coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सर्पदंशको उपचारमा आएका व्यक्तिमा कोरोना पुष्टि भएपछि इमरजेन्सी सेवा बन्द

सर्पदंशको उपचारका लागि आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश अस्पतालको इमरजेन्सी सेवा बन्द भएको छ। भारतबाट आएर जेठ १६ गतेदेखि बराहताल गाउँपालिका–४ को भेरी माविको क्वारेन्टिनमा रहेका ५० वर्षका बृद्धलाई सोमबार राति सर्पले टोकेको थियो।  

सर्पको टोकाईबाट बेहोस भएका उनलाई मंगलबार विहान कर्णाली प्रदेश अस्पताल पु¥याइएको थियो। ‘अस्पताल ल्याउँदा विरामी बेहोस् हुनुहुन्थ्यो, हामीले इमरजेन्सीमा राखेर उपचार ग¥यौं,’ अस्पतालका कोभिड–१९ फोकलपर्सन डा. केएन पौडेलले भने, ‘विरामी होसमा आएपछि क्वारेन्टिनबाट ल्याइएको थाहा भयो।’ क्वारेन्टिनबाट आएको थाहा पाएपछि अस्पतालले उनको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरेको थियो। परीक्षणका क्रममा कोरोना पोजेटिभ देखियो।

‘भर्ना गरिएका विरामीमा कोरोना पोजेटिभ देखिएपछि इमरजेन्सी सेवा बन्द गर्नुका साथै उपचारमा संलग्न दुई जना चिकित्सक, तीन स्वास्थ्यकर्मी र एक जना सहयोगीलाई आइसोलेसनमा राखेका छौं,’ डा. पौडेलले भने, ‘कोरोना संक्रमितलाई छुट्टै राखेर उपचार भइरहेको छ।’

बराहताल–४ का वडाध्यक्ष टेकबहादुर कठायतका अनुसार कोरोना संक्रमण देखिएका व्यक्ति दृष्ट्रिविहिन हुन्। सोमबार राति विद्यालयको कक्षा कोठामा सुतिरहेको बेला साढे ११ बजेतिर उनलाई सर्पले टोकेपछि सँगै सुतेकाहरुले जिउँदै सर्पलाई पनि छोपेका थिए। ‘उपचारमा सहज होसे् भन्ने उद्देश्यले हामीले विरामी र टोक्ने सर्पसहित अस्पताल पठाएका थियौं,’ वडाध्यक्ष कठायतले भने, ‘विरामी लिएर जाने व्यक्तिले विवरण ढाँट्दा अस्पतालसँगै क्वारेन्टिनमा बसेकाहरुसम्म तनाव उत्पन्न भइरहेको छ।’

संक्रमित व्यक्ति दृष्ट्रिविहिन भएकाले उनको स्याहारमा ३२ जना प्रत्यक्ष सम्पर्कमा थिए। ‘डो¥याएर बाहिर–भित्र गर्नुपर्दथ्यो, खाना पनि अर्कोले खुवाउनुपर्ने अवस्था थियो,’ उनले भने, ‘आफुले स्याहार गर्दै आएका व्यक्तिमा कोरोना पुष्टि भएपछि क्वारेन्टिनमा रहेका व्यक्तिहरु त्रसित छन्।’

प्रकाशित: २८ जेष्ठ २०७७ ०४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App