खोटाङ – जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम राबुमा सोलार सिस्टममार्फत खोलाको पानी गाउँमा निकालिएको छ । प्रदेश सरकार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्बर–२ ओखलढुंगाको आर्थिक तथा प्राविधिक सहयोगमा सौर्य उर्जा प्रयोग गरेर स्थानीय राबु खोलाबाट १ हजार ६ सय १० मिटर माथि गाउँमा पानी निकालेर वितरण गरिएको हो ।
खानेपानीको चरम अभाव हल गर्नका लागि ३ हजार केभीए क्षमताको सोलार सिस्टममार्फत खोलाको पानी गाउँमा लिफ्ट गरिएको राबु खोला लिफ्टिङ खानेपानी आयोजनाका अध्यक्ष चक्र राईले बताए । स्थानीयको लगातार तीन वर्षको प्रयासपछि सफल भएको राबु खोला लिफ्टिङ खानेपानी आयोजनाबाट साविकको दुर्छिम–७ राबु र दुर्छिम–१ जोरकाफलका ९१ घरका ४५७ जना स्थानीय लाभान्वित भएका छन् । ‘डाँडापाखाको सबै मुहान सुक्यो । अहिले लिफ्टिङ गरेको पानी गाउँमा वितरण गरिएको छ,’ अध्यक्ष राईले भने, ‘९ /१० पुस्ताले ढाडमा खानेपानी बोकेर खाए, हामीले कम्तीमा घर–घरमा बाँड्न सफल भएका छौँ ।’
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको १ करोड ७७ लाख बराबरको नगद तथा जिन्सी सहयोग एबं उपभोक्ताको २३ लाख ३२ हजारको श्रमदानबाट लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको हो । गाउँमा भएका मुहान २०७२ सालको भूकम्पले सुकेपछि राबुमा खोलाको पानी निकाल्ने योजना अघि सारिएको थियो । पानी लिफ्टिङका लागि खोलामा ७५ हजार लिटरको, बीचमा ५५ हजार लिटरको र राबु सिरानमा १ लाख लिटरको ट्यांकी बनाइएको छ । घाम लागेकोबेला दैनिक ५० एमएमको पाईपमार्फत बिहान ११ बजेदेखि ३ बजेसम्ममा ५४ हजार लिटर पानी गाउँमा निस्कने गरेको उपभोक्ता समितिले जनाएको छ । २०७६ साल चैत ४ गतेदेखि सुरु गरिएको आयोजनाको गत फागुन २३ गते सफल परिक्षण गरिएको थियो । विद्युतबाट पानी लिफ्ट गर्दा महंगो शुल्क तिर्नुपर्ने भएकाले सो लिफ्टिङ आयोजनामा सोलार सिस्टमको प्रयोग गरिएको हो ।
सोलारबाट निकालिएको पानीको शुल्क प्रतिलिटर ६ पैसा लाग्ने गरेको उपभोक्ता समितिका अध्यक्ष राईले बताए । ‘विद्युतबाट पानी निकाल्दा शुल्क महंगो पर्न जाँदो रहेछ, त्यही भएर हामीले सोलारबाट पानी निकाल्ने योजना बनाएका हौँ,’ अध्यक्ष राईले भने, ‘घाम लागेको बेला दिनमा ५४ हजार लिटर पानी निस्कन्छ । शुल्क पनि प्रतिलिटर ६ पैसा मात्र पर्दोरहेछ ।’
घाम नलागेको दिन भने सोलारले काम नगर्दा लिफ्टिङको उपकरण बन्द हुने गरेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिमको राबुमा पानीको अभाव हल गर्ने प्रयास स्वरुप लिफ्टिङ आयोजना सञ्चालन गरिएको हो । परिक्षण सफल भए लगत्तै उद्घाटनको तयारी गरिए पनि लकडाउनका कारण आयोजनाको उद्घाटन मिति सरेको उपभोक्ता समितिले जनाएको छ ।
प्रकाशित: २ जेष्ठ २०७७ ०६:२१ शुक्रबार