२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जिल्लाकै पहिलो कोरोना अस्पताल बन्ने

कोभिड–१९ को उपचारका लागि देवचुली नगरपालिकामा जिल्लाकै पहिलो कोरोना अस्थायी अस्पताल निर्माण हुने भएको छ। रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा कोरोना अस्थायी अस्पताल निर्माणका लागि स्थानीय तहले ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।  

जिल्ला समन्वय समिति नवलपुरका प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा जिल्लाको आठवटै स्थानीय तहका प्रमुखसहितको बैठकले यहाँ कोरोना अस्थायी अस्पताल निर्माण गर्ने सहमति जनाएका हुन्। कोरोना अस्थायी अस्पताल सञ्चालनका लागि जिल्लाका चार वटा गाउँपालिकाले सात लाख रुपैयाका दरले तथा चार नगरपालिकाले आठ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले मगरले जानकारी दिए।  

यहाँ कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनका लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालको संयोजकत्वमा पाँच सदस्यीय व्यवस्थापन समितिको गठनसमेत गरिएको छ। सो समितिले कोरोना अस्थायी अस्पतालमा खटिने जनशक्तिको व्यवस्थापन, आवश्यक स्वास्थ्य सामग्री खरिद, भौतिक निर्माण तथा संरचनात्मक सुधारलगायतका सम्पूर्ण कार्यको जिम्मा लिएको र सोहीबमोजिम काम शुरू गरिएको समितिका संयोजक भुसालले बताए।  

 कोरोना अस्थायी अस्पताल निर्माण हुने सामुदायिक प्राकृतिक चिकित्सालयमा यस जिल्लाका २५ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ। हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ४३ जना पुगिसकेको छ।  

प्रकाशित: ३१ जेष्ठ २०७७ १४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App