जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा राँके जुलुस निकालिएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संघर्ष समितिले सोमबार साँझ दिक्तेलबजारमा राँके जुलुस निकालेको हो ।
प्रहरीलाई झुक्याएर सरस्वती आधारभुत विद्यालय पोखरीबाट सुरु गरिएको जुलुसको राँको पुरानो बैंकचोकमा प्रहरीले खोसेको थियो । प्रहरीले हस्तक्षेप गरेर राँको खोसेपछि संघर्ष समितिको टोलीले त्रिबेणीचोकमा पुगेर कोणसभा गरेको छ । कोणसभालाई संघर्ष समितिका संयोजक दिपक ठटालले सम्बोधन गरेका थिए ।
जिल्लाका दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ति सम्मिलित संघर्ष समितिले घट्नाको विषयमा स्वतन्त्र र निष्पक्ष छानबीन गरी दोषीलाई कडा भन्दा कडा कारबाहीका लागि दवाव सिर्जना गर्न संघर्षका कार्यक्रम सुरु गरेको हो । दलितद्धारा निर्मित हतियार प्रदर्शनसहित मार्च पास गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको संघर्ष समितिका संयोजक ठटालले बताए ।
वर्तमान सरकार तथा सरकारका जिम्मेवार व्यक्तिले पश्चिमरुकुम घट्नालाई गम्भीरतापुर्वक नलिँदा नवराज सहितका युवाको अवस्था निर्मला पन्तकोजस्तै सेलाएर जाने आशंका जन्माएको संघर्ष समितिले जनाएको छ ।
प्रकाशित: २६ जेष्ठ २०७७ १५:५३ सोमबार