१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सगरमाथा दिवसमा सुनसान सगरमाथा

नेपाल सरकारले  सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो। सतसट्ठी वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ।  

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। त्यसपछि शुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ।  पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष रुपमा मनाउने गरिन्छ। सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ भने मे २९ मानिस र सगरमाथाबीचको सामिप्यता बढाउने दिन हो।  

यो वर्षको वसन्त ऋतुमा सगरमाथा सहित नेपालका सबै हिमालहरु सुनसान बनेका छन्। विगत वर्षमा यो समय आरोहीको भीडभाड तथा चहलपल बाक्लो हुने सगरमाथा क्षेत्रसहितका हिमाल एवं हिमशृङ्खला यो वर्ष भने विश्वभर फैलिएको कोरोना महामारीका कारण सुनसान बनेको छ। कोरोना भाइरस सङ्क्रमणको डरले यात्रा रोकिंदा आरोहीहरु आउन सकेका छैनन्। 

सरकारले सबै हिमाल आरोहण कार्य यो मौसमका लागि बन्द गरेको छ। सगरमाथा आरोहणका क्रममा अहिलेसम्म विभिन्न कीर्तिमानी कायम भएको छ। आरोहण यात्रा शुरु भएयता अहिलेसम्म करिब १२ हजारभन्दा बढी स्वदेशी तथा विदेशीले सगरमाथा आरोहण गरिसकेका छन्।

तीन महिना सगरमाथाको आधारशिविर भरिभराउ हुने, त्यस क्षेत्र वरपर सरसफाइ गर्ने लगायतको काम हुने भए पनि अहिले सबै कार्य ठप्प भएको पर्यटन व्यवसायी किताबसिं तामाङको भनाइ छ। विसं २०७२ को महाविनाशकारी भूकम्पले थलिएको आरोहण क्षेत्र क्रमैसँग माथि उठ्दै गएको भए पनि यो वर्ष सुनसान हुने यहाँका पर्यटन व्यवसायीसहित सिङ्गो राज्यलाई नै ठूलो नोक्सानी भएको छ। जसले गर्दा यस क्षेत्रका होटल व्यवसायसमेत धरासायी बनेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाको भनाइ छ।

प्रकाशित: १६ जेष्ठ २०७७ ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App