१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतबाट फर्केकालाई आरडिटीको भरमा घर पठाइदै

समुदायमा संक्रमणको त्रास

सिरहाको कल्याणपुर नगरपालिकाको क्वारेन्टिन । तस्बिरः मिथिलेश/नागरिक

सोमबार प्रदेश २ मा एक सय ७१ जना संक्रमित थपिएर संख्या दुई हजार १ सय ८२ पुग्दा सिरहाको कल्याणपुर नगरपालिकामा चार जना थपिएर संख्या ६८ पुगेको छ । कल्याणपुरमा थपिएका चार जना संक्रमितहरुसँगै बसेका करिब पाँच सय जनालाई आरडिटी रिपोर्ट नेगेटिभ आएकै भरमा घर पठाइसकिएको छ । सँगैबसेकामा संक्रमण पुष्टि भएपछि घर फर्केहरुमा त्रास बढेको छ ।

कल्याणपुर नगरपालिकामा पाँच वटा क्वारेन्टिन छ । जसमा हाल एक सय ९० जना छन । बैशाखदेखि जेठ २८ गत्तेसम्म यस नगरपालिकामा भारतबाट आएका नागरिकलाई आरडिटी गरेर नेगेटिभ आउनेलाई घर पठाउने र पोजेटिभ आएकाहरुलाई स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदै आएको छ । 

यस नगरपालिकाको क्वारेन्टिनमा रहेकामध्ये एक सय ५४ जनाको स्वाब संकलगन गरी परीक्षणका लागि पठाइएको नगर प्रमुख सुर्यनाथ मण्डलले बताए । आरडिटी रिपोर्ट नेगेटिभ आएकाहरुलाई होम क्वारेन्टिनमा बस्ने सल्लाह दिएर पठाउने गरिएपनि व्यवहारतः यो लागू नहुने उनको भनाई छ । हामीले सरकारी निर्देशनअनुसारकोे गर्ने हो, उनले भने,‘सरकारले आरटिडी नेगेटिभलाई होम क्वारेन्टिनमा बस्नेगरी पठाउन भनेको छ ।’

जेठ १३ गत्ते भगवानपुर गाउँपालिकाको क्वारेन्टिनमा रहेका एक सय ५० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइयो । उनीहरुमध्ये अधिकांश भारतको हटस्पटबाट फर्केकाले पिसिआर विधिबाटै परीक्षण गराउन गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवले स्वाब संकलन गराउन लगाए । भारतबाट फर्केका सिधै क्वारेन्टिनमा बसेको १४ दिनमा स्वाब संकलन गरिएको थियो । परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरुलाई घर पठाइदिने र पोजेटिभ आएकाहरुलाई आइसोलेसनमा उपचारका लागि जानुपर्ने अध्यक्ष यादवले क्वारेन्टिन बसेकाहरुलाई प्रष्ट्याएका थिए ।

स्वाब संकलन गरी पठाएको दुई सातापछि पनि रिपोर्ट नआउँदा उनीहरु क्वारेन्टिनमै आन्दोलन सुरु गरे । क्वारेन्टिनबाट बाहिर सडकमै आएर जनप्रतिनिधि विरुध नाराबाजी गरे । उनीहरु क्वारेन्टिनमै नबस्नेगरी दबाव सृजना गरेपछि अध्यक्ष यादवले प्रमुख जिल्ला अधिकारीदेखि प्रदेशका मन्त्रीसम्मैलाई फोन गरेर घटना जानकारी गराए । 

