६ वैशाख २०८१ बिहीबार
समाज

रसुवाको १६ स्थानमा आलुको बीउ उत्पादन सुरु

रसुवाको १६ स्थानमा आलुको बीउ उत्पादन सुरु भएको छ । जिल्लाको पाँचवटै गाउँपालिकाका कृषकलाई पूर्वमूल बीउ अनुदानमा दिएपछि मूल बीउ उत्पादन सुरु भएको हो ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रसुवाले ६५ कृषकलाई १० हजार केजी आलुको बीउ उपलब्ध गराएको छ । आलु जोन कार्यक्रम अन्तर्गत कार्यालयले जिल्लामा नयाँ प्रकारको बीउ बाहिरबाट ल्याएर ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।  

अहिले जिल्लामा पूर्वमूल बीउबाट मूल बीउ उत्पादनका लागि जनकदेव, खुमल उज्वल, खुमल उपहार, कार्डिनल गरी चार जातका बीउ कृषकहरुले लगाएका छन् । जिल्लामा अहिले २ हजार ५ सय हेक्टर जमिनमा आलु खेति हुँदै आएको छ ।  

जिल्लामा हिउँदे र बर्षे गरी दुई सिजनमा आलु खेती हुने गर्दछ । कृषकहरुले लामो समयदेखि पुरानो बीउको प्रयोग गर्दै आएका छन् । आलु जोनले यस वर्ष ५ सय हेक्टरमा आलुको बीउ उत्पादन गर्ने तयारी गरेको थियो ।  

लकडाउनका कारण कृषकहरु सम्पर्कमा आउन नसकेपछि २ सय हेक्टरमा मात्र खेती गरिएको कार्यक्रमका प्रमुख दिपक अधिकारीले बताए । जिल्लामा पछिल्लो समय जमिन बाँझो रहन थालेपछि कार्यक्रम अघि बढाइएको उनको भनाइ छ ।  

बाँझो जमिनमा आलु खेती गरेर हिमाली क्षेत्रको आयश्रोत वृद्धि गरी गरिबी हटाउन सहयोग पुग्ने विस्वास लिइएको छ । यसअघि जिल्लामा साना कृषकहरूको बढी संलग्नता रहेको निर्वाहमुखी कृषि प्रणाली रहेकोमा थियो ।  

पछिल्लो समय जिल्लामा कृषिमा यान्त्रीकरण हुँदै गएको र यसको व्यवसायीकरण हुँदै जाँदा उत्पादन बढ्दै जाँदा कृषकले बजारीकरणको कार्यक्रम ल्याउन पर्ने बताएका छन् । हिमाली क्षेत्रमा अन्य बालीको तुलनामा आलुबालीको उत्पादन बढी भएकाले यसलाई नगदेबालीको रूपमा लिने गरिएको पाइन्छ ।

 

प्रकाशित: २१ जेष्ठ २०७७ ०८:२९ बुधबार

कृषक रसुवा बीउ उत्पादन