४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

क्वारेन्टाईनमा भ्यागुता, सर्प र बिच्छीको त्रास (अपडेट)

पत्रकारको स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी । तस्बिरः महेश्वर चामलिङ राई

उदयपुर – जिल्लाको क्वारेन्टाईन बस्नेहरुले सर्प र बिच्छीको त्रास बढेको बताएका छन् । त्रियुगा नगरपालिका – ३ मोतिगडास्थित जनता बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बस्नेहरुले केहीदिनयता दिउँसो र राति बग्रेल्ती भ्यागुता पस्ने गरेको भन्दै सर्प पनि छिर्ने जोखिम भएको बताएका हुन् ।  

केहिदिनयता पानी पर्न थालेसंगै क्वारेन्टाईनका कोठा–कोठामा हुलका हुल भ्यागुता पस्न थालेको त्यहाँ बस्नेहरुको भनाई छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमणपछि विराटनगर अस्पतालको आईसोलेसनमा २१ दिन उपचारपछि डिस्चार्ज भएर क्वारेन्टाईनमा बसेका मुख्तार अलिले वर्षासंगै ओछ्यानसम्मै भ्यागुता आउन थालेको बताए । भ्यागुता पसेपछि सर्प पनि आउने खतरा रहेको भन्दै उनले क्वारेन्टाईन बस्नेहरुलाई खतरा भएको बताए । ‘हामी सुत्ने कोठा र ओछ्यान ओछ्यानमा भ्यागुता आउनु भनेको सर्प पनि आउने खतरा हो’ अलिले भने ‘भ्यागुता खान सर्प आउला भन्ने डरले चिन्ता लाग्न थाल्यो ।’  

क्याम्पस क्वारेन्टाईनमा संक्रमण पुष्टि भई आईसोलेसनमा उपचारपछि निको भएर फर्केका त्रियुगा नगरपालिका ३ भुल्केका ५ सहित २१ जनालाई राखिएको छ । ७ महिला र १४ पुरुष सबै भुल्केकै हुन् । वर्षायाम भ्यागुता, सर्प र विच्छीको बिगबिगी हुने मौसम भएकाले क्वारेन्टाईन बस्नेलाई सर्प र बिच्छीको खतरा हुनु स्वभाविक भएको भन्दै सतर्कता अपनाउनुपर्ने सरोकारवालाहरुले सुझाएका छन् ।  

नेपाल मुस्लिम संघ उदयपुरकी अध्यक्ष नजबुल खानले कोठा–कोठामा भ्यागुता छिर्न थालेपछि क्वारेन्टाईनको सरसफाईमा ध्यान दिनुपर्ने माग गरेकी छिन् । ‘सर्पको आहारा भएकाले भ्यागुता खोज्दै सर्प क्वारेन्टाईनभित्र छिर्ला भन्ने खतरा छ’ खानले भनिन् ‘त्यसैले क्वारेन्टाईन बस्नेहरुलाई सर्पबाट बँच्न भ्यागुता आउनै नदिनेतर्फ ध्यान दिएर सरसफाई गर्नुपर्छ ।’

त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अवधनारायण चौधरीले क्वारेन्टाईनस्थल क्याम्पस वरिपरि नर्सरी र वनजंगल रहेको र वर्षायाममा भ्यागुता प्रसस्त हुने भएकाले पसेको हुनसक्ने बताए । उनले भ्यागुताले केही नगर्ने भए पनि सर्प र विच्छीबाट बचाउँन  क्वारेन्टाईन आसपासमा आवश्यक सरसफाई गर्न थालिन बताए ।

उदयपुरका त्रियुगा, ताप्ली र लिमचुङबुङका गरी ३ वटा क्वारेनटाईनमा हाल १८ महिलासहित ४४ जना रहेका छन् । ताप्ली र लिमचुङबुङ गाउँपालिकाका क्वारेन्टाईनमा क्रमशः ८ महिलासहित १९ र ३ महिलासहित ४ जना रहेका छन् भने चौदण्डीगढी, बेलका, कटारी, उदयपुरगढी र रौतामाई गाउँपालिकाका क्वारेन्टाईन सातादिनयता रित्तिएका छन् ।  

स्वास्थ्य प्रमुख मोहन सुबेदीले होम क्वारेन्टाईनमा बसनेहरु भने १४ महिलासहित ४ सय ६० रहेको बताए । उनका अनुसार सबभन्दा बढी बेलका नगरपालिकामा ३ सय ४१ छन् भने त्रियुगामा ७९ जना छन् । कटारीमा १४ महिला र १६ पुरुष तथा ताप्ली र लिमचुङबुङमा क्रमशः ७ र ३ जना रहेका छन् ।  

स्वास्थ्यका अनुसार बुधबारसम्म उदयपुरका ५ सय ४४ महिलासहित १ हजार ४ सय ८७ को स्वाव संकलन गरी परीक्षण गर्न पठाइएको छ । जसमध्ये ९ सय ९३ जनाको रिपोर्ट आउँदा ६ महिलासहित ३२ संक्रमित पुष्टि भएको र बाँकीको रिपोर्ट आईपुगेको छैन । बुधबार ३ महिलासहित २७ पत्रकार, ७ सर्वसाधारण, २४ सुरक्षाकर्मी र स्वास्थ्यकर्मी गरी ६० को संकलित स्वाव परीक्षण गर्न धरान पठाइको छ ।

पिसिआर किट अभावमा स्वाव संकलन रोकियो

देशकै दोस्रो ठूलो संख्या ३२ जना कोरोना संक्रमित भेटिएको उदयपुरमा पिसिआर विधिको परीक्षण गर्ने किट अभाव भएपछि बिहीबार कसैको स्वाव संकलन हुन पाएन । सदरमुकामदेखि बिभिन्न स्थानीय तहबाट स्वास्थ्य परीक्षण गर्ने माग बढिरहे पनि आवश्यक किट अभावले स्वाव संकलन कार्य रोक्नु परेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका स्रोत व्यक्ति (फोकल पर्सन) लौकाजी राईले किट सकिएकाले माग अनुसार परीक्षण हुन नसेको बताए ।  

उनले स्वाब संकलन गर्ने क्रम रोकिएपछि बिहीबार स्वास्थ्यकर्मी र कर्मचारीलाई कोविड–१९ रोकथाम र प्रतिकार कार्यबारे अनुशिक्षण तालिम दिइएको छ । स्वास्थ्य मन्त्रालयका प्रशिक्षक डा. विवेकलाल कर्ण र जिल्ला स्वास्थ्य प्रमुख मोहन सुबेदीलगायतले प्रशिक्षण दिएको अनुशिक्षण तालिममा जिल्लाका ८ वटै स्थानीयतहका स्वास्थ्य संयोजक, अस्पताल र बिभिन्न हेल्थ पोष्टका २५ स्वास्थ्यकर्मीको सहभागिता रहेको बताए ।

प्रकाशित: १ जेष्ठ २०७७ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App