२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

एसएसबी खेदाउँछ, सशस्त्र फर्काउँछ (अपडेट)

रुपन्देहीको कोटहीमाई गाँउपालिका–१ रामनगरका उदयराज लोध र अशोक लोध गत मंसिरमा मजदुरीका लागि भारत गएका हुन्। मुम्बईको कपडा उद्योगमा ६ महिना काम गर्न नपाउँदै कोरोनाको त्रास फैलियो। उद्योग बन्द भयो। लकडाउनले काम खोसिएपछि बेखर्ची भएका उनीहरूले कयौं रात सडकमै बिताए। भोकभोकै बसे।  

सडकबाट पनि प्रहरीले लखेटेपछि घर फर्कनुको विकल्प भएन। १९ दिनअघि मुम्बईबाट हिँडेका उनीहरू मालबाहक ट्रक र पैदलै गरेर शनिबार सीमावर्ती बजार नौतनवा आइपुगेका थिए।  

नौतनवा त्यही ठाउँ हो, जहाँ नेपाल फर्कन खोज्ने नेपालीहरूलाई राख्न भनेर क्वारेन्टिन बनाइएको छ। अहिले पनि सो क्वारेन्टिनमा केही नेपाली छन्। तर लोध दाजुभाइलाई भारतीय सुरक्षाकर्मीले मुम्बईबाट फर्केको भनेपछि क्वारेन्टिनमा राख्न मानेनन्। बरु मर्चवार पारिपट्टिको ठोठरी बजार पु-याइदिए। भारतीय सुरक्षाकर्मीले रातिको समयमा ठोठरी–मुडिला नाकाबाटै नेपाल पस्न दबाब दिए। त्यहीअनुसार उनीहरू नेपाल आउन हिँडे पनि।

तर सशस्त्रले दसगजामै रोक्यो। नेपालका सुरक्षाकर्मीले उनीहरूलाई नौतनवाको क्वारेन्टिनमा राखिदिनु भनेर भारतीय सुरक्षाकर्मीकै जिम्मा लगाए। तर भारतीयले उनीहरूलाई क्वारेन्टिन लैजानुको साटो मर्चवारी गाँउपालिका–१ स्थित कुरहवा नाकातर्फ खेदाए। त्यही नाकाबाट भोलिपल्ट बिहान तीन बजेतिर लोध दाजुभाइसहित अरू सात जना नेपाल पस्दै गर्दा सशस्त्रले फेरि नियन्त्रणमा लिएर एसएसबीलाई नै बुझाइदियो। ‘हामीले उनीहरूलाई नौतनवाको क्वारेन्टिनमा राखिदिनु भनेर एसएसबीको जिम्मा लगाएका छौं,’ कुरहवामा खटिएका सशस्त्रका एक जना जवानले भने।  

नेपालका सुरक्षाकर्मीहरूले नौतनवा क्वारेन्टिन पठाएका भनिएका ती दाजुभाइसहित १७ जनाको टोलीलाई एसएसबीले क्वारेन्टिनमा हैन, ठोठरीमै चौरमा राख्यो। राति मुडिला नाकाबाट नेपाल छिराउने योजनासहित उनीहरूलाई ठोठरीमा राखिएको थियो।  अन्ततः भारतीय सुरक्षाकर्मीको सहयोगमा उनीहरू सोमबार बिहान उज्यालो नहुँदै ठोठरी–मुडिला नाकाबाट नेपाल पसे। उनीहरू अहिले सम्मरीमाइको क्वारेन्टिनमा छन्। तर सो क्वारेन्टिनमा बेड अभाव हुँदा सोमबार साँझसम्म क्वारेन्टिनभित्र पस्न पाएका थिएनन्।

