१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सालीसँग माया बसेपछि श्रीमतीको हत्या, गाडिएको शव उत्खनन गरी पोष्टमार्टम

जनकपुरधाम- धनुषाको मिथिला नगरपालिका– ९ स्थित लालभितीमा सालीसँग प्रेम परेपछि श्रीमतीको हत्या गरेको खुलेको छ । २८ वर्षीय स्थानीय हरि चौहानले २५ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ । गत बिहीबार साँझ करिब ५ बजे वडानम्बर १० लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा बिनुले लगाएको शलले घाँटी थिचेर उनको हत्या गरेको अनुसन्धानमा खुलेको हो ।

योजनाबद्ध हिसाबले दाउरा टिप्न हरीले बिनुलाई फकाउँदै लगेको र साँझ पर्नसाथ खोलामा कसैलाई नदेखेपछि उनको हत्या गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले बताए । उनको हत्या गरी शव गाडिएको अवस्थमा आइतबार साँझ प्रहरीले फेला पारेपछि उत्खनन गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । पोष्टमार्टम सकिएपनि रिपोर्ट आउन बाँकी रहेको प्रहरी निरिक्षक कार्कीले जनाए । गाडी चालक रहेका हरीले श्रीमतीको हत्या गरी घटना लुकाउन गएको वैशाख १९ गते बिहान श्रीमती हराएको भन्दै प्रहरीसमक्ष मौखिक जानकारी गराएका थिए ।

बिनुको परिवारलाई समेत श्रीमानले नै हत्या गरेको शंका लागेपछि प्रहरीले उनीमाथि निगरानी गर्दै अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा हरीलाई पक्राउ गरी सोधपुछ गर्दै जाँदा श्रीमतीलाई हत्या गरी गाडेको खुलेको थियो । करिब ६ वर्षअघि भारतमा सँगै काम गरीरहेका दुबैजना प्रेममा परेपछि अन्तरजातीय विवाह गरेका थिए । अन्तर्जातीय विवाहकै कारण आमाबुबाले घरमा बस्न नदिएपछि उनी ससुरालीको छेउमै आफ्नो घर बनाएर बस्दै आएका थिए ।

उनको ४ वर्षकी छोरी र अढाई वर्षका छोरा समेत  छन् । करिब एक वर्षअघि देखि हरी उनको कान्छी साली गंगासँग प्रेममा परेको प्रहरीलाई बयान दिएका छन् । ‘यो एकहोरो वा दोहोरो प्रेम थियो ठ्याक्कै भन्न सकिन्न तर गंगालाई बिहे गर्न हरीले पटक पटक दबाब दिइराखेको थियो तर गंगाले दिदीसँग बिहे गरेकाले बिहे गर्न इन्कार गरेपछि योजनाबद्ध ढंगले हत्या गरेको देखिन्छ,’ प्रहरी निरीक्षक कार्कीले भने । श्रीमतीको हत्यापछि सालीसँगै बिवाह गर्ने हरीले योजना बनाएको उनले बताए ।

उनका अनुसार बिनाले आफ्नी बहिनीसँग प्रेम रहेको पतिलाई गुनासो गरेपछि हरीले मदिरा सेवन गरी मानसिक यातना दिँदै आएका थिए । हरी र उनको साली गंगालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जनाए ।

प्रकाशित: २२ वैशाख २०७७ १३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App