दुई दिनअघि सुनसरी इनरुवा नगरपालिकाको दमकल बिग्रिएकाले गर्दा स्थानीय ठाउँमा भएको आगलागी नियन्त्रण बाहिर गएको जनाउँदै दमकल मर्मत गर्न महिलाहरुले भिक्षादान माग गर्न थालेका छन् । दमकल मर्मत गर्न र नयाँ खरिद गर्न भन्दै महिलाहरुले भिक्षादान सुरु गरेका हुन् ।
मंगलबार महिलाको समूहले इनरुवा वडा नंं १ को शान्ति चौकबाट प्रति व्यक्ति वा परिवारसँग पाँच रुपैयाँ साकेंतिक सहयोग स्वरुप भिक्षादान माग गरेको महिला अगुवा कानुन अधिकारीले बताइन् । उनका अनुसार दमकल दुरुस्त राख्न वा नयाँ खरीद गर्न दबाबका लागि भिक्षादान गरेर केही रकम नगरपालिकालाई दिइएको छ ।
नगरभरी संकलन गरेको दुई कार्टुन रकम जस्ताको तस्तै इनरुवा नगरप्रमुख राजन मेहता र कार्यपालिकालाई बुझाएको जानकारी दिइयो ।
आइतबार बिहान भीषण आगलागी हुँदा इनरुवा वडा नं. १ को हनुमान बस्त्रालयसहित अन्य चारवटा पसल जलेको थियो । बस्त्रालयको छेउको भवनमा रहेको सन्तोषी हार्डवेयरसहित गोदम, कपिल टेलर्स र कालिका रेडिमेड फेन्सी स्टोर पनि जलेको थियो । बस्त्रालयको माथिल्लो तलामा रहेको यशोदा साडी सेन्टर समेत जलेको थियो ।
यस्तै, आगलागीबाट सिर्जना फाइनाइन्स र पशुपति इम्पोरियममा पनि क्षती पुगेको थियो । हनुमान अटलको हनुमात्र बस्त्रालय बस्त्रालयको पहिलो र दोस्रो तल्लामा रहेका सम्पूर्ण कपडा जलेर नष्ट भएका थिए । आगलागी हुदाँ नजिकमा दमकल नभएकाले बढी क्षती भएको स्थानीय बासीले बताउँदै आएका छन् । आगो नियन्त्रणका लागि सुनसरी र मोरङका आठवटा बारुणयन्त्र आएका थिए ।
अगुवा तोया गिरीका अनुसार दमकल लामो समयदेखि बिग्रिदा र मर्मत सम्भार नगरेको कारण यस क्षेत्रमा थुप्रै आगलागीबाट बढी नै क्षती हुने गरेको छ।
प्रकाशित: २ असार २०७७ ०९:३८ मंगलबार