कतैबाट सन्तोषजनक जवाफ आएन । पछि प्रमुख जिल्ला अधिकारीले सरकारी निर्णयअनुसार आरडिटी गरेर होम क्वारेन्टिनमा पठाउन सल्लाह दिए । अध्यक्ष यादवले भने,‘आरडिटी रिपोर्ट नेगेटिभ आएकाहरुलाई घरमा एक्लै बस्ने गरी पठाएका छौं । भारतबाट रोजगार गरी फर्केका मधेसका विपन्नहरुसँग एक्लै बस्ने घर कहाँ हुन्छ उनले भने,‘घरमा परिवारसँग घुलमिल भैहाल्छन ।’ उनीहरु सबैको स्वाब पठाइसकिएको छ । भोली रिपोर्ट पोजेटिभ आएदिए ठूलो जोखिम निम्तिने निश्चित छ ।  

परीक्षणमा ढिला हुँदा कोरोना समुदायभित्र फैलिने जोखिम बढेको अध्यक्ष यादवले बताए । सिरहामा तीन सय ५० जनाको परीक्षण रिपोर्ट अझै नआएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए । यस जिल्लामा कूल एक हजार ८ सय ४९ जनाको स्वाब संकलन गरिएकोमा ६८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । तीन सय ५० जनाको रिपोर्ट अझै आउन बाँकी रहेको यादवले बताए । सिरहामा क्वारेन्टिन बसेका अधिकांशको पिसिआर विधिबाट परीक्षण गरिएको छैन । यस जिल्लामा लकडाउनपछि दुई हजार ९ सय ७८ जना मानिस भारतबाट फर्केका छन । जसमध्ये सोमबार मात्र एक सय २० जना फर्केका छन ।

संघीय प्रहरी इकाई कार्यालय जनकपुरका प्रवतmा एसपी जय सापकोटाका अनुसार चैत ११ गत्तेदेखि हालसम्म यस प्रदेशमा २६ हजार ७ सय ८ जना नेपाली नागरिक आएका छन । जसमध्ये २० हजार ८ सय २७ जना जेठ १ गते हालसमम अर्थात ३० दिनभित्रमा आएको प्रवक्ता सापकोटाका जानकारी दिए ।

यस प्रदेशमा हालसम्म ३० हजार ६ सय ४ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये दुई हजार १ सय ८२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । करिब १५ हजारको परीक्षण रिपोर्ट अझै आएको छैन ।

नेपाल सरकारले १४ दिनसम्म क्यारेन्टिनमा राखेर कुनै लक्षण नदेखीए होम क्वारेटिनमा बस्ने गरि पठाउने भनेको भन्दै प्रदेश २ का अधिकांश स्थानीय तहले क्वारेन्टिन बसेकाहरुलाई घर फर्काउँदै छन ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंका अनुसार यस जिल्लामा स्वाब संकलन समेत स्थागित छ । स्वाब संकलन गरेरै के गर्नु उनले भने, ‘प्रयोगशालाहरुले परीक्षण गर्नै मान्दैन, स्वाब नै लिइदिदैन ।’ ‘न धरानले लिन मानिरहेको न त विराटनगर, राजविराज, जनकपुर र टेकुले लिन मानेका छन्, उनले भने ।  

जिल्ला स्वास्थ्य प्रमुख यादवले भने ‘हामीले स्वाब संकलन गरी परीक्षणका लागि खासमा जनकपुर र काठमाडौँ पठाउने हो तर जनकपुरले ‘अहिले स्वाब नपठाउनू’ भनेर पत्र नै पठाएको छ, टेकुले पनि स्वाब नपठाउनू भनेकाले रोकेका हौँ, आरडिटी गरेर होम क्वारेन्टिनमा पठाइदिन भनेका हौँ ।’

भारतको हटस्पटबाट दैनिक घर फर्किनेको संख्या बढ्दै गएको बेला परीक्षण ढिलाइका कारण आरडिटीको भरमा घर पठाउने क्रम बढेसँगै कोरोना संक्रमण समुदायस्तरमै फैलिने जोखिम बढेको चिकित्साकर्मीहरु बताउँछन ।  

 

 

प्रकाशित: १ असार २०७७ १३:५४ सोमबार

भारतबाट फर्केका आरडिटीको भर संक्रमणको त्रास