२ असार २०८१ आइतबार
image/svg+xml
समाज

पर्यटकीय पूर्वाधार निर्माणमा जहिल्यै भारतीय अवरोध

पाँचथरको फालेलुङ गाउँपालिकाको फालोटमा बनाइएको पदमार्ग। यहाँभन्दा केही नजिक भारतसँगको सिमाना रहेको छ। तस्बिर: गिरिराज बाँस्कोटा/नागरिक

फालेलुङ गाउँपालिकाको आहाल भन्ने ठाउँमा वन डिभिजन कार्यालय पाँचथरको सहयोगमा स्थानीय कबुलियती वन उपभोक्ता समितिले भवन बनाउन लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध ग-यो। तसर्थ आहाल कबुलियत वन समूहले निर्माण अघि बढाएको संग्रहालय निर्माणको काम रोकियो। केही दिन यो विषयले चर्चा पाए पनि अहिले यो विषय उठ्न छाडेको छ।  

अहिले भवन बनाउने काम पनि अघि बढ्न सकेको छैन। नेपाली भूमिमा बनाउन लागेको भनव एसएसबीले रोकेपछि काम अघि बढ्न नसकेको उक्त समूहका अध्यक्ष नरबहादुर खपाङ्गीले बताए। यो पहिलो घटना भने होइन। सीमावर्ती क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउन जहिले अवरोध हुने गरेको छ। कतै अवरोधबिच काम हुने गरेको छ भने कतै काम रोकिएको अवस्था छ। इलामको तुम्लिङमा बनाउन लागिएको पार्कमा समेत भारतीय पक्षले अवरोध गरेको छ।  

यति मात्र होइन सीमा क्षेत्रमा बनेका पर्यटकीय पूर्वाधार बनाउने क्रममा पनि स्थानीयले निकै दुःख पाएका छन्। सीमाक्षेत्रमा  रमणीय गन्तव्यहरू रहेका छन्। भारततर्फ होटललगायत पर्यटकीय पूर्वाधार बनाइएको छ। नेपालतर्फ भने पदमार्ग, भवन तथा अन्य पूर्वाधार बनाउन खोज्दा अवरोध हुने गरेको छ। कतिपय ठाउँमा अवरोधबिच पनि काम भएको पाइन्छ।  

सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीसँग भिडेरै काम गर्नु परेको अुनभव सुनाउँछन् मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका योजना तथा लेखा अधिकृत सञ्जीव पौडेल। ‘भारतभर्फ पूर्वाधार छ। नेपालतर्फ बनाउन खोज्दा अवरोध हुने गरेको छ। हामीले धेरै ठाउँ भिडेर काम गरेका छौं। धेरै ठाउँमा अवरोध छ,’ उनले  भने, ‘उपभोक्ता समितिलाई लखेटेका घटनासमेत छन्। नेपाली भूमि नै हाम्रो पर्छ भन्दै दुःख दिने गर्छन्। यहाँ दरबिलो सरकारी उपस्थिति नहुँदा हेप्ने गरेका छन्।’

सीमावर्ती क्षेत्रमा आकर्षक पर्यटकीय गन्तव्य छन्। सिजनमा भरिभराउ हुन्छ। नेपालतर्फ पूर्वाधार बन्दा आम्दानी गुम्ने भयले यसो गरेको हुनसक्ने आशंका गर्छन्, स्थानीय शिल्प राई। कञ्चनजंगा, तिम्बु पोखरी पदमार्गको रुपमा पनि यहाँ विकास गर्न खोजिएको छ। सन्दकपुर, तुम्लिङ, फालोटलगायत ठाउँमा वर्षेनी ठूलो संख्यामा पर्यटक आउँछन्। तर, भारतर्फ मात्र निजी तथा सरकारी गेस्ट हाउसलगायत पूर्वाधार छन्। गत वर्ष सन्दकपुरमा भ्यु–प्वाइन्ट बनाउँदा अवरोध भएको थियो। नेपालतर्फ सीमा क्षेत्रमा सरकारी उपस्थिति नहुँदा बोल्दिने कोही नभएको स्थानीयको गुनासो छ।  

अधिकृत पौडेल भन्छन्, ‘सीमा क्षेत्रमा पूर्वाधार बनाउने तथा सरकारी उपस्थिति देखाउने हो भने यो समस्या कम हुने थियो।’ इलामको पशुपति नगरदेखि कञ्चनजंघा बेस क्याम्पसम्मको पदमार्गको अध्ययन भएको छ। पदमार्ग बनाउने काम धेरै छन्। सीमावर्ती क्षेत्रमा बाक्लो गरी पर्यटक आउने गरे पनि नेपालले आम्दानी लिन सकेको छैन। नेपालतर्फ गोठहरू मात्र छन्। आम्दानी खोसिने डरले सीमावर्ती क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउने काममा भारतीय पक्षको अवरोध हुने गरेको अनुमान रहेको राई बताउँछन्।

प्रकाशित: ३० जेष्ठ २०७७ ०५:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App