२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

हटस्पटका नगर प्रमुखहरू भन्छन्, 'अब हात खडा गर्छौं'

गौर नगरपालिकाका प्रमुख अजय गुप्ता ।

कोरोना संक्रमणको रेड जोन प्रदेश २ मा संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। सिरहा, धनुषा, महोत्तरी, रौतहट र बारा गरी ३५ जना नयाँ संक्रमित थपिँदा संक्रमितको संख्या दुई सय ६७ पुगेको प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

सिरहामा पाँच, धनुषामा एक, महोत्तरीमा दुई, रौतहटमा २२ र बारामा पाँच जना नयाँ संक्रमित थपिएका छन। २२ जना थपिएसँगै रौतहटमा कुल संक्रमितको संख्या ७० पुगेको छ। बारामा मंगलबार पाँच जना थपिएसँगै कुल संक्रमितको संख्या ४६ पुगेको छ। पर्सापछि रौतहट कोरोना संक्रमणको हटस्पट बनेको छ।

रौतहटको सदरमुकाम गौरस्थित जुद्ध मावि क्वारेन्टाइनमा पहिलोपटक सातजनामा संक्रमण देखिएको छ। त्यस्तै देवाही गोनाही नगरपालिकास्थित क्वारेन्टाइनमा १३ गरुडामा एक र राजदेवी नगरपालिकामा एकजनामा संक्रमण पुष्टि भएको प्रजिअ वासुदेव घिमिरले बताए। उनीहरू सबैलाई कहाँ राख्ने भन्ने यकिन हुन सकेको छैन। ‘स्थानीयस्तरमै कुनै संरचनालाई आइसोलेसन बनाएर राख्ने गरी व्यवस्था मिलाउन भनेका छौं,’ प्रजिअ घिमिरेले बताए।

जिल्लाको गौर नर्सिङ इन्सटिच्युटको आइसोलेसनमा १७ पुरुष र एक महिला गरी १८ जना भर्ना भएपछि शड्ढया भरिएको छ। गौरकै गौरीशंकर क्याम्पसमा आइसोलेसन कक्ष बनाएर दुई संक्रमितलाई राखिएको छ। राजपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा २५ संक्रमितलाई राखिएको छ। सबै ठाउँको आइसोलेसन भरिएपछि प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा संक्रमितलाई राखिदिएँ,’राजपुर नगरपालिकाका प्रमुख मोहम्मद सकिल अख्तरले भने, ‘यहाँ कोरोना संक्रमितलाई मात्रै राखेको छु। डाक्टर छैन। स्वास्थ्य चौकीकै स्वास्थ्यकर्मीहरू पालैपालो बसिरहेका छन्।’

कोरोना संक्रमण पुष्टि भएका सबै भारतबाट फर्केका नेपाली हुन्। भारतका विभिन्न स्थानमा रोजगारीका लागि गएका मजदुर घर फर्केसँगै कोरोना संक्रमितको संख्या जिल्लामा ह्वात्तै बढेको छ। अहिले जिल्लाको विभिन्न क्वारेन्टाइनमा भारतबाट फर्केका नेपाली कामदार तीन हजारभन्दा बढी छन्। अझै आउँदै छन्। उनीहरू फर्केसँगै व्यवस्थापनको चुनौती थपिएको छ। रौतहट कोरोनाको हटस्पट बन्दा समेत सरकारबाट आवश्यक सहयोग नपाएको पालिका प्रमुखहरूको गुनासो छ।  

देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र प्रसाद पट्टेल ।

विश्वभर कोभिड १९ को संक्रमण बढेसँगै भारतले गरेको लकडाउनका कारण मजदुरहरू उतै फसेका थिए। अहिले खुुकुलो बनाएपछि उनीहरू धमाधम कुनै न कुनै माध्यमबाट सीमासम्म आउन थालेका छन्। ‘सीमाबाट हामीले सिधै क्वारेन्टाइनमा लैजाने गरेका छौं,’ अख्तरले भने, ‘अहिलेसम्म पुष्टि भएका अधिकांश भारतबाट फर्केका नेपाली हुन्।’

पछिल्लो समय भारतबाट मजदुरी गरेर नेपाल फर्केका मजदुरहरूमा कोरोना संक्रमण पुष्टिको क्रम बढेको छ। भारतले रेल तथा बस सेवा सुरु गरेपछि नेपाली कामदार भारतबाट धमाधम फर्किदै छन्। सीमासम्म आएका उनीहरूलाई स्थानीय तहहरूले आ–आफ्ना नागरिकलाई ल्याएर क्वारेन्टिनमा राख्दै आएको छ।

