१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाले कसिँदै कर्णाली

नेपालमा कोरोना संक्रमण देखिएको चार महिनाअर्थात् जेठ ५ गते कर्णालीमा पहिलो कोरोना संक्रमति भेटिए। दैलेखस्थित आठवीस–१, सात्तलाका ३५ वर्षीय पुरुषमा कोरोना पृष्टि भएको थियो। त्यसको पाँच दिनपछि (१० गते) सुर्खेतमा तीनजना कोरोना संक्रमित देखिए। दिन बिराएर देखिएको कोरोना १७ गतेसम्म पुग्दा एक सय पाँचजनामा देखियो।

त्यसपछिका दिनदेखि कर्णालीमा दैनिक ठूलो संख्यामा कोरोनाका संक्रमति देखिन थाले। भारतले रेल सेवा सुरु गरेदेखि रोजगारी गुमाएर फर्कनेहरूको संख्या बढेसँगै कर्णालीमा दोब्बरले कोरोना संक्रमति थपिन थालेका हुन्। हाल यो संख्या ६ सय ५१ जनामा कोरोना पुष्टि भएको छ। कोरोनाले कर्णाली कसिँदै जाँदा परीक्षण र कोरोना संक्रमितको उपचारसँगै व्यवस्थापनमा समस्या उत्पन्न भएको छ। जेठ १८ गते १८ जना, १९ गते एक सय सातजना, २० गते २९ र २१ गते १६ जनामा कोरोना पृष्टि भएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए। 

उनका अनुसार २२ गते एक सय १४, २३ गते एक सय, २४ गते ९८, २५ गते ५४ र २६ गते १० जनामा कोरोना पृष्टि भएको छ। कर्णालीमा गरिएको परीक्षणमा कर्णाली बाहिरका १५ जनामा कोरोना पृष्टि भएको छ। दैलेखमा सबैभन्दा बढी संक्रमित देखिएका छन् भने रुकुम पश्चिममा अहिलेसम्म कोरोना संक्रमति देखिएका छैनन्। कर्णालीका १० जिल्लामध्ये नौ जिल्लामा कोरोना भाइरस फैलिएको छ।

दैलेखमा तीन सय ६१, सल्यान एक सय २४, सुर्खेत ९२, कालीकोट २८, जुम्ला २२, जाजरकोट पाँच, मुगु दुई, हुम्ला र डोल्पामा एक÷एकजनामा कोरोना संक्रमण पृष्टि भएको छ। सुर्खेत, दैलेख र डोल्पामा एक÷एक गरी तीनजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कोरोना परीक्षणको दायरा बढे कोरोना संक्रमतिको संख्या अझ बढ्न सक्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए। ‘अहिले कर्णालीका सुर्खेत र जुम्लामा कोरोना परीक्षण गरिँदै आएको छ,’ उनले भने, ‘क्वारेन्टिनमा बसेकाको मात्रै परीक्षण गर्न समस्या भएको छ।’ प्रदेश सरकारले तत्काल एक र त्यसपछि अर्काे पीसीआर मेसिन खरिद गरेर कोरोना परीक्षणको दायरा फराकिलो पार्ने उनको भनाइ छ। रोजगारी गुमाएर ३९ हजारभन्दा बढी बासिन्दा कर्णाली फर्किएको भन्दै उनले अझै यो संख्या बढेर एक लाखसम्म पुग्नेसक्ने बताए।

अहिलेकै परीक्षणको दायराले ६ महिनामा पनि कोरोना परीक्षण गरेर नसकिने भन्दै उनले भने, ‘हामी कोरोना परीक्षणको दायरा बढाउँछौं।’ आरडीटी परीक्षणभन्दा अब पीसीआर परीक्षणमा जोड दिने उनले बताए। अपेक्षाभन्दा बढी मान्छे कर्णाली भित्रिएकाले पनि कोरोना नियन्त्रणमा चुनौती बढेको उनको भनाइ छ। हाल कर्णालीमा भारतबाट आएकामा मात्र कोरोना देखिएको छ। यो संक्रमण समुदायस्तरमा गयो भने उपचारसँगै परीक्षणमा समस्या हुने देखिएको छ।

