४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश २ : प्रादेशिक क्वारेन्टिन १४ दिनका लागि सिल

धनुषा प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजीकै बनाइएको प्रादेशिक क्वारेन्टिनलाई बुधबारदेखि सिल गरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नंं ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टिनलाई बन्द गरिएको हो।

उक्त क्वारेन्टिनमा बसेका कोरोना शङ्कास्पदमध्ये पटकपटक गरेर पाँच व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेपछि १४ दिनका लागि बन्द गर्ने निर्णय जिल्ला सङ्कट व्यवस्थापन समितिले बुधबार गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए।

नेपाली सेनाको रेखदेख तथा प्रदेश नंं २ सरकारले सञ्चालन गरेको उक्त क्वारेन्टिनमा शुरुका दिनमा प्रदेश नंं २ का विभिन्न जिल्लाका कोरोनाका आशङ्कित व्यक्तिलाई राख्ने काम हुँदै आएको छ। अहिले पनि क्वारेन्टिमा ८१ नागरिक धनुषा, महोत्तरी तथा भारतीय रहेको क्वारेन्टिनका इञ्चार्ज सन्तोषकुमार ठाकुरले जानकारी दिए।

अब क्वारेन्टिनमा भएका सबैको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरेर हालका सबैलाई खाली गरिने र पुनः स्यानिटाइज गरी नयाँ शिराबाट सञ्चालन गरिने इञ्चार्ज ठाकुरले बताए। खासगरी क्वारेन्टिनमा दूरी अपनाइए पनि चेतनाको अभावले खानामा कतै लसपस भयो कि भन्ने आशङ्का भएकाले सबैको परीक्षण नगरेसम्मका लागि सिल गरिएको छ। धनुुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बसेको व्यवस्थापन समिति धनुषाको  बैठकले नगराइन नगरपालिकालाई अर्को क्वारेन्टिन सञ्चालन गर्न पत्राचारसमेत गरेको छ।

प्रकाशित: ८ जेष्ठ २०७७ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App