ताप्लेजुङस्थित सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वार्टर कञ्चनजंघाले बिल नभएको करिब २ सय ५० किलो माछा जफत गरी नष्ट गरेको जनाएको छ ।
चेकजाँचका क्रममा ताप्लेजुङ भित्रने गरी अनुमतिप्राप्त कुनै बिल र प्रमाण नभएको पंगास प्रजातिको माछा जफत गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वार्टर कञ्चनजंघा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकले जानकारी दिए ।
उनका अनुसार बिल नभएको माछा जफत गरी स्थानीय जनप्रतिनिधि,नेपाल प्रहरी,भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा खाल्डोमा पुरी नष्ट गरिएको छ । सशस्त्र प्रहरीले जफत गरिएको माछा खाल्डोमा खन्याई फिनेल, पेट्रोल, गोबर, नुन र फोहोरजन्य सामग्री समेत लगाएर पुरेको छ ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्राविधिक अमितकुमार माझीका अनुसार माछा ढुवानीका लागि सम्बन्धित माछा फर्म वा सप्लायर्सबाट कुन ठाउँदेखि कुन ठाउँसम्म माछा पुग्ने भन्ने पूर्ण विवरण खुलेको बिल जारी भएको हुनु अनिवार्य छ ।
यो सहित जुन जिल्लादेखि माछा ढुवानीका लागि उठाइएको हो,त्यो जिल्लाको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पनि अनुमति प्रदान भएको कागज हुनुपर्छ । विदेशबाट माछा आयात भएको भए क्वारेन टाइन स्वास्थ्य प्रमाणपत्र जारी भएको कागजात समेत हुनुपर्ने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वार्टर कञ्चनजंघा गुल्मपति पाठकले माछा ढुवानीका लागि संलग्न हुनुपर्ने न्यूनतम कागजात समेत नदेखिएकोले माछा जफत गरी नष्ट गरिएको जानकारी दिए ।
प्रकाशित: २३ भाद्र २०८२ १४:०५ सोमबार





