coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउन खुकुलो भएसँगै उपत्यका भित्रिने बढे

सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ। त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ। उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो छ।

महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले उपत्यकामा लकडाउन खुकुलो गरेपछि नाकाहरूमा ओहोरदोहोर गर्नेको भीड बढेको बताए। उनका अनुसार बिनापास उपत्यका छिर्न खोज्ने एक सय १५ जनालाई सोमबार फिर्ता गरिएको छ। एक सय पाँचजना पास देखाई  उपत्यकामा प्रवेश गरेका छन्। तर उपत्यकामा पसल सञ्चालन गरेको र थानकोटनजिकै बसेको भन्दै केहीले बहाना पनि बनाउने गरेका छन्।

प्रहरीले बिनापास टाढाबाट आए पनि फर्काउने भएकाले पास जारी गरेर मात्रै उपत्यका प्रवेश गर्न सबैलाई आग्रह गरेको छ। ‘पास नलिईकन आउने सवारीसाधनलाई हामीले उपत्यका छिर्न दिएका छैनौं,’ उनले भने, ‘तर उपत्यकामा खुकुलो पारेसँगै त्यसकोे प्रत्यक्ष असर नाकामा परेको छ।’

त्यस्तै भक्तपुर प्रवेश गर्ने साँगा नाकाबाट पनि उपत्यका प्रवेश गर्नेको संख्या बढेको छ। सोमबार मात्रै भक्तपुरको जगाती नाकाबाट तीन हजार बढी सवारीसाधन उपत्यका प्रवेश गरेको प्रहरी वृत्त जगातीले जनाएको छ। प्रहरीले सीमित व्यक्तिहरूलाई मात्रै उपत्यका प्रवेश गर्न दिइएको बताए पनि प्रत्यक्षदर्शीले निर्बाध तवरले मानिसहरू उपत्यका छिरेको बताउँछन्।

सामाजिक अभियन्ता प्रेमबहादुर थापाले उपत्यकामा छिर्ने नाकाहरूमा बाहिरी व्यक्ति प्रवेश गर्ने भीड रहेको बताए। ‘प्रहरीले कडाइ गर्छु भनेको छ तर त्यति कडाइ गरेको छैन,’ उनले भने,’ ‘पसल व्यवसाय खोल्न भन्दै अहिले उपत्यकामा प्रवेश गरेका छन्।’ उनले निजी क्षेत्रका व्यवसायीहरूले सबैखाले पसल व्यवसाय खोल्न थालेपछि त्यसको दबाब सरकारलाई परेको बताए।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार उपत्यकाका विभिन्न नाकाबाट १२ हजारभन्दा बढी यात्रु प्रवेश गरेका छन्। प्रहरीले पास हेरेर मात्रै उपत्यका प्रवेश दिएको छ। तर भित्रिनेको संख्या धेरै रहेकाले प्रहरीलाई समेत दबाब परेको छ। कोरोना संक्रमितको संख्या बढिरहेको बेला सीमा नाकाबाट सहजै प्रवेश गर्न दिँदा उपत्यकामा पनि भयावह हुने डर देखिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी राजकुमार केसीले उपत्यकामा नाकाहरूमा बिनापास छिर्न नदिइएको दाबी गरे। उनले भक्तपुर, थानकोट, दक्षिणकाली, साँखु क्षेत्रका नाकाहरूमा प्रहरीले सक्दो कडाइ गरेको जानकारी दिए। ‘अहिले उपत्यका आउनेको संख्या बढी छ तर प्रशासनले तोकेको नियमअनुसार हामीले प्रवेश गर्न दिएका छौं,’ उनले भने।

उपत्यकामा भीडभाड

लकडाउन सुरु भएको झन्डै तीन महिनापछि उपत्यकामा चहलपलह बढेको छ। अधिकांश सरकारी कार्यालय खुल्नेगरी सरकारले सरकारले सोमबारदेखि जोरबिजोर लागु गरी सवारीसाधन आवतजावतलाई अनुमति दिएको थियो।  

यसैबीच प्रहरीले जोरबिजोर पालना नगर्ने एक हजार नौ सय २३ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवनराम श्रेष्ठले जोरबिजोर नमान्ने केहीलाई कारबाही गरे पनि अन्य सवारीसाधन भने निर्बाध रूपमा सञ्चालन भएको जानकारी दिए। ‘सोमबार सडकमा सवारीको निकै भीड देखिएको छ,’ उनले भने, ‘ठाउँठाउँमा प्रहरीले सचेतनामूलक कार्ड देखाएको छ।’  

कोरोना महामारी फैलन नदिन सरकारले गरेको लकडाउन खुकुलो पारे पनि जोखिम भने झन् बढिरहेको छ। जोखिम सामना गर्ने आँटसहित आफ्नो दैनिकी नियमित गर्न आतुर सहरवासी बाहिर निस्कन थालेपछि चहलपहल बढेको हो। कोरोना महामारी नियन्त्रण र रोकथामका लागि भन्दै सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो।  

लकडाउन खुकुलो पारे पनि सडकमा ओहोरदोहोर गर्दा उच्च सावधानी अपनाउन सरकारले सबैलाई आग्रह गरेको छ। ट्राफिक प्रहरी सचेतनाका लागि प्लेकार्ड देखाउँदै सडकमा खटिएका छन्। सरकारी कार्यालयहरूमा सेवाग्राहीको चाप बढेको छ। यातायात कार्यालय, बैंक, मालपोत कार्यालयलगायत स्थानीय तहका कार्यालय सञ्चालन हुन थालेका छन्। कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राहीबीच दूरी कायम गर्न ठाउँठाउँमा गोलो घेरा बनाइएका छन्। उक्त घेरामा बसी उच्च सावधानी अपनाएर सेवाग्राहीले सेवा लिएका थिए। लामो समयपछि खुलेको यातायात कार्यालयमा डिजिटल लाइसेन्स लिन आउनेको भीड लागेको थियो।  

लामो समय बन्द हुँदा दैनिकी गुजार्न कठिन भएपछि सर्वसाधारण लकडाउन अवज्ञा गर्दै आफ्नो पेसाव्यवसायमा फर्कन थालेका थिए। अत्यावश्यक कामले सडकमा निस्कने त छँदै छन्, बिनाकाम पनि अब सकडमा निस्कनेहरू बढ्न थालेका छन्। सार्वजनिक सवारीसाधन धेरै नचले पनि निजी गाडी भने निर्बाध गुड्न सुरु गरेका छन्। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले उपत्यकामा सोमबारदेखि जनजीवन सहज बनेको बताए। उनले उच्च सावधानी अपनाएर काम गर्न सबै निकायलाई आग्रह गरिएको बताए। ‘सधैं लकडाउन भनेर मात्रै पनि भएन,’ उनले भने, ‘आफ्नो ख्याल राखेर काम सुचारु गर्नु उपयुक्त हुन्छ।’  

प्रकाशित: २ असार २०७७ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App