८ वैशाख २०८१ शनिबार
समाज

लकडाउनमा मौलाउँदै साइबर अपराध

मुद्दा दर्ता गर्दैन प्रहरी

पेप्सीकोलाकी जुनुलाई लोग्नेको व्यवहारले घरमा टिक्न नसक्ने बनायो। लोग्नेले इज्जत नदिएकै कारण वैवाहिक जीवनलाई एक वर्षअघि सम्बन्ध–विच्छेदसहित अन्त्य गरिन्। त्यसपछि उनीहरू आ–आफ्नै बाटो लागे। जुनुले सम्बन्ध–विच्छेदपछि पुरानो नम्बर र फेसबुक ब्लक गरिन्। नयाँ मोबाइल नम्बर लिएर फेसबुक खोलिन्।  

लकडाउन भइरहेको बेला एकदिन उनको म्यासेन्जरमा आफन्तले एउटा फेसबुक पोस्टको ‘स्क्रिन–सट’ पठाए जसले उनलाई मर्नु न बाँच्नु बनायो। त्यसमा उनको फोटो राखेर ‘वेश्या’ भनी व्याख्या गरिएको थियो। त्यसपछि उनलाई ‘ग्राहक’ जस्तै बनेर फोन गर्नेहरूको ओइरो लाग्यो। उपाय नभएपछि उनले फेसबुक ‘डिएक्टिभ’ गरिन्। मिनेट–मिनेटमा आउने फोन कलले तर्साउन थोलपछि फोन पनि अफ गरिन्। निवेदन दिन भन्दै सोमबार उनी पेप्सीकोलाबाट हिँड्दै साइबर ब्युरो पुगिन्। तर उनको निवदेन दर्ता भएन। ब्युरोले अश्लील पोस्ट हटाइदिने भन्दै उनको निवेदन रिसिभ गरी फाइलमा राख्यो। त्यसपछि उनी हिँड्दै फर्किइन्।  

पछिल्लो समय साइबर ब्युरोमा यस्ताखाले निवेदन दिनेको भिड नै लाग्छ। प्रहरीका अनुसार लकडाउनको बेला अन्य आपराधिक घटनामा कमी आए पनि कम्प्युटर, इन्टरनेट तथा प्रविधिमार्फत हुने आपराधिक क्रियाकलापले झन् उचाइ लिएको छ। प्रविधिको व्याप्त प्रयोग भएको र बाहिरी अपराध गर्न नपाएपछि लकडाउनको मौका छोपी साइबर अपराध गर्ने गिरोह मौलाएको हो।  

व्यक्ति, व्यापार, आर्थिक कारोबार, बैंक खातालगायतलाई लक्षित गरी प्रविधिमार्फत अपराध गर्ने समूह बढेको ब्युरोको तथ्यांकले देखाउँछ। साइबर अपराध ब्युरो भोटाहिटीका अनुसार चैत ११ गतेयता ब्युरोमा तीन सय ८० वटा उजुरी परेका छन्। त्यसमध्ये पाँचवटा उजुरीमात्रै दर्ता भएका छन्। ती उजुरी अनलाइन कारोबारसँग सम्बन्धित रहेका छन्।

प्रविधिको व्याप्त प्रयोग भएको र बाहिरी अपराध गर्न नपाएपछि लकडाउनको मौका छोपी साइबर अपराध गर्ने गिरोह मौलाएको हो।  

ब्युरोका एसपी राकेश सिंहले लकडाउनको बेला गम्भीर प्रकृतिका उजुरीमात्रै दर्ता गरेर अघि बढाएको जानकारी दिए। उनका अनुसार ब्युरोमा पर्ने उजुरीमध्ये सबैभन्दा बढी सामाजिक सञ्जालसँग सम्बन्धित छन्। त्यसमा पनि महिलाहरू साइबर अपराधबाट बढी पीडित भएको ब्युरोको तथ्यांकले देखाउँछ। तथ्यांकअनुसार तीन सय ८० मध्ये दुई सय ८० वटा निवेदन महिलाले नै दिएका छन्। उजुरी हेर्दा ‘पतिसँग सम्बन्ध–विच्छेद भएकाहरू सबैभन्दा बढी पीडित देखिएका छन्। फेक आइडी खोलेर अश्लील फोटो राखिदिने, फोटो जोडिदिने, म्यासेन्जरमा धम्की दिने, पैसा पठाउन लगाउनेजस्ता उजुरी बोकेर पीडितहरू आउँछन्,’ उनले भने। उनका अनुसार पछिल्लो समय फुर्सद भएकाले पनि अनाश्यक तरीकाले सामाजिक सञ्जालमार्फत अरूको चरित्र हत्या गर्ने काम भइरहेको भेटिएको छ।  

मुद्दा दर्ता गर्दैन प्रहरी  

लकडाउनको बेला आफूमाथि साइबर अपराध भएको भन्दै दैनिक २० जनाभन्दा बढी व्यक्ति निवेदन बोकेर ब्युरोमा पुग्छन्। ब्युरोले सबै उजुरी त लिन्छ तर मुद्दा चलाउँदैन। त्यसो त पीडितका निवेदनहरू अहिले फाइल बनाएर राख्नुबाहेक अन्य विकल्प छैन ब्युरोसँग। लकडाउनको बेला सबै उजुरीमा मुद्दा चलाउन नसकिने भएपछि प्रहरीले उजुरी मात्रै लिएको छ। ब्युरोका एसपी सिंहले यो बेला जघन्य र ठुला अपराधबाहेकका उजुरीमा त्यति काम नभएको बताए। तर सामाजिक सञ्जालमा कसैलाई गलत लेख्नेकोहरूका आइडी भने प्रहरीले बन्द गरिहरहेको उनको भनाइ छ। ‘लकडाउनको बीचमा हामीकहाँ सामाजिक सञ्जालमै चरित्र हत्या भएका धेरै निवेदन आए, सकेसम्म त्यस्ता चरित्र हत्या गर्ने व्यक्तिमा आइडी बन्द गराएका छौं,’ उनले भने, ‘दुई महिनामा दुई सयभन्दा बढी फेक आइडी ब्लक गरिएका छन्।’  

