coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सरकार विरुद्ध सर्लाहीको पूर्व–पश्चिम राजमार्गमा युवाहरूको प्रदर्शन

हरिवन स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार मध्यान्ह विरोध प्रदर्शन गरिरहेका स्थानीय युवाहरू । तस्बिर : टंक/नागरिक

केपी ओली सरकार विरुद्ध सर्लाहीको हरिवनमा प्रदर्शन भएको छ ।  शनिबार मध्यान्ह हरिवन स्थित पूर्व–पश्चिम राजमार्गमा स्थानीय युवाहरूले विभिन्न नाराबाजी सहित विरोध प्रदर्शन गरेका हुन् । कोरोना भाईरस संक्रमणमा प्रधानमन्त्री केपी ओली सरकार निकम्मा सावित भएको भन्दै युवाहरूले राजीनामाको माग समेत गरे । 

राष्ट्रप्रेमी हरिवन युवा समाजको ब्यानरमा जम्मा भएका युवाहरूले प्रधानमन्त्री ओलीप्रति व्यंग्यात्मक कटाक्ष लेखिएका ब्यानर समेत प्रदर्शन गरेका थिए । ब्यानरहरूमा ‘नो पीसीआर नुन तेल बेसार, कोरोनाको उपचार–डा. केपी ओली’, ‘भारतले सिमा मिच्यो, कोरोनाले देश थिच्यो, सरकारले १० अर्ब घिच्यो’, ‘पैसा छैन गोजीमा, सरकार करको खोजीमा’, ‘अपराधी घटना बढ्दै छ, तीनै तह नै आपसमा लड्दै छ’, ‘छोरा बिग्रे दादागिरी, छोरी बिग्रे सरिता गिरी’ जस्ता व्यंग्यात्मक नारा लेखिएका प्लेकार्ड बोकेर युवाहरूको र्यालीले हरिवन बजार समेत परिक्रमा गरेको थियो ।  

र्यालीमा सहभागि युवाले हरिवन नगरपालिकाले समेत आरडीटीको भरमा शंकाष्पद सर्वसाधारणलाई क्वारेन्टिनबाट घर पठाएर गम्भिर लापरबाही गरेको भन्दै मेयर गणेशप्रसाद प्रसाईंको विरोध गरेका थिए । विरोध प्रदर्शनमा मेयर प्रसार्इं विरुद्ध समेत नाराबाजी भएको थियो । उपलब्ध सबै राजनैतिक दलमा आवद्ध युवाहरूको र्यालीमा सहभागिता रहेको कार्यक्रम संयोजन गरेका युवा व्यवसायी निरोज कार्कीले दाबी गरे । कार्यक्रममा कांग्रेस सम्बद्ध युवाहरू बढी भएपनि राप्रपा, संघीय समाजवादी लगायत पार्टीबाट समेत युवाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित: ३१ जेष्ठ २०७७ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App