२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

उदयपुरमा कोरोना संक्रमण तेस्रो चरणमा, संक्रमित संख्या ३३ पुग्यो

उदयपुर- १६ जमातिसहित ३२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएको उदयपुरमा शुक्रबार साँझ थप १ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार २६ पत्रकारसहित ६० को स्वाव संकलन गरी परीक्षण गर्न बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको रिपोर्टले २५ वर्षीय युवामा संक्रमण पुष्टि भएको देखाएको हो ।

योसँगै उदयपुरमा संक्रमितको संख्या ३३ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीका अनुसार त्रियुगा नगरपालिका ११ मा बस्दै आएका संक्रमित युवालाई शुक्रबार राति जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको र शनिबार विहान उपचारार्थ कोरोना विशेष अस्पताल विराटनर पठाउन लागिएको छ । उनीसँग सम्पर्कमा रहेका दुईमध्ये एकको रिपोर्ट नेगेटिभ आए पनि क्वारेन्टाइनमा पठाइएको छ अर्का एकलाई आइसोलेसनमा राखिएको छ ।  

सुवेदीका अनुसार वैशाख ५ गते पहिलो पटक त्रियुगा ३ भुल्केमा ११ भारतीयसहित १३ मा कोरोना संक्रमण देखिएको थियो । परीक्षणको क्रममा मोरङका ४ जमाति र बाँकी भुल्केका गरी संक्रमित संख्या २८ पुगेको थियो । परीक्षण गरिसकिएका भुल्केबासीको पुनः स्वाव दोहोर्‍याउँदा थप ४ जना संक्रमण पाइए पनि भुल्केबारिहको संक्रमित भेटिएको यो पहिलो हो ।  

स्वास्थ्य कार्यालयले अहिलेसम्म नुरी मस्जिद र स्थानीयमा मात्र सीमित रहेको कोरोना भुल्केबाहिर र गैरमुस्लिम समुदायमा देखा पर्नुले संक्रमण समुदायस्तरमा फैलिएको हुनसक्ने भन्दै सचेत गराएको छ । स्वास्थ्यसँगै त्रियुगा नगरपालिका र प्रशासनले लकडाउनलाई कडाई गर्दै सबैलाई घरघर बस्न आग्रह गरेको छ ।  

स्वास्थ्य कार्यालयले संक्रमित युवामा कोरोनाको लक्षण भने केही नदेखिएको जनाएको छ । यसअघिका ३२ संक्रमितमा पनि भाईरसको लक्षण अहिलेसम्म नदेखिएको सुबेदीले बताए ।  

संक्रमित ३२ मध्ये भुल्केका ५ सहित १५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । पहिलो पटक ८, त्यसपछि ४, तेस्रो पटक २ र शुक्रबार १ जना डिस्चार्ज भएको कोरोना अस्पताल विराटनरलाई उद्धृत गर्दै स्वास्थ्य कार्यालयले जनाएको छ । डिस्चार्ज भएर फर्केका भुल्केका १ महिलासहित ५ जना त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा क्वारेन्टाइनमा छन् ।  

उदयपुरमा बिहीबारसम्म ५ सय ४५ महिला र ९ सय ५२ पुरुषको पिसिआर संकलन भईसकेको छ । कोरोनाको उद्गमविन्दु भुल्केलाई ठान्दै त्यहाँका संक्रमित परिवार र गाउँलेको तेस्रो पटकसम्म परीक्षण गरिएको छ । संक्रमण भए/नभएको यकिन गर्न उनीहरुको दोहोरो तेहरो पिसिआर संकलन गरिएको सुबेदीले बताए । पहिलो परीक्षणमा २८ र पुनः परीक्षणमा ४ जना थपिएपछि तेस्रो पटक पनि परीक्षण गरिएको छ ।

तेस्रो चरणसम्मको परीक्षणले ३२ भन्दा थप संक्रमित नदेखाए पनि भुल्केसँग ‘कनेक्सन’ मा रहेका आधादर्जन, फिल्ड रिपोर्टिङ गर्ने पत्रकार र सुरक्षाकर्मीसहित ६० को स्वाव परीक्षणमा १ युवा संक्रमित पाइएका हुन् । शनिबारदेखि युवाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर थप अन्यको परीक्षण गर्न स्वाव संकलन गरिने सुबेदीले बताएका छन् । 

प्रकाशित: ३ जेष्ठ २०७७ ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App