१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जनजीवन विस्तारै सामान्य बन्दै

हालसम्म कोरोना  भाइरस नदेखिएको रसुवा जिल्लाको जनजीवन विस्तारै सामान्य हुँदै जान थालेको छ। केहिदिन अघिसम्म कोरोना भित्रने त्रासमा रहेका जिल्लाबासी अहिले नियमित काममा फर्किएका छन्। बजार खुल्न थालेका छन्। बिहान बेलुकी मात्र सडकमा नागरिक देखिँदै आएकोमा अहिले दिउँसो पनि बजार खुल्न थालेको छ।  

अहिले तरकारी, किराना, हार्डवयेर, मासु पसल लगायतका पसलहरू दिनभरी नै खुला रहन्छन्। पहिले मास्क लगाएर बजारमा हिँडिरहेको देखिन्थ्यो। तर अहिले थोरै व्यक्तिले मात्र मास्क प्रयोग गरिरहेका छन्। यसले पनि मानिसमा कोरोनाको त्रास विस्तारै घट्दै गएको देखिन्छ।  

जिल्लाको सदरमुकाम धुन्चे, स्याफ्रु, टिमुरे, कालिकास्थान लगायत क्षेत्रमा पसलहरू खुलेका छन्। धुन्चेका स्थानीय प्रमोदकुमार तितुङले भौतिक दूरी कायम गरेर स्वास्थ्य सुरक्षालाई ध्यान दिएर मानिसहरू विस्तारै आफ्नो नियमित काममा फर्कन थालेका बताए। ‘सधैं घरमा बसेर पनि नहुने रैछ भनेर काममा निस्कन थालेका छन्’, उनले भने, ‘मान्छेमा पहिलेको जस्तो त्रास देखिँदैन।’  

जिल्लाको कालिका गाउँपालिका–३, इँटपारेका विश्वास नेपालीले असार एक गतेदेखि सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै रसुवालीमा खुशी छाएको बताए। उनले यहाँ अहिलेसम्म कसैलाई पनि कोरोना पोजेटिभ नदेखिएकोले खुशी छाएको भएपनि खुला भएपछि बाहिरी जिल्लाबाट पनि आवातजावत बढ्न थालेपछि संक्रमण बढ्ने सम्भावना रहनेमा सजग हुन पर्ने बताए।  

लामो समयसम्म मानिसहरु घरभित्रै बस्नु परिरहँदा पनि मानिसहरू भोलीको जीविकोपार्जनमा समस्या पर्नेमा चिन्तित हुन थालेका पनि उतिकै रहेका उनले बताए। भौतिक दूरी कायम गरेर व्यवसाय सञ्चालन गर्न पाउने गरी अनुमति प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए। ‘पहिलेको भन्दा अहिले यहाँको जनजीवन चाहिँ सामान्य बन्दै गएको छ’, उनले भने, ‘जिल्लामा कोरोना संक्रमण भित्रन नदिन निगरानी बढाइएको छ।’

यसअघि हप्तामा दुई दिन मात्र खुल्दै आएका बैंक तथा वित्तीय संस्था आजदेखि नियमित खुल्नेछन्। जिल्लास्थित सरकारी कार्यालय पनि सोमबार बिहानैदेखि खुलेका छन्। तर, सेवाग्राहीको न्यून सहभागी भएका छन् । प्रजिअ पन्तले कार्यालयमा १ बजेसम्ममा १ जना मात्र सेवाग्राही आएको बताए। सार्वजनिक यातायात सञ्चालन नभएको र बिहानैदेखि पानी परिरहेको कारण सेवाग्राही कम भएका हुन्।  

प्रकाशित: १ असार २०७७ ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App