७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोना क्षेत्रमा खट्ने ट्राफिक ‘उत्कृष्ट प्रहरी’ घोषित

वैशाख महिनाका ‘उत्कृष्ट प्रहरी’ तिलक पौडेल । तस्बिरः महेश्वर

वैशाख महिनाभर कोरोना भाइरस (कोभिड–१९) को ‘इपिसेन्टर’ बनेको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा खट्ने ट्राफिक हवल्दार प्रदेश १ को ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन् । स्थानीय नुरी मस्जिदका ११ भारतीयसहित १३ जमातिमा वैशाख ५ गते एकैचोटी संक्रमण पुष्टि भएलगत्तै ‘सिल’ गरिएको भुल्केको सुरक्षामा अहोरात्र खटेका तिलक पौडेललाई प्रदेश प्रहरीले वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।  

पहिले १३ र ४ दिनभित्र थप १३ गरी २६ जना संक्रमित भेटिएपछि सदरमुकाम त्रसित बन्न पुग्दासम्म अदम्य साहस र आँटका स्थानीयको सुरक्षामा खट्ने पौडेललाई उत्कृष्ट प्रहरी हुन पाएकोमा गर्व लागेको छ । एउटै गाउँका मस्जिद र स्थानीय २६ जना संक्रमित पुष्टि भएपछि भुल्केमा जान त के नाम सुन्दै डराउने वातावरणमा पनि उनी त्यहाँको शान्ति सुरक्षा र ट्राफिक नियममा निरन्तर खटिरहेको प्रतिफल उत्कृष्ट प्रहरीको पुरस्कार पाउन सफल भएको बताउँछन् ।  

प्रदेश प्रहरीले शुक्रबार सार्वजनिक गरेको नतिजामा पौडेललाई संगठनको विभागीय नीति र निर्देशन अनुसार कोरोना प्रभावित क्षेत्रमा गएर निरन्तर खटेवापत महिनाको उत्कृष्ट प्रहरी भएको घोषणा गरेको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ । आफु उत्कृष्ट प्रहरीको सूचीमा परेको खवर पाउँदा ज्यानको जोखिम मोलेर प्रभावित क्षेत्रमा खटेको पुरस्कार मिलेको अनुभूति भएको छ पौडेलललाई । ‘कोरोनाले एक्कासी च्यापेको खवर सार्वजनिक भएपछि जिल्लै त्रसित भएका बेला ड्युटी गर्न नजान धेरैले आफुलाई सुझाव दिएका थिए’ पौडेलले भने ‘तर, जनताको ज्युधनको रक्षा गर्ने कसम खाएको पेशा गर्नु व्यवसायिक धर्म ठानेर लागी परेँ ।’  

त्रसित मनोविज्ञानलाई सहज बनाउन सुरक्षाकर्मी नै अघि बढ्नुपर्ने ठानेर जनतालाई ढाडस दिँदै सुरक्षित भएर सेवा गर्दा उत्कृष्ट हुन पुगेकोमा उनलाई गर्व लागेको छ । घर परिवार र आफन्तले भुल्केमा खट्न जोखिम हुने बताए पनि आफु कर्तव्यनिष्ठ भएर संगठनको आदेश पालना गरेको उनले बताए । संक्रमितक्षेत्र भुल्केमा उनले खाली प्रहरीको ड्युटी मात्र गरेनन्, एक कदम अघि बढेर गाउँलेलाई कोरोनाबाट बँच्ने उपायबारे जानकारीमूलक सूचना र सन्देश फैलाएर कोरोनाविरुद्ध लड्न मनोबल पनि बढाईदिएको जिल्ला ट्राफिक इन्चार्ज होम खनालले बताए ।  

‘त्यस्तो त्रसित वातावरणमा निर्धक्क भएर प्रभावित क्षेत्र खट्न राजी भएकैैले प्रदेश प्रहरीमा उनको नाम सिफरिस गरिएको हो’ इन्चार्ज प्रहरी नायव निरीक्षक खनालले भने ‘नभन्दै उनको योगदानको कदर गर्दै प्रदेशले उत्कृष्ट प्रहरी घोषणा गरेर कर्तव्यनिष्ट सेवकको पुरस्कार  दिएकोमा हामी खुसी छौं ।’ लकडाउनका बेला सबै घरभित्रै बस्न, अत्यावश्यक काम परे मास्क, पन्जा र सेनिटाइजर अनिवार्य प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न प्रत्येक व्यक्तिलाई सम्झाउने कार्य उनले गरेको खनालले बताए ।  

 

 

प्रकाशित: १० जेष्ठ २०७७ १४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App