२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

थप संक्रमण हुन नदिन वीरगन्जमा उच्च सतर्कता

वीरगन्ज - लकडाउन पालना गर्दै आएका वीरगन्जवासी बुधबारसम्म निश्चित अवधि पसल खोल्ने, अत्यावश्यक काममा आवतजावत गर्दा सावधानी अपनाए सुरक्षाकर्मीबाट कुनै अवरोध नहुनेमा अभ्यस्त हुन थालेका थिए। प्रहरीलेसमेत निगरानी र सोधपुछ गरेर आवश्यकता हेरी फाट्टफुट्ट आवतजावत गर्न दिएकाले स्थानीयले केही राहत महसुस गरेका थिए। तर बुधबार वीरगन्ज छपकैयाको एक परिवारका १७ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सबै कुरा फेरिएको छ। लकडाउन कडा पारिएको छ। स्थानीय पनि त्रसित बनेका छन्। 

एकै परिवारका १७ जनामा संक्रमण भएपछि वीरगन्जमा उच्च सतर्कता अपनाइएको छ भने   आवतजावत, पसल सञ्चालनलगायतमा थप नियमन र नियन्त्रित गरिएको छ। छपकैयासहित आसपासका क्षेत्र सिल गरिएको छ। सवारीसाधन गुडाउन अनुमति पास अनिवार्य गरिएको छ। 

नयाँ १७ संक्रमितमा दुईमहिने शिशुदेखि ६६ वर्ष उमेरसम्ममा रहेको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन्। उनीहरू सबैलाई बुधबार राति आठ बजेदेखि नारायणी अस्पतालमा राखिएको छ। अस्पतालको साबिक मेडिकल वार्डलाई नयाँ आइसोलेसनमा रुपान्तरण गरी उनीहरुलाई त्यहीं राखिएको छ। डा. उपाध्यायले अस्पतालमा २५ शड्ढयाको आइसोलेसन कक्ष पहिलेदेखि तयार पारिएको र अब एउटा तलालाई पूरै आइसोलेसन कक्ष बनाउन लागिएको बताए। नयाँ संक्रमितमध्ये एक पुरुषमा मात्र कोरोना लक्षण देखिएको अस्पतालले जनाएको छ। 

डा. उपाध्यायका अनुसार संक्रमित १७ जनामा दुई महिना र ६ महिनाका शिशु पनि छन्। त्यस्तै १६ वर्षमुनिका आठ बालबालिका छन्। उनीहरूको उमेर ३, ९, १०, १२, १२, १३, १३ र १५ वर्ष छ। यसैगरी २९, ३५, ३९ वर्षका महिला र ४०, ४३, ६२ र ६६ वर्ष उमेरका पुरुष छन्। 

गत आइतबार छपकैयाका एक ३६ वर्षीय पुरुषको नमुना पिसिआर विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।  चैत २८ मा वीरगन्जको एक मस्जिदमा संक्रमित अवस्थामा फेलापरेका भारतीय जमातीसँग सम्र्पकमा आएका छपकैयाका एक ५० वर्षीय पुरुषलाई वैशाख १४ मा संक्रमण पुष्टि भएको थियो। तिनै व्यक्तिको सम्पर्कमा आएका छपकैयाका ३६ वर्षीय अर्का व्यक्तिको नमुना जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि तिनै ३६ वर्षीय पुरुषको सिंगो परिवारै संक्रमित भेटिएको हो। उनको परिवार र ससुराली घरका सबैको स्वाब संकलन गरी परीक्षणका लागि सोमबार काठमाडौं पठाइएको थियो। रिपोर्टले परिवारका सबै सदस्य संक्रमित भएको देखाएको नारायणी अस्पतालले जानकारी दिएको छ। 

नारायणी अस्पतालमा अहिले २८ जना कोरोना संक्रमित छन्। जसमध्ये २४ जना वीरगन्ज पर्साका, दुईजना बाराका, एकजना रौतहटका र एकजना सर्लाहीका छन्। 

संक्रमित पाइएका क्षेत्र सिल

बुधबार एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले संक्रमित भेटिएको क्षेत्र सिल गरेको छ। बुधबार साँझ पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुुरक्षा समितिको बैठकले वीरगन्ज महानगरपालिकाको छपकैयासहित वरपरका केही क्षेत्र सिल गर्ने निर्णय गरेको हो। 

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार छपकैयाभन्दा पूर्वमा रजतजयन्ती चोक, इदगाह चोक, छपकैया प्रहरी बिट चोक, मालपोत कार्यालय चोक, पश्चिममा बजार छपकैया, सर्सिया पुल र सिर्सिया छोटी भन्सारसम्मको क्षेत्र सिल गरिएको छ। त्यस्तै उत्तरतर्फ एमबिएस स्कुल, पानी ट्यांकी चोक, युक्तिसुधार केन्द्र र  बही पुल क्षेत्र एरिया सिल गरिएको छ। दक्षिणमा भारतीय सिमाना छुट्याने दशगजा क्षेत्रसमम्म सिल गरिएको छ। भारतसँग सिमाना जोडिएको महानगरपालिकाका वडा नम्बर १, २ र ३ का क्षेत्र समेटिने गरी सिल गरिएको छ। बैठकले थप संक्रमण हुन नदिन लकडाउन अझै कडा पार्ने निर्णय गरेको छ। 

बैठकले पावर हाउस चोकदेखि रजत जयन्ती चोकसम्मको सडकमा बिहान ५ देखि साँझ ७ः३० बजेसम्म एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ओसारपसार गर्ने सवारीसाधन  चल्न दिने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयले पास जारी गरेकाबाहेकका सवारीसाधन चलाउन निषेध गरिएको छ। कृषि उत्पादन, खाद्यान्न तथा अन्य वस्तुको ढुवानी भने सरकारको निर्णयअनुसार नै गर्न दिने निर्णय भएको छ।

 

प्रकाशित: २६ वैशाख २०७७ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App