३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

स्वास्थ्यकर्मीलाई आइसियु उपचार तालीम

कास्की गण्डकी प्रदेशका ११ वटै जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोभिड–१९ का जटिल अवस्थाका बिरामीलाई सघन उपचार कक्ष(आइसीयु)मा कसरी उपचार गर्ने भनेर तालिम दिन शुरु गरिएको छ।

सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सञ्चालन गरिएको सो तालिममा जिल्ला अस्पताल, लेखनाथ लायन्स अस्पताल र मातृशिशु मेमोरियल अस्पतालका ६३ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको छ।  

कोभिड–१९ को सङ्क्रमण देखिएका सम्भावित जटिल अवस्थाका बिरामीलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने भएकाले अहिलेदखि नै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न तालिम दिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए। सहभागीहरुलाई विभिन्न समूह बनाएर सामाजिक दूरी कायम गरी व्यवस्थापन तालिम दिएको उनले बताए। 

कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीलाई जिल्लामा नै उपचारको व्यवस्थाका लागि जिल्लास्थित अस्पताललाई तयारी अवस्थामा राखिएको बताउँदै उहाँले गम्भीर र जटिल अवस्थाका बिरामीलाई स्वास्थ्यकर्मीको टोलीले नै आइसीयुमा कसरी उपचार व्यवस्थापन गर्ने भन्नेबारेमा विशेषज्ञ चिकित्सकले जानकारी गराउने उनको भनाइ छ।  

सामान्य केस म्यानेज भइहाल्छ तर केस जटिल भएमा क्रिटिकल केयरमा लाग्नुअघि कसरी हस्पिटलको टिमले म्यानेज गर्ने भनेर तालिम दिन लागेका हौँ, निर्देशक शर्माले भने, जटिल बिरामी हुँदासाथ एक जना व्यक्तिले कसरी हेर्ने, समग्र टिमले कसरी म्यानेज गर्ने र आइसीयु व्यवस्थापन र यहाँको इस्युहरु केके हुन्छन् भनेर सिकाइनेछ।

आइतबारदेखि शुरु तालिममा प्रत्येक जिल्लाबाट दुई मेडिकल अफिसर, दुई नर्सिङ र एक जना पारामेडिकलका स्वास्थ्यकर्मीलाई सघन उपचारकक्ष व्यवस्थापनसम्बन्धी ज्ञान दिइनेछ। 

गण्डकी प्रदेश सरकारले यसअघि नै सबै जिल्ला अस्पतालमा आइसीयु कक्ष निर्माण गर्ने निर्णय गरेको र कोभिड–१९ सङ्क्रमित जटिल अवस्थाका बिरामीलाई जिल्लास्थित आइसीयु कक्षमा उपचार व्यवस्थाका लागि अहिलेबाट स्वास्थ्यकर्मीलाई तयार पार्न लागिएको निर्देशनालयले जनाएको छ।  

प्रदेश सरकारले यसअघि नै प्रदेशका ११ वटै जिल्लामा ४० वटा आइसीयुकक्ष स्थापना गर्ने गरी बजेट विनियोजन गरिसकेको छ। मनाङ र मुस्ताङमा दुई/दुई तथा अन्य जिल्लामा चार÷चार वटा कक्ष निर्माण गर्ने सरकारको योजना छ।  

प्रकाशित: १२ जेष्ठ २०७७ ०८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App