२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

वडाध्यक्षका समर्थकद्वारा तालाबन्दी

पलाँता गाउँपालिका विवाद

सुर्खेत- पाँच दिनअघि कालिकोटको पलाँता गाउँपालिका भएको विवादले चर्को रुप लिदैं गएको छ । बैशाख २७ गते पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, वडा नं. २ का अध्यक्ष मानबहादुर भण्डारी र नेकपाका गाउँपालिका अध्यक्ष बिष्णु रोकायाबीच भएको विवाद वडा कार्यालयमा तालाबन्दीसम्म पुगेको छ ।  

पलाँता गाउँपालिका–२ को ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा गाउँपालिका अध्यक्ष बम, वडा अध्यक्ष भण्डारी र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का गाउँपालिका अध्यक्ष रोकाया पक्षबीच झडप भएको थियो ।  

झडपमा परि गाउँपालिका अध्यक्ष बमकी श्रीमती गोरीकला बमलगायतका घाइते भएका थिए । श्रीमती घाइते भएपछि गाउँपालिका अध्यक्ष बमले वडा अध्यक्ष भण्डारी र नेकपाका गाउँपालिका अध्यक्ष रोकायाबिरुद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटमा मुद्दा दायर गरेका थिए ।  

जिल्ला प्रहरी कार्यालय कालिकोटले वडा अध्यक्ष भण्डारी र रोकायालाई बुधबार पक्राउ गरेपछि उनी पक्षका नेकपाका नेता कार्यकर्ताले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । भण्डारी र रोकाय पक्षकाले गाउँपालिका अध्यक्ष बमका विरुद्धमा चर्को नाराबाजी पनि गरेका छन् । कालो झण्डासहित वडा कार्यालयमा तालावन्दी गरिरहेका उनीहरुले अध्यक्ष बमले १० महिनादेखि शिक्षक कर्मचारीलाई तलव नदिएको, अग्नी पीडितलगायतका लागि आएको पैसा हिनामिना गरेकोलगायतका आरोप लगाएका छन् । भण्डारी र रोकाय पक्षका स्थानीयले गाउँपालिकाका सबै वडा कार्यालयमा तालावन्दी गर्ने चेतावनी दिएका छन् । गाउँपालिकाको वडा नम्वर १ र २ नम्बरमा तालाबन्दी गरिसकेको नेकपाका स्थानीय नेता मनप्रसाद न्यौपानेले बताए ।  

वन पक्षधर पनि प्रदर्शनमा
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पक्षधरहरुले वडा अध्यक्ष भण्डारी र नेकपा गाउँपालिका अध्यक्ष रोकायाको कारवाहीको माग गर्दै पलाँता गाउँपालिकाको  थिर्पु प्रहरी चौकीमा दुई दिनदेखि प्रदर्शन गर्दै आएका छन् । वडा अध्यक्ष भण्डारी र नेकपा गाउँपालिका अध्यक्ष रोकायालाई कारवाहीको माग गर्दै दुई दिनदेखि प्रहरी चौकीमा प्रदर्शन भइरहेको स्थानीय पूर्णबहादुर बमले बताए ।  

 

प्रकाशित: १ जेष्ठ २०७७ ०९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App