसरकारी सङ्घसंस्था, स्थानीय व्यापारी, दिदीबहिनी महिला समूह युके, विदेशमा बसोबास गर्दै आएका नेपालीलगायतको प्राप्त सहयोगबाट खाना तथा पानीको व्यवस्थापन गरिएको बताइएको छ। जनस्तरबाट स्वःस्फुर्तरुपमा इच्छुक व्यक्तिबाट नगद नलिई आवश्यकीय खाद्य सामग्री सङ्कलन गरी नेपालीलाई खाना र पानी खुवाउने कार्यक्रम गरिएको हो।

कोरोना सन्त्रासका कारण भारतबाट आएका नेपाली यात्रुलाई हेलाको दृष्टिकोणले हेरिने तथा उनीहरुलाई लामो दूरीको गन्तव्य स्थानसम्म पुग्न समस्या हुने भएकाले बसमा प्याकिङ खानाको समेत व्यवस्था गरिएको प्रालिका संस्थापक सदस्य देवेन्द्र जोशीको भनाइ छ। सदस्य जोशीले भने, खानपिनका साथै बिचल्लीमा परेकालाई उनीहरुका घरपरिवार, आफन्त र स्थाीनय जनप्रतिनिधिसँग पनि सम्पर्कका निम्ति निःशुल्क आपत्कालीन फोन सेवा उपलब्ध गराएका थियौँ।

कोरोनाका कारण भारतको हल्दानीबाट भोकप्यास र थकानको यात्राबाट आइपुगेका धनगढी उपमहानगरपालिका–२ का हरि नेपालीले युवा समूहले नेपाली दाजुभाइलाई बिना स्वार्थ निःशुल्क खाना खुवाइरहेको देख्दा आफ्नो देश, गाउँघर र दाजुभाइ भएको अनुभूति गर्न पाएको भावना व्यक्त गरे।

प्रकाशित: ८ असार २०७७ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App