२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कोराना बिमा गर्दै जुम्लाका जनप्रतिनिधि

कोरोना बिमा गर्दै चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल । तस्बिर : नागरिक

जनताको नजिकको सरकारको रूपमा रहेका स्थानीय सरकारका जनप्रतिनिधिले धमाधम कोरोना बिमा गर्न थालेका छन् । सधैं जनतासँग घुलमिलमा रहनुपर्ने भएकाले संक्रमणको खतरा हुने भन्दै कोराना बिमा गर्न थालेका हुन् । सबै जुम्लाबासीलाई  कोरोना बिमा गर्न जुम्लाका अधिकांश जनप्रतिनिधिले आग्रह गरेका छन् ।

चन्दननाथ नगपालिकाका प्रमुख कान्तिका सेजुवाल र जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा कोरोना बिमा गर्ने जुम्लाको पहिलो जनप्रतिनिधि हुन् । उनीहरूले एक/एक लाख रुपैयाँबराबरको बिमा गरेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्णाली प्रदेश प्रबन्धक क्रृषिराम पाण्डेले जानकारी दिए । 

उनका अनुसार जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोरा र तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुुढालगायतले कोराना बिमा गरेका हुन् । स्थानीय तहका वडाध्यक्ष र वडा सदस्यहरूले पनि कोराना बिमा गर्न थालेको प्रबन्धक पाण्डे बताउँछन् । कोराना भाइरसको संक्रमण फैलन सक्ने भन्दै धमाधम कोरोना बिमा गर्न थालेका हुन् ।  

कोरोना बिमा गर्ने (बिमित)लाई बिमांक रकममा दुई विकल्प राखिएको छ । एक लाख रुपैयाँको बिमा गर्नेले प्रतिव्यक्ति वार्षिक एक हजार रुपैयाँ प्रिमियम भुक्तानी गर्नुपर्नेछ । परिवारका हकमा वार्षिक प्रतिव्यक्ति ६ सय रुपैयाँका दरले प्रिमियम भुक्तानी गर्नुपर्ने शिखर इन्स्योरेन्स कम्पनीका कर्णाली प्रदेश प्रबन्धक क्रृषिराम पाण्डे बताउँछन् ।

उनका अनुसार ५० हजार रुपैयाँको बिमांकमा आधा अर्थात प्रतिव्यक्ति वार्षिक ६ सय र परिवारकै गर्दा प्रतिव्यक्ति तीन सय रुपैयाँका दरले प्रिमियम भुक्तानी गर्नुपर्नेछ । यदि तीन सदस्य परिवारको एक/एक लाखको बिमा भएको छ भने प्रतिव्यक्ति वार्षिक ६ सयका दरले प्रिमियम बुझाउनुपर्छ ।

पिसिआरमार्फत जब उनीहरूमा कोरोना संक्रमण भएको पुष्टि हुन्छ, प्रतिव्यक्ति एक लाखका दरले बिमा रकम प्राप्त गर्नेछन् । पिसिआरबाट कोरोना भाइरस पुष्टि भएपछि बिमा गर्नेले बिमांक रकम प्राप्त गर्ने प्रबन्धक पाण्डेले बताए ।

बिमा गरेको १५ दिनको समय भने पूरा भएको हुनुपर्ने व्यवस्था छ । ‘१४ दिनको त क्वारेन्टाइनकै अवधि भएकाले त्यसलाई मध्येनजर गर्दै १५ दिनको ग्याप पिरियड राखिएको हुन्छ,’ प्रबन्धक पाण्डेले भने । बिमितको कम्पनीहरूले बिमा आवेदन स्वीकृत गरेको १५ दिनपछि पिसिआरमार्फत कोरोना पोजेटिभ देखिएमा उसले बिमा रकम प्राप्त गर्नेछ ।

यो बेला सबै मानिस कोरोना भाइरसबाट डराएको हुनाले सहज उपचारका लागि भए पनि बिमा गर्नेको संख्या बढेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख कर्मा बुढा कोरोना बिमा निकै फाइदाजनक भएको बताउँछन् । उनले भने, ‘कोरोनाको त्रासले निकै पीडा दिएको छ । संक्रमण भइहालेमा सहज उपचारका लागि भए पनि बिमा गर्नु आवश्यक छ ।’

आफूले कोरोना बिमा गरेर अरूलाई पनि बिमा गर्न उत्पे्ररित गर्ने उद्देश्यले पहिलो बिमा आफूले गरेको उपप्रमुख बुढा बताउँछन् । अनावश्यक खर्च बचाएर बिमा गर्दा जीवन सुरक्षित हुने उनीहरू बताउँछन् ।  

हालसम्म जुम्लामा कोराना बिमा तीन सयभन्दा बढीले गरेका छन् । सहकारी संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, व्यापारी, उद्योगी सबैले कोराना बिमा गरेका छन् । जिल्लास्थित जिपी स्टेशनरीका सञ्चालक गणेश रोकाया पारिवारिक बिमा गर्ने पहिलो व्यवसायी बनेका छन् ।

नियामक बिमा समितिले निर्जीवन बिमा कम्पनीहरूलाई बिमा लेख जारी गर्न निर्देशन दिएको छ । हाल सञ्चालनमा रहेका २० वटै निर्जीवन बिमा कम्पनीले कोरोनाको बिमा लेख जारी गरिरहेका छन् ।

कोरोनाको उपचार सरकारले नै गर्ने प्रतिबद्धता जनाएको छ । यद्यपि लामो समय अस्पताल वा क्वारेन्टाइनमा बस्नुपर्ने अवस्थामा व्यक्तिको पेसा प्रभावित हुने भएकाले सो रकमबाट घरखर्च चलाउन मद्दत पुग्नेछ । यसले कोरोनाबाट परिवारमा पर्न सक्ने आर्थिक जोखिमलाई न्यून गर्न मद्दत पुग्नेछ । अनलाइनका माध्यमबाट समेत सर्वसाधारणले इच्छा लागेको कम्पनीको बिमालेख खरिद गर्न सक्ने व्यवस्था रहेको प्रबन्धक पाण्डेले जानकारी दिए । कर्णालीका सबै जिल्लामा कोरोना बिमा सुरु भइसकेको छ । 

प्रकाशित: १ जेष्ठ २०७७ १७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App