कोरोना फैलिएका सहरबाट फर्केका नेपालीलाई क्वारेन्टिनमा राख्न मान्दैनन् भारतीय।

आइतबार बिहान मुडिला र करौता नाकाबाट १६ जना नेपाल पसेका थिए। दिल्ली र मुम्बईबाट फर्केका उनीहरूलाई चार दिनदेखि नेपालका सुरक्षाकर्मीहरूले दसगजामा रोक्दै फर्काइदिँदै गरेका थिए। सशस्त्रले त्यसरी आउनेलाई नौतनवाको क्वरेन्टाइनमा राखिदिनु भनेर एसएसबीको जिम्मा लगाइदिन्छ। तर भारतीय पक्षले भने कोरोना संक्रमण फैलिरहेका सहरबाट आएकालाई क्वारेन्टिनमा नराख्ने भन्दै पुनः अर्को नाकामा लगेर छोडिदिन्छ।  शनिबार पनि मुडिला, तरइनी, करौता, कक्रहवा नाकाबाट ३८ जना नेपाल पसेका थिए। उनीहरू भारतको दिल्ली, मुम्बई र गुजरातबाट फर्केका हुन्। भारतीय पक्षले आफूहरूलाई क्वारेन्टिनमा राख्न नमानेपछि लुकेरै भए पनि नेपाल पस्न बाध्य भएको मुडिलाबाट पसेकाले बताएका छन्।  

शनिबार मुडिलाबाट नेपाल छिरेका सम्मरीमाइका सलाउद्धिन मुसलमानले कोरोना फैलिएका सहरबाट आएकालाई नराख्ने भन्दै आफूहरूलाई नौतनवा क्वारेन्टिनको गेटबाटै फर्काइएको बताए। ‘हामी आफैं नौतनवाको क्वारेन्टिनमा बसेर घर जाने योजनामा थियौं तर क्वारेन्टिनका सुरक्षाकर्मीले दिल्ली, मुम्बईबाट आएकालाई ठाउँ छैन भन्दै हप्काए,’ सलाउद्दिनले भने।  कोरोना त्रासका कारण सीमानाका बन्द गर्दा भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीलाई भारतीय पक्षले र नेपालमा अलपत्र पर्ने भारतीयलाई नेपालले व्यवस्थापन गर्ने भनिएको थियो। लकडाउनले कामबिहीन भएर घर जान निस्केका नागरिकलाई जुन देशमा छन्, त्यही देशको क्वारेन्टिनमा राख्ने भनिएको थियो। तर अहिले भारतीय पक्षले सो सहमति पालना गरेको छैन।  

कामबिहीन भएर सडकमा निस्कन बाध्य नेपालीहरूलाई भारतीय पक्षले क्वारेन्टिनमा राख्नुको साटो नेपाल पस्न दबाब दिइरहेका छन्, जसका कारण अहिले नेपाल–भारत सीमाक्षेत्रमा सयौं नेपाली अलपत्र छन्। जो खुला आकाशमुनि भोकैप्यासै बसेका छन्। लामखुट्टे तथा किराकिरीको टोकाइको जोखिममा छन्।  त्यसरी अलपत्र पर्नेहरूमध्ये केहीलाई वारिका जनप्रतिनिधिले नै लुकाएर नेपाल ल्याएका छन्। केही रातिको समयमा नेपाल पसिरहेका छन्। त्यसरी आउनेहरू अधिकतर गुपचुपै आफ्नो घर पुगेका छन्। स्थानीयको नजरमा परेका केहीलाई क्वारेन्टिनमा पठाइए पनि तिनको परीक्षण हुन सकेको छैन, जसले कोरोनाको जोखिम बढाइरहेको छ। रुपन्देही र कपिलवस्तुमा देखिएका कोरोना संक्रमित २८ जना पनि त्यसैगरी लुकेर नेपाल पसेका थिए।

रुपन्देहीकै बेलहिया नाकापारि सुनौलीमा करिब एक हजार नेपाली घर फर्कने बाटो कुरेर बसेका छन्। कपिलवस्तुका नाकामा एक हजार पाँच सय र नवलपरासीको नाकाक्षेत्रमा पाँच सयको हाराहारीमा नेपालीहरु लुकेर नेपाल पस्न अनुकूल समय कुरेर बसेका छन्।

प्रकाशित: ३० वैशाख २०७७ ०४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App