३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

शिक्षण छाडेर कागती खेती

पूर्वी चितवनका एक शिक्षक शिक्षण पेसा छाडेर कागती खेतीमा लाग्दा मुनाफा लिन सफल भएका छन् । कालिका नगरपालिका–६ जमुनापुरका सिपी अधिकारीले निजी बोर्डिङ र क्याम्पस पढाउन छाडेर पेसागत रूपमा कागती खेती सुरु गरेका छन् । अधिकारीले आफ्नो एक बिघा र भाडाको एक बिघा १० कट्ठामा कागती खेती गरेका छन् । पाँच वर्षअघि खेती सुरु गरेका उनले दोस्रो वर्ष भाडामा जग्गा लिएर खेती विस्तार गरेका थिए ।      

अधिकारीका अनुसार पहिलो वर्ष ३५० बिरुवा र दोस्रो वर्ष ६५० बिरुवा रोपिएको थियो । तेस्रो वर्षबाट उत्पादन सुरु भएको हो । अधिकारीले कागती लगाएको तेस्रो वर्ष तीन लाख र चौथो वर्ष  आठ लाख आम्दानी गरेका छन् । यस वर्ष  १० लाखको कागती बिक्री गर्ने उनको लक्ष्य छ । असार १५ देखि चैतसम्म उनी कागती बिक्री गर्छन् । यस वर्ष पाँच बिघा थप गर्ने लक्ष्य रहेको भए पनि बन्दाबन्दीका कारण सम्भव नभएको उनले बताए ।

 आगामी वर्ष उनी खेती विस्तार  गर्ने तयारीमा छन् । वर्षमा  एक लाख ५० हजारदेखि दुई लाखसम्म खर्च हुने भए पनि आम्दानी राम्रो हुने गरेको उनको भनाइ छ । कागती लगाउँदा प्रतिबिरुवा  १८५ मा खरिद गरेपछि पछिल्ला वर्षमा गोडमेल र औषधि उपचारमा मात्र खर्च हुन्छ ।         

भाडाको जग्गाको वार्षिक प्रतिकठ्ठा  तीन हजार तिर्नुपर्ने हुन्छ । विज्ञानमा स्नातक गरेका अधिकारीका लागि पढाउन धेरै ठाउँबाट बोलाइयो । त्यसो त ट्युसन, कोचिङमा पनि राम्रो आम्दानी हुन्थ्यो तर उनी ती सबै छाडेर सुरुमा बाख्रापालनमा लागेका थिए । पछि उनी कागती खेतीतर्फ आकर्षित भएका हुन् । १७ वर्ष शिक्षण पेसाको अनुभव सँगालेका उनी यतिबेला कागतीको अध्ययन–अनुसन्धानमा पनि व्यस्त छन् ।         

भारतीय कागती नेपाली बजारभरि हुने तर हामी बाँझो खेत र खाली हात बसिरहेको भन्दै उनले मेहेनत गर्दा यहीँ मनग्य आम्दानी हुने बताए । चितवनको बजारमा मात्र एक सातामा २० टन भारतीय कागती बिक्री हुने उनको भनाइ छ । कालिका नगरपाकिलामा १० जनाले व्यावसायिक कागती खेती गरेका छन् । जिल्लामा यो सङ्ख्या ५०को हाराहारीमा  छ । यहाँ १०० बिघामा कागती खेती भएको अनुमान छ ।         

प्रतिकिलो र १०० देखि २०० सम्ममा कागती बिक्री हुने गर्दछ । भारतीय कागतीको प्रभाव, यहाँका किसानले अनुदान नपाउनु, प्राविधिक सहयोग नहुनुजस्ता कारण काममा कठिनाइ हुने गरेको अधिकारीले बताए । उनले भने, ‘स्वदेशमै बसेर मेहेनत गर्न सकेमा सफलता मिल्छ ।’ आफूले पाँच वर्षमा सिकेको ज्ञान बाँड्न तयार रहेको भन्दै उनले कागती खेती गर्नेहरुलाई सहयोग गर्न इच्छुक रहेको बताए ।

प्रकाशित: ३ असार २०७७ ०७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App