२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

लकडाउनकैबीचमा एकल महिलालाई छिमेकीको साथ

वृद्धा तथा एकल महिला हिरामायाँ राईको घरमा जस्ताको छाना हाल्दै छिमेकी । तस्बिर : नागरिक

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान ऐसेलुखर्ककी ८० वर्षीय एकल महिला हिरामायाँ राईले आवास निर्माणका लागि राष्ट्रिय पुर्निर्माण प्राधिकरणबाट अनुदान पाईन् ।

तर, एकल महिला त्यसमाथि लट्ठीको भरमा मात्र हिँडडुल गर्न सक्ने हिरामायाँले अनुदान वापतको काम गर्न सक्ने अवस्था भएन । किस्ता लिएको लामो समयसम्म पनि भूकम्पीय आवास निर्माणको काम गर्न नसकेकी तिनै हिरामायाँलाई छिमेकीको साथ मिलेको छ । ‘लकडाउन’का बीचमा पनि स्थानीय खामाखा खार्चुम समाजमा आवद्ध छिमेकीले श्रमदान गरेर एकल एबं वृद्धा महिला हिरामायाँको घर मर्मतका साथै छाना हाल्ने काम गरिदिएका छन् ।

डाँडामाथिको घाम’जस्तै अवस्थामा पुगेकी हिरामायाँले जस्ता खरिद गर्ने र आवश्यक काठपात तयार पार्ने बाहेकका काम गर्न सकेकी थिएनन् । त्यही भएर संस्थागतरुपमा श्रमदान गरेर सहयोग गरिएको खामाखा खार्चुम समाजका सचिव नबिन चाम्लीङ राईले बताए । खरको छानो मक्किएर वर्षामा चुहिने र घर नै भत्किने अवस्थामा पुगेको हिरामायाँले घर मर्मत एबं छाना हाल्नका लागि अनुदान पाएकी थिईन् । बालबच्चा नजन्माएकी हिरामाँया श्रीमानको मृत्युपछि एक्लै बस्दैआएकी छन् ।

जस्ता ओसार्ने, जंगलबाट काठपात ओसार्ने, छाना हाल्नेदेखि सरसफाई लगायतका काममा श्रमदान सहयोग गरिएको समाजका सचिव राईले बताए । ‘उहाँ आफै केही गर्न सक्ने अवस्थामा हुनुहुन्न, त्यही भएर श्रमदान सहयोग गरिएको हो,’ पत्रकारिता समेत गरिरहेका राईले भने, ‘उहाँलाई मार नपरोस् भनेर हामी सबैले आफ्नै घरको खाना र खाजा खाएर श्रमदान गरेका हौँ ।’ जस्ताको छाना हालेर चिटिक्क पारिएको घर वरपर बुधबार सरसफाई गरिएको समाजले जनाएको छ ।

बि.सं. १९९६ सालमा जन्मिएकी हिरामायाँको घर पुःननिर्माणमा स्थानीय समाजका सचिव राई बाहेक अगुवा श्यामचन्द्र राई, आशिष राई, देबीका राई लगायतका छिमेकीको सहयोग मिलेको हो । गाउँमा विद्युत विस्तार भएको ७ वर्षपछि समाजकै पहलमा हिरामायाँको घरमा पहिलोपल्ट विद्युत जडान गरिएको छ । असहाय वृद्धा महिलालाई मानवीय हिसावले सहयोग गरेकामा हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले छिमेकी अगुवालाई धन्यवाद दिएकी छन् ।

‘मानवता हराएको मेरो देश र गैर–जिम्मेवार नागरिक भनेर यताकदा बोलिने शव्दहरु आज गलत सावित भएको छ,’ उपमेयर राईले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘उहाँलाई सहयोग गर्ने छिमेकी उदाहरणीय पात्र हुनुहुन्छ, सा¥है खुसी लाग्यो । संयोगले मलाई पनि एकछिन आमाको खुसीको मुहान हेर्ने अवशर मिल्यो ।’

 

प्रकाशित: २७ वैशाख २०७७ १०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App