अहिले कर्णालीमा दैनिक दुईदेखि तीन सयसम्मको कोरोना परीक्षण हुने गरेको छ। संख्यात्मक हिसाबले यो धेरै न्यून परीक्षण हो। एक वर्षको बजेट सबै कोरोना न्यूनीकरणमा खर्च गरे पनि अपुग हुने कर्णाली प्रदेश सरकारले जनाएको छ। यस्तो अवस्थामा सामाधान विषयमा छलफल भइरहेको कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन्। कर्णाली प्रदेश सरकार निर्णय कार्यान्वयनमा चुक्दा कोरोना नियन्त्रणमा चुकेको प्रदेश सांसद दिनबन्धु श्रेष्ठले जनाए। 

प्रदेश विपद् व्यवस्थापन केन्द्रको वैशाख २९ गतेको बैठकले, ‘छिमेकी मित्रराष्ट्र भारतबाट नेपालका विभिन्न सीमा नाकामा प्रवेश गर्ने नेपाली नागरिकलाई सीमा क्षेत्रसँगै क्वारेन्टिन स्थापना गरी तोकिएको अवधि क्वारेन्टिनमा राख्ने र तोकेको अवधिपश्चात् पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएकालाई सम्बन्धित जिल्लामा पठाउने व्यवस्था मिलाउन सीसीएमसी र नेपाल सरकारलाई अनुरोध गर्ने’ निर्णय ग¥यो। उक्त निर्णय सही भए पनि कार्यान्वयन नहुँदा समस्या भएको सांसद श्रेष्ठले बताए। ‘ज्वरो मात्र नापेर उक्त निर्णयविपरीत रातारात मान्छे गाउँ पठाइयो,’ उनले भने, ‘जसले कर्णालीमा सहजै कोरोना भित्रियो।’ सरकारले तत्काल उद्धारभन्दा सीमामै क्वारेन्टिनमा राख्ने व्यवस्था गरेको राम्रो हुने उनको भनाइ छ।

सरकार र प्रदेश विपद् व्यवस्थापन केन्द्रले निर्णय गर्ने तर कार्यान्वय गर्न नसक्दा कर्णालीमा कोरोना भित्रिएको दैलेखकी प्रदेश सांसद मीना रखालले बताइन्। ‘निर्णय गर्दा प्रदेशको क्षमता, स्रोतसाधन र स्वास्थ्यकर्मीको अवस्था बुझेर निर्णय गर्नु पर्ने थियो,’ उनले भनिन्, ‘अध्ययनबिना गरिएका निर्णय कार्यान्वयन नहुँदा यस्तो अवस्था आयो।’ सीमा क्षेत्र पार गर्दा नै सरकार चुकेको भन्दै उनले भनिन्, ‘जिल्लाभन्दा सीमामै परीक्षण गर्नु प्रभावकारी हुन्थ्यो।’

त्यससँगै निर्माण गरिएका क्वारेन्टिन पनि सुरक्षित हुँदा त्यहाँबाट पनि केहीमा कोरोना संक्रमण भएको हुन सक्ने स्थानीय बताउँछन्। धेरै व्यक्तिलाई एउटै ठाउँमा राख्दा पनि कोरोना एकबाट अर्काेमा गएको हुन सक्ने सल्यानका युवराज रेग्मीले बताए। हालसम्म कर्णालीमा आरडीटी र पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ। आरडीटी २३ हजार चार सय ६८ पीसीआर विधिबाट १० हजार ६ सय ६६ जनाका स्वाब परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। त्यस्तै कर्णालीमा नौ सय ६ वटा आइसोलेसन बेड र तीनवटा कोरोना अस्पताललाई कोरोना अस्पतालका रूपमा विकास गरिएको छ।

प्रकाशित: २७ जेष्ठ २०७७ ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App