सीमामा अझै पनि ठूलो संख्यामा भारतबाट फर्केका मजदुरहरू बसिरहे पनि स्थानीय तहले क्वारेन्टाइनको व्यवस्थापन गर्न नसक्दा उनीहरूलाई तत्काल ल्याउन सकेका छैनन्। भारतबाट फर्किनेहरूको लर्को तथा संक्रमितको व्यवस्थापन अनुभूति साझा रहेको बताउँदै प्रदेश २ को कोरोना ‘हटस्पट’ रौतहटको गौर नगरपालिकाका प्रमुख अजय गुप्ताले भने, ‘सरकारबाट अहिलेसम्म मास्क सहयोग पनि पाइएको छैन। दुई महिनादेखि क्वारेन्टिन सञ्चालन गरेर आवस तथा खानपान व्यवस्थापन गरिरहेका छौं। दैनिक कम्तीमा ५० हजार खर्च भइरहेको छ। सबै पैसा क्वारेन्टिन व्यवस्थापनमै सकिन लाग्यो।’ उनले थपे, ‘अब हात उठाउनुको विकल्प छैन। संघीय र प्रदेश सरकारबाट सहयोग प्राप्त नभए खर्च धान्न मुस्किल छ।’

सुरुमा क्वारेन्टिन व्यवस्थापन गर्न भन्यो अब आइसोलेसन व्यवस्थापन गर्ने जिम्मा पनि आफूहरूका टाउकामा थोपरिएको गुप्ताले बताए। ‘सहयोग कसैले नगर्ने खालि निर्देशन मात्रै दिने। घरी यो गर, घरी त्यो गर भनेर सबै पन्छिँदै छन्,’ उनले भने, ‘जिम्मेवारीजति पालिका प्रमुखको काँधमा हाल्दै छ। हामी पनि सक्ने जति त गर्ने हो नि, नसक्ने भएपछि हात उठाउँछौं। अब हात उठाउने बेला भइसक्यो।’ रौतहटमा कोरोना विस्फोट भइरहेको उनले बताए। सरकार भएको अनुभूति गर्न नसकेको उनको भनाइ छ। ‘हामी दुई महिनाको बन्दाबन्दीमा स्वास्थ्य सेवा मजबुत बनाउनुपथ्र्यो तर त्यो गर्न सकेनौं,’ उनले भने, ‘केन्द्रीय सरकार यो अवधिलाई राजनीतिक दाउपेच साँध्नमै खेर फाल्यो। प्रदेश सरकारले पनि खासै केही गर्न सकेन। समयमै नचेत्दाको भद्रगोल बेहोर्दै छौं।’

आइसोलेसनको जिम्मा दिने तर ठाउँ नदेखाउने गुनासो उनले गरे। ‘हामीले गरुडाको वीरतास्थित प्रहरी स्कुललाई आइसोलेसन बनाऔं भन्दा प्रहरीका अधिकारीहरूले त्यो कहाँ हुन्छ भन्नुहुन्छ,’ उनले भने, ‘यहाँ पाँच सय शड्ढयाको आइसोलेसन बनाउन सक्ने पूर्वाधार छ। हामी आइसोलेसन बनाइदिन तयार हुँदा पनि पूर्वाधार उपलब्ध नहुँदा चुप बस्न बाध्य भयौं।’

क्वारेन्टिन व्यवस्थापनको जिम्मेवारीसम्म त ठीकै भए पनि आइसोलेसनको जिम्मा पनिआइलाग्न थालेपछि हात उठाउने बाध्य भएको देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेलले बताए । ‘अब हामी नसक्ने भयौं।सीप, जनशक्ति तथा उपयुक्त पूर्वाधार पनि छैन,’ उनले भने, ‘हावा तालमा आसोलेसन निर्माण गर्नु त भएन नि। मानिसको ज्यानको सवालमा मजाक त गर्नु भएन नि। आइसोलेसनमा अक्सिजन, दक्ष जनशतिm र उपयुक्त पूर्वाधार त हुनुपर्छ नि।’ उनले थपे, ‘यी कम्पोनेन्ट नभएपछि कसरी आइसोलेसन सञ्चालन गर्न सकिन्छ ?क्वारेन्टिन र आइसोलेसनमा फरक हुन्छ नि,क्वारेन्टिनलाई आइसोलेसनको नाम दिन सकिन्न।’आफूहरूसँग हेल्थ असिस्टेन्टभन्दा माथिका स्वास्थ्यकर्मी नभएको उनको भनाइ छ। केही तलमाथि भए कसले जिम्मा लिन्छ ?’ उनले भने।

प्रकाशित: १४ जेष्ठ २०७७ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App