१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

मुग्लिनको बाटोमा अब छैन पहिरोको पिर

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो नियन्त्रणको काम हुँदै । तस्बिर : सूर्यप्रकाश/नागरिक

राजधानीको लाइफलाइन मानिएको नारायणगढ–मुग्लिन सडकखण्डमा यतिबेला गाडीहरु निकै कम गुड्छन् । कारण प्रष्ट छ, कोरोना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको देशव्यापी बन्दाबन्दी । बन्दाबन्दी खुकुलो हुने क्रममा छ । अब मुग्लिनको बाटोमा कुद्ने गाडीको संख्या ह्वात्तै बढ्नेछ । यो बाटोमा गाडी कुदाउनेहरुलाई मनसुन सुरु भइसकेकोले विगतमा जस्तै पहिरोले सताउने हो कि भन्ने पिर पर्छ नै, तर यसपालि मुग्लिनको बाटोमा पहिरो पिर मान्नु पर्दैन ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले गाईघाटदेखि कालीखोलासम्मका नौ ठाउँमा पहिरो नियन्त्रणको ठेक्का लगाए अनुसार काम अन्तिम चरणमा पुगेकोले पहिरोको पिर हराएको हो । आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनाल पहिरो रोकथामका लागि काम भएका नौ ठाउँमध्ये एक ठाउँमा मात्र काम बाँकी छ । भरतपुर महानगरपालिकामा पर्ने गाईघाटदेखि ईच्छाकामना गाउँपालिकामा पर्ने कालीखोलासम्म पहिरो नियन्त्रणको काम सकिएको छ । चारकिलो भन्ने ठाउँमा काम बाँकी छ, जुन पहिरोको उच्च जोखिमयुक्त ठाउँ हो ।

आयोजनाले गत वर्ष कात्तिकमा पहिरो नियन्त्रणको लागि बज्रगुरु सगरमाथा न्यू टेक्निकल ज्वाइण्टभेञ्चरलाई १४ करोड नौ लाख रुपैयाँको ठेक्का दिएको थियो । गत वैशाख महिनामै सकिनु पर्ने ठेक्का चैतदेखि देशव्यापीरुपमा लगाइएको बन्दाबन्दीको कारण ढिलो सम्पन्न हुने भएको छ । ‘अहिले धमाधम काम सुरु भइसकेको छ’ आयोजनाका सूचना अधिकारी खनाल भन्छन्, ‘अहिले करिब ९० प्रतिशत काम सकिइसकेको छ । असार मसान्तसम्म सबै काम सकिन्छ । ठेक्का म्याद थपको चरणमा छ ।’

नारायणगढ–मुग्लिन सडक आयोजनाले गाईघाटदेखि कालीखोलासम्मका नौ ठाउँमा कुल ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम ठेक्का लगाएको छ । पहिरो रोकथाम अन्तर्गत रकनेटिङ र वायोइञ्जिनियरिङको काम भएको छ । पहिरो खस्ने डाँडामाथि तारको जाली बिछ्याएर पहिरोमा फलामको किला ठोकी त्यही किलामा जालीलाई नटबोल्टु लगाएर कस्ने काम रकनेटिङ हो । वायोइञ्जिनियरिङ अन्तर्गत पहिरो खस्ने जमिनमा जुटको जाली ओछ्याएर विभिन्न बुट्यान र बिरुवा लगाइन्छ । दुई वर्षअघि नारायणगढ–मुग्लिन सडक आयोजनाले दासढुंगादेखि मुग्लिनसम्म पहिलोपटक रकनेटिङ र वायोइञ्जिनियरिङको काम भएको थियो । पहिरो रोक्न यो प्रविधि प्रभावकारी पाइएपछि आयोजनाले अहिले अन्य नौ ठाउँमा पहिरो रोकथामको काम अघि बढाएको हो ।

चार दशक पुरानो सडक

चार दशकअघि २०३६ सालमा नारायणगढ–गोर्खा सडक निर्माणका क्रममा चिनियाँ कम्पनीले नारायणगढ–मुग्लिन सडकखण्ड निर्माण गरेको थियो । सत्र वर्षअघि २०६० सालतिर पहिरोले केही भाग क्षतिग्रस्त बनेको यो सडक साँघुरो महसुस भएपछि २०७२ सालमा पुनर्निर्माणको काम सुरु भएको थियो । विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँ आर्थिक सहयोगमा नारायणगढ मुग्लिन सडक आयोजनाले आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर सडकलाई तीन खण्डमा छुट्याएर मर्मत र चौडा पार्ने काम गरेको थियो ।

चीनहुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन, नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजफ्फरपुरहुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो । एसियन हाइवे अन्तर्गतको एएचफोरटू खण्ड अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्ड पर्दछ । पूर्वी र पश्चिमी नेपालको यातायातलाई राजधानीसँमाग जोड्ने यो सडकमा बन्दाबन्दी अघिसम्म दैनिक हजारौँको संख्यामा गाडी गुड्थे । अहिले पनि सयौँको संख्यामा अत्यावश्यक सेवाका सवारीसाधन यो सडक भएर गुड्छन् ।

आँपटारीदेखि दासढुंगासम्मको १० दशमलव ४५ किलोमिटर लामो एक नम्बर खण्डमा बीएलए र श्रेष्ठ कन्स्ट्रक्सन्स, दासढुंगादेखि सिमलतालसम्मको १० दशमलव ६९ किलोमिटर लामो दुई नम्बर खण्डमा उडहिल र लामा कन्स्ट्रक्सन्स एवम् सिमलतालदेखि मुग्लिनसम्मको १२ दशमलव ८८ किलोमिटर लामो तीन नम्बर खण्डमा सुप्रिम र रौताहा कन्स्ट्रक्सन्सले ज्वाइन्टभेञ्चरमा काम गरेका थिए ।

प्रकाशित: ३२ जेष्ठ २०७७ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App