साइबर अपराध नयाँ आपराधिक ‘टुल्स’ भएकाले यसमा पीडितमात्रै होइन कारबाही गर्ने निकाय प्रहरी पनि अभ्यस्त भइसकेको छैन। प्रहरीले विभिन्न च्यानलहरू अपनाएर साइबर अपराधलाई नियन्त्रण गर्ने प्रयास भने गरेको पाइन्छ। तर पीडितहरूलाई अझै पनि साइबर अपराधसम्बन्धी ज्ञान नभएकाले कसरी कारबाही गराउने र कहाँ निवेदन दिने भन्ने विषयमा अलमल नै छ।  

साइबर ब्युरोमा काम गर्ने आधिकारिक कार्यालय भएकाले यहीं निवेदन वा उजुरी दिनु उपयुक्त मानिन्छ। यदि पीडितले अरू प्रहरी कार्यालयमा साइबर अपराधका उजुरी वा निवेदन दिएका छन् भने पनि यही पठाइन्छ। अरू अपराधका विषयमा उजुरी दिन प्रहरी कार्यालयमै पुग्नुपर्ने व्यस्था भए पनि साइबर अपराधबारे उजुरी दिन कार्यालयमै पुग्नुपर्छ भन्ने छैन। प्रहरीले अनलाइनमार्फत पनि उजुरी वा निवेदन दिन सकिने व्यवस्था गरेको छ। त्यसको लागि निवेदन टाइप गरी शीर्षक छुट्याएर प्रमाणसहित धधध।अथदभचदगचभबग२लभउबउियष्अिभ।नयख।लउ मा इमेल गर्न सकिन्छ। स्क्रिन–सट, परिचयपत्र, लिंक, भिडियो, अडियो, फोटोलगायत प्रमाण निवेदनसँगै पठाउनुपर्नेहुन्छ। यसबाहेक ९८५१२८६७७१ मा फोन गरी उजुरी टिपाउन पनि सकिने ब्युरोका एसपी सिंहले जानकारी दिए।  

ओझेलमा साइबार ब्युरो  

नेपाल प्रहरीले साइबर अपराधसम्बन्धी मुद्दाहरू बढ्न थालेपछि २०७५ सालदेखि भोटाहिटीमा साइबर ब्युरो भनेर छुट्टै कार्यालय सञ्चालनमा ल्यायो। उक्त कार्यालयमा पीडितहरू त्यति भिड भने लाग्दैन। कारण ब्युरोको काम–कारबाहीबारे आम सर्वसाधारणलाई जानकारी नै छैन। साइबर अपराध भए कहाँ जाने भनी धेरैजसो अलमलमा पर्छन्। अधिकतर मानिस साइबर अपराधका जाहेरी बोकेर महानगरीय अपराध अनुसन्धान महाशाखा नै पुग्ने गरेका छन्। महाशाखाले ती व्यक्तिहरूलाई ब्युरोमै पठाउने गरेको छ।  

यसबारेमा आम सर्वसाधारणलाई प्रहरीले जानकारी गराउँदै आएको प्रहरी प्रधान कार्यालयमा प्रवक्ता डिआइजी निरज शाही दाबी गर्छन्। तर सर्वसाधारणले साइबर अपराधका निवेदन बोकेर अन्य प्रहरी कार्यालयमा पुगेको देख्दा साइबर ब्युरो ओझेलमा छ भन्ने प्रष्ट हुन्छ। अहिले साइबर ब्युरोमा आउनुपर्ने २० वटा मुद्दा महाशाखा र १२ वटाभन्दा बढी मुद्दा परिसरमा रहेको महाशाखाका अधिकारीले बताए। ती सबै मुद्दाहरू साइबर ब्युरोमै ठोक्किने प्रवक्ता शाहीले बताए। 

‘हाम्रा कार्यक्रमहरूमार्फत सकेसम्म सबै जानकारी सर्वसाधारणलाई गराउँछौं, यसलाई अरूले पनि यस्तो ब्युरोे छ है भनेर खबर गरिदिए अझ सजिलो हुने थियो,’ उनले भने।  साइबर अपराधसम्बन्धी जानकारी आएपछि प्रहरीले निवेदकको सबै प्रमाण हेर्छ। त्यसपछि सामाजिक सञ्जालको कुन माध्यम (फेसबुक, ट्विटर, युटुब, इन्ट्राग्राम, भाइबर, म्यासेन्जर) बाट अपराध भएको हो त्यो पत्ता लगाउँछ। कुन इन्टरनेट कम्पनी प्रयोग गरेको छ त्यसबारे पनि सर्र्च गर्छ। आइपी ठेगाना पत्ता लागेपछि प्रयोग भएको आइडी हेर्छ। आइडी र निवेदनलाई तुलना गर्छ। पोस्ट गरिएका विषयहरू डिलिट भए नभएको चेक गर्छ। त्यसपछि न्युयोर्क र सिंगापुर तथा त्यो सामाजिक सञ्जालको आधिकारी कार्यालय जहाँ छ, त्यहीं पठाएर बन्द गर्न लगाउँछ।

प्रकाशित: २५ जेष्ठ २०७७ ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App