१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोभिड–१९ प्रयोगशालामा स्वाबको चाप

कोरोना परीक्षणको दायरा बढेसँगै भरतपुर कोभिड–१९ प्रयोगशालामा स्वाबको चाप बढेको छ। क्वारेन्टिनमा बसेका व्यक्तिको पिसिआर परीक्षण थालिएपछि प्रयोगशालामा स्वाबको चाप बढेको हो। प्रयोगशालामा बुधबारसम्म तीन हजार १०० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको छ। सोमबार ३० जना र बुधबार चारजनाको  पिसिआर पोजेटिभ देखिएको थियो। त्यसपछि झन पिसिआर परीक्षण गराउने बढेका छन्।

दैनिक पिसिआर परीक्षणका लागि क्वारेन्टिन, अस्पताल र अन्य सम्भावित क्षेत्रबाट स्वाब सङ्कलन गरेर ल्याइने गरेको छ। तर स्वाबको चापका कारण प्रयोगशालामा नै होल्ड हुनुपर्ने अवस्था छ। भरतपुर कोभिड–१९ प्रयोगशाला प्रमुख डा नितु अधिकारीले पछिल्ला दिनमा प्रयोगशालामा स्वाबको चाप बढेको जानकारी दिइन्। उनले करिब ९०० स्वाब परीक्षणका लागि होल्डमा रहेको बताइन।

प्रयोगशालामा दैनिक १५० देखि २०० नमूना परीक्षणका लागि आउने गरेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। शुरुका दिनमा निकै कम नमूना परीक्षण भए पनि अहिले सङ्ख्या बढ्दै गइरहेको उनले बताए। सोमबार ३१० नमूना परीक्षण गरिएको थियो। मङ्गलबार र बुधबार ४५० नमूना परीक्षण भएको पौडेलले जानकारी दिए। बुधबार भरतपुरमा सल्यानका १३१ वटासहित २७४ स्वाब परीक्षणमा गरिएको छ। ती सबैमा कोरोना सङ्क्रमण नभएको पाइएको छ। बुधबार भरतपुर क्यान्सर अस्पतालको २६, भरतपुर अस्पतालको ४६,  भरतपुर महानगरपालिकाको आठ, चितवन मेडिकल कलेजको ११, सेन्ट्रल अस्पतालको तीन, नारायणी सामुदायिक अस्पतालको आठ, खैरहनी नगरपालिकाको ३६, मनकामना अस्पतालको पाँचजनाको स्वाब परीक्षण गरिएको अस्पतालले जनाएको छ।

भरतपुर अस्पताल मातहत रहेको प्रयोगशालामा चितवन, नवलपरासी, धादिङ, कपिलवस्तु, मकवानपुर, सल्यानलगायतका जिल्लाबाट सङ्कलन गरी ल्याइएका स्वाब परीक्षण हुँदै आएको छ।  प्रयोगशालामा अहिले १० जना प्राविधिकले काम गरिरहेका छन्। भरतपुर अस्पताल, क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजका प्र्राविधिक प्रयोगशालामा खटिएका छन्। प्रयोगशालामा काम गर्ने प्राविधिकलाई अस्पतालले भरतपुर चोबीसकोठीमा रहेको होटल ग्लोबलमा आइसोलेशनमा राखेको छ। प्राविधिकले उच्च मनोबलको साथ राति १–२ बजेसम्म काम गर्ने गरेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए।  

विभिन्न जिल्लाबाट क्वारेन्टिनमा बसेकाहरुको स्वाब सङ्कलन गरी पठाउने गरिएकाले प्रयोगशालामा चाप बढ्दै गएको मेडिकल सुपरिटेन्डेन्ट तिवारीले बताए। कोभिड–१९ प्रयोगशालामा अहिले आवश्यक मात्रामा किट उपलब्ध रहेको उनले जानकारी दिए। प्रयोगशालाका प्राविधिकका अनुसार एउटा स्वाब परीक्षण गर्दा राज्यको १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँ खर्च हुन्छ।

प्रकाशित: २९ जेष्ठ २०७७ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App