७ वैशाख २०८१ शुक्रबार
समाज

राप्तीको बाढी खतराको चिन्हभन्दा माथि पुगेपछि स्थानीयलाई अलर्ट गराइयो

राप्ती नदीमा शनिबार आएको बाढी । तस्बिर : कृष्ण चौधरी

अविरल बर्षाका कारण राप्ती नदीमा बाढी आएको छ । राप्ती नदीको कुुसुमस्थित बाढी मापन केन्द्रमा गरिएको मापन अनुसार नदीको सतह खतराको चिन्ह भन्दा माथि पुगेको छ । 

ईलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक(सई) लक्ष्मण डाँगीका अनुसार शनिबार बेलुकी ५ बजे गरिएको मापन अनुसार नदीको सतह ५ मिटर ५० सेन्टिमिटर माथि पुगेको छ । ‘पहाड तिर अत्यधिक बर्षा भएका कारण राप्तीमा बाढी आएको हो, नदीमा पानीको सतह अझै बढिरहेको छ,’ उनले भने ।  

कुसुममा नदीको सतह ५ मिटर ४० सेन्टिमिटर पुग्ने बितिकै राप्ती नदीको तल्लो तटिय क्षेत्र बैजापुर, बिनौना, कचनापुर, फत्तेपुर, होलिया, कम्दी, बेतहनी लगायत गाउँमा बाढी पस्ने खतरा हुन्छ । कुसुममा मापन गरिएको बाढी तल्लो तटिय क्षेत्रमा पुग्न करिव ४ देखी ५ घण्टा जति समय लाग्ने भएकाले स्थानीय प्रशासनले बाढी पूर्वसूचना प्रणालीमार्फत सर्बसाधारणलाई अर्लट गराउँदै आएको छ । स्थानीय प्रशासनले शनिबार राप्तीको तल्लो तटिय क्षेत्रका स्थानीयलाई अर्लट गराएको छ । विभिन्न स्थानमा साइरन बजाएर अलर्ट गराइएको हो ।  

राप्ती नदीमा आएको बाढी यसवर्षकै ठूलो रहेको र तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दालाई अलर्ट रहन आग्रह गरिएको स्थानीय प्रशासनले जनाएको छ । राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवम् स्थानीय विपद ब्यवस्थापन समितिका अध्यक्ष लाहुराम थारुले नदीमा ठूलो बाढी आएकाले सतर्क रहन राप्ती आसपासका बासिन्दालाई अनुरोध गरे । ‘नदीमा ठूलै बाढी आएको छ, खतराको चिन्ह भन्दापनि माथि पुगेको हुँदा सतर्क रहन मेरो विशेष आग्रह छ,’ उनले भने । हरेक वर्ष राप्ती नदी र विभिन्न खोला नालामा आउने बाढीले राप्ती सोनारीसहित डुडुवा र नरैनापुर गाउँपालिकाका विभिन्न गाउँहरु डुबानमा पर्छन् । बाढीले हरेक वर्ष धनजनको क्षति गर्दै आएको छ ।  

 

 

 

प्रकाशित: ६ असार २०७७